६ जेष्ठ २०८१, आईतवार

ऐँठन पढेपछि

0

“सर, छोराको नाडी चल्दैछ । उसलाई स्वास्थ्यचौकी पुगाउन दिनुस् । ऊ बाँच्छ, सर !”
“अब ऊ मरिसक्यो बत्ति निभ्नु अघिको उज्यालो सम्झेर मन नडुला । बरु तिनीहरु भाग्यशाली रहेछन, विर सहिदहरुकै बगलमा चिहान पाए ।”
बबन कुमारलाई तुच्छ आमा गालि दिदै मरेको जिउदो एकिन नभएको श्रीमती र नारी चल्दै गरेको उसको छोरालाई खाडलमा छापामारहरुले गाडिदिन्छन् र उसलाई चन्दा दिदा अटेर गरेको, सुराकीको आशंकामा अपहरण गर्छन् । विवेक ओझाद्वारा लिखित २०७९ को मदन पुरस्कार विजेता ऐँठन उपन्यासको सानो अंश हो, यो । जसमा जनयुद्ध र जनयुद्धका छापामारहरुप्रति कपोकल्पित,भ्रामक, पूर्वाग्रही कथा रचिएको छ । छापामारहरु मान्छे नै होइनन्,उनीहरुसँग हृदय छैन, माया छैन, दया छैन, मानवता छैन, जिउँदो र मरेको मान्छेबिच कुनै फरक मान्दैनन् उनीहरु, मान्छे र जनावरहरुको शरीरबिच कुनै फरक छैन । जसरी उसको श्रीमती र छोरालाई बेप्रवाह जिउँदै खाडलमा गाडिदिन्छन् । मृत्युको कफन बाँधेर मृत्यु वा मुक्तिको कसम खाएको निजी स्वार्थ निजी जिवनलाई कोसौं टाढा थन्काएर निस्वार्थ, निर्भय, निशुल्क देश र जनताको निम्ति लड्न हिडेको एक छापामार, आधुनिक हतियारले सुसज्जित शाही सेना, २४० वर्ष राज गरिरहेको राजतन्त्रलाई भरुवा बन्दुकको बलमा पल्टाईदिने दुस्साहस गरेको छापामार योद्धाहरुको फौजले एक निरह निसश्स्त्र निर्दोष शिक्षकप्रति यस्तो अमानविय हर्कत गर्न सक्छन्? यस्तै यस्तै हजारौं प्रश्नहरु मदन पुरस्कार जित्न सफल उपन्यास ऐँठन पढेपछि उब्जिन्छ । जसमा छापामारहरुलाई हिंश्रक दानवको रुपमा प्रस्तुत गरिएको छ । अझ लेखकको भाषामा मान्छेको शरीर मान्छेको मुल्य मार्केटमा बेच्न राखिएको खसि बोकाको मासु सरह मान्दछन् छापामारहरु । जसरी एक कसाईले अचानोमा मासुलाई निर्धक्क टुक्रा टुक्रा छिया छिया पार्छ, त्यसैगरी जनयुद्धमा छापामारहरुले मान्छेको शरीर टुक्राटुक्रा छियाछिया पारेका थिए । ऐँठनको कपोकल्पित भ्रामक र पूर्वाग्रही कथा पढेपछि एउटा जनयुद्धमा होमिएको सिपाहीको मनमा कस्तो प्रश्न उब्जिन्छ होला ? जसले घर त्याग्यो, परिवार त्याग्यो, व्यक्तिगत इच्छा, आकाङ्क्षा, सपनाहरु त्याग्यो । सामुहिक स्वार्थका लागि मृत्यु रोज्यो । उसले ऐँठनलाई कसरी ग्रहण गर्छ होला ? उसले ऐँठन पढ्यो भने दिनमा होस् वा रातमा अनिद्रामा होस् वा निद्रामा जतिखेर सम्झन्छ त्यतिबेला ऐँठन पर्छ होला किनकी जनयुद्ध त्यति क्रुरुर थिएन छापामारहरु त्यति निर्दयी थिएनन् । थियो त केबल त्याग थियो । समर्पण थियो । बलिदानी भाव थियो । वर्गबैरीहरुप्रति घृणा थियो । देश र जनताप्रति उत्तरदायी थियो । लक्ष्य चुम्ने संकल्प थियो । यि सारा कुरालाई लत्याएर ऐँठनले जनयुद्धको अपमान गरेको छ ।
