११ श्रावण २०८१, शनिबार

श्रमिक आवाज

0

_____________________✍कविता

जतिबेला अम्बानी थिएनन्
विनोद चौधरी थिएनन्
त्यतिबेला म कामी दाई थिए
म लोहार थिए,
जतिबेला जमिन जोत्नलाई
ट्याक्टर थिएनन्
जमिन खोदल्नलाई मेसिन थिएनन्
मेसिनहरु बनाउन
न त टाटा थिए
न त सिजी थिए
त्यति बेला मेरो आरन थियो
मेरो आरनमा मैले बनाएको
हलो थियो
फालो थियो
कोदालो थियो
आज मेसिन बनाउनेहरुसँग दुनियाँ छ
त्यति बेला म दुनियाँ बनाउनेसँग एक हतौडा थियो
उनीहरु हिड्दा पुष्पगुच्छा बर्सन्छ
म हिड्दा छि छि दुर्दुर हुन्थ्यो
म एक अछुत थिएँ
म एक श्रमिक थिएँ ।

जतिबेला ठुलाठुला डिजाइनर थिएनन्
त्यतिबेला म दमाई दाई थिएँ
जतिबेला ठुलाठुला गार्मेन्ट उद्योग थिएनन्
त्यतिबेला मेरो कल थियो
मेरो कलमा
मैले सीलाएको कपडाले
सबैको इज्जत छोप्थ्यो
अहिले डिजाइनरहरुको
ठुला ठुला उद्योगीहरुको
जताततै इज्जतै इज्जत छ ।
मेरो कल र मेरो
जता गयो उतै बेइज्जत छ
म एक अछुत थिएँ ।
म एक श्रमिक थिएँ ।

जतिबेला ठुलाठुला गायक थिएनन्
संगितकार थिएनन्
त्यतिबेला म गाइने दाई थिएँ
जतिबेला गितार थिएन
त्यतिबेला मेरो सारंगी थियो
जतिबेला ड्रमसेट थिएन
त्यति बेला मेरो
सनै थियो
बाजा थियो
मादल थियो
मादल बनाउने तबेला थियो
मेला पातमा तिनै गुन्जन्थे
त्यतिबेला पनि म अछुत नै थिए
अहिले मेला महोत्सवमा
ठुला ठुला ड्रमसेट गुन्जन्छन्
गायकहरु गर्जन्छन्
तर उनीहरु सेलिब्रेटी हुन्
त्यतिबेला म एक अछुत थिएँ
म एक श्रमिक थिएँ ।

जतिबेला इरिक थिएन
गोल्डस्टार थिएन
नयाँनयाँ डिजाइनका सुटबुट् थिएनन्
त्यतिबेला मेरो जुत्ता सिउने काटा थियो
तिन खुट्टे थियो
त्यतिबेला म सार्की दाई थिए
मैले सिलाएको जुत्ता चप्पलले
सबैको पैतलाको रक्षा गर्दथ्यो
तर मेरो इज्जत भने
त्यो पैतलामुनीको धुलो जत्तिपनि थिएन
त्यतिबेला म एक अछुत थिएँ
म एक श्रमिक थिएँ

श्रमिकहरू हो
अछुतहरु हो
दलितहरु हो
कयौँ जन्जिर तोडिएका छन्
कयौँ जन्जिर तोडिदैछन्
कयौँ जन्जिर तोड्न बाँकी छ
शासकहरु हो
हाम्रो आवाजहरु सुन
हामीलाई बिष्टको कलो होइन
हामीलाई आफ्नो थलो चाहिन्छ
तिम्रो हामीलाई केही चाहिदैन
हामीले बनाएको
हामीले सजाएको
हामीलाई हाम्रो संसार चाहिन्छ
मान्छे सरह सम्मान चाहिन्छ
हामी संसार सजाउने मान्छे थियौँ
पसिना बगाउने श्रमिक थियौँ
हामी अछुत थिएनौं ।

✊✊ जनक सी
८ चैत्र २०८० घोराही दाङ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।