             ऐँठनमा कथाको सुरुवात हुन्छ एक काल्पनिक हस्पिटलको क्याविनबाट उपन्यासको मुख्यपात्र बबन कुमार जनयुद्धको क्रममा भोग्नु परेको भयानक दुर्घटनाले बिछिप्त बन्छ र एक मानसिक हस्पिटलमामा भर्ना भएको हुन्छ त्यसैक्रममा बबन कुमार र डाक्टर लगायतका पात्रहरुसंगको सम्वादबाट कथावस्तुको सुरुवात हुन्छ । जनयुद्धमा उसले भोगेको झेलेको चुनौतीहरु यसै भागमा सम्वादको माध्यमबाट प्रस्तुत गरिएको छ । श्रीमती र छोराको वियोगमा मानसिक अवस्था नाजुक भएको बबन कुमार  पट्यार लाग्दो हस्पिटलको बर्षौदेखिको बसाईबाट वाक्क भएर हस्पिटलबाट भाग्छ । कथामा हस्पिटलबाट भागेपछि श्रीमती र छोराको खोजिमा भौतारिन्छ त्यसै दाैरान जनयुद्धपछिको परिस्थिति छापामारहरुको अवस्था, युद्धमा होमिएको गाँउबस्तीको दयनीय अवस्थाको बारेमा कथा वस्तु केन्द्रीत रहन्छ ।
           बबन कुमार हस्पिटलमा विगत सम्झन्छ । दाङ शान्तिनगरमा रहेको जनता मा.वि.को विज्ञान शिक्षक हुन्छ । घरमा बबनकुमार , श्रीमती र छोरा हुन्छन् । एकदिन एकाएक फाइरिङ सुरु हुन्छ । दोहोरो भिरन्तबाट त्रसित बबनकुमारको परिवार घरको खाटमुनी लुक्छन् त्यसैक्रममा श्रीमतीलाई गोलि लाग्छ । घरमा आगो सल्किन्छ । श्रीमती अचेत हुन्छिन् श्रीमतीलाई काँधमा राखेर छोरालाई एक हातले डोर्याउदै नजिकैको स्वास्थ्य चौकीतिर लग्छन् बाटोमा छापामारहरुले रोक्छन्  ऊ माथी अमानविय र निकै ज्यादती गर्छन् । मरेको जिउँदो थाहा नभएको उसको श्रीमती हिड्दाहिड्दै गोली लागेको जिउँदै रहेको उसको छोरालाई  भिडन्तमा मरेका छापामारहरुसंगै उसको हातबाट खोसेर खाडलमा गाडि दिन्छन् ।  चन्दा दिदा आनाकानी गरेको र सुराकीको आशंकामा अपहरणमा  पर्छ । उसलाई कयौँ दिन भोकै पानीसमेत नदिएर शारीरिक यातना दिदै दाङ हुँदै सल्यान तिर लगिन्छ । त्यहाँ पनि ऊ जस्तै निर्दोषहरुलाई बन्दी बनाइएको हुन्छ । एकजना महिला रक्सी बनाएको निउँमा र एकजना गाउँकै परस्त्रीसंग लसपस गरेको निहुँमा  बन्दि बनाइएको हुन्छ । उनीहरुलाई पनि कडा शारीरिक यातना पश्चात अमानविय तरिकाले मारिन्छ । सेनामा भर्ना हुन जान लागेको युवालाई पनि त्यसरी नै मारिन्छ । अझ एक महिला मात्र भएको घरमा छिरेर उनको १४ वर्षको छोरीलाई उनकै घरमा बलत्कार गरिन्छ । कथा एस्तो बनाइएको छ की छापामारहरुलाई मान्छे मार्ने कुनै कारण चाहिदैन । यसरी छापामारहरुलाई राक्षसिकरण गरिएको छ । यस्तै यस्तै परिवेशकोसंगै बबनकुमारलाई दाङ, सल्यान, सुर्खेत हुँदै मङ्गलसेनको यात्रा तय गरिन्छ । मंगलसेन आक्रमण सकिए लगतै ३ महिना पछि ऊ रिहाई हुन्छ । यो ३ महिनाको समयमा साना तिना गल्ती भएका कयौँ निर्दोषहरुको गला रेटिन्छन्, कतिको हातखुट्टा काटिन्छ, कतिलाई भिरबाट छराइन्छ, कतिलाई कुपिन्दे दहमा फ्याकिन्छ । अझ मंगलसेन युद्धमा घाइते भएको कमान्डर शशिलाई जसले बबनकुमारलाई बन्दि बनाएको थियो । उसलाई  उपचार गर्दापनि ठिक नभएपछि गोली हानेर मारिन्छ ।
           बबनकुमार जब अपहरण मुक्त हुन्छ । फेरि सुरु हुन्छ सरकारी सेनाको अत्याचार शाही सेनाले उसलाई आतङ्ककारीको आरोपमा गिरफ्तार गर्छ । विभिन्न किसिमको यातनाहरु पाउँछ । शाहीसेनाको अत्याचारलाई पनि उजागर त गरिएको छ तर छापामारको तुलनामा कम । यहाँ एउटा सत्य विषयवस्तु के उठान गरिएको छ भने शाही सेना र छापामारहरु बिचको द्वन्दले सर्वसाधारणले ठूला ठूला अत्याचारहरु बेहोर्नु पर्यो जो उठान गर्नु जायज छ तर पूर्वाग्रही बिना आउनु पर्थ्याे तर भएन । हुन त जनयुद्धको क्रममा विद्रोही पक्षबाट पनि गल्ती नभएको भने होइन जान अन्जानमा, व्यक्तिगत स्वार्थ बोकेका, व्यक्तिगत रिसीबीको आधारमा कयौँ घटना दुर्घटनाहरु भए । तथापी यसलाई बिना पूर्वाग्ररही विषयवस्तु उजागर हुनु पर्थ्यो । जानाजान जनयुद्धलाई अपराधिकरण गर्ने भ्रष्टीकरण गर्नु जनयुद्ध र जनयुद्धको उपलब्धिमाथिको अन्याय हो । जनयुद्धमा निसर्त होमिएका योद्धाहरु, सहिद, बेपत्ता घाइतेप्रतिको अपमान हो । ऐँठानले ति तमाम योद्धाहरुको अपमान गरेको छ ।
          “त्यहाँका धेरैजसो मानिस बैशाखी टेकेर हिडिरहेका थिए । कसैको दाया हात त कसैको बायाबाट थिएनन् । कसैको दुबै हातखुट्टा थिएनन् । कोही हातको बलले भुईंमा घिस्रिदै थिए । कसैको कान थिएनन् कसैको आखा थिएनन् । “
         “आज पनि ११ /१२ ओटा मात्र फट्याङ्ग्रा सिकार गर्न सके । मेरो भागमा ३ ओटा फट्याङ्ग्रा राखी छोरी र गोकुललाई पनि ३/३ वटा आफुलाई २ वटा” माथिको अंश  यस उपन्यासको अर्को पाटो  शान्तिप्रक्रियापछिको अवस्थाको उजागर गर्न खोजिएको छ । त्यसक्रममा उल्लेखित अंश हो । यहाँ पनि जनयुद्धप्रतिको बिष बमन नै देखिन्छ ।  बबनकुमार जब हस्पीटलबाट भाग्छ । ऊ आफ्नो जनयुद्धमा छापामारहरुले खाडलमा पुरी दिएको श्रीमती र छोरोलाई खोज्न थाल्छ । उसलाई लाग्छ उनीहरु जिउदैछन् । जङ्गलको बाटो धेरै उकालो चडेपछि एउटा गाउँमा पुग्छ, शान्ति प्रक्रियाको १९ वर्ष पछिको त्यहाँको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको उजागर गर्न खोजिएको छ तर भ्रामकपूर्ण तवरले । जनयुद्धले सबै तहस नहस बनाएको छ । मान्छेहरु कोही सपाङ्ग छैनन् मान्छे मात्र होइन पशुचौपाया समेत सपाङ्ग छैनन् । जिवन स्तर यति दयनीय छ की लगाउनलाई जुटको बोरा लगाइन्छ ।  खानाको अभावमा फट्याङ्ग्रा खोजेर दिन पर्छ । के कुरा साचो हो भने जनयुद्धले  सोचेजस्तो  जनताको जिवन स्तर उठाउन सकेन तर यो स्तरमा भने होइन ।  सङ्गै लडेका कोही करोडपति भए कोही रोडपति । कयौँ घाइते योद्धाहरु उपचार नपाएर छटपटाई रहेछन् तर समग्रमा हिजोको भन्दा आजको जनताको स्तर माथि नै छ । जनयुद्धकै कारण देशले राष्ट्र प्रमुखको स्थानमा महिलालाई पुर्याउन सक्यो । राजनीतिक तथा प्रशासनिक ठाउँमा महिला, श्रमिक समुदाय, मधेशी, जनजातिहरुको उपस्थिति छ ।
कयौँ अपुगहरु छन् । अहिलेको व्यवस्थाले पनि  देश र जनताको समस्यालाई हल गर्न सकेको छैन । फेरि देशमा क्रान्तिकारी, अग्रगामी, समाजवादी शक्तिहरु एक हुँदै नयाँ मार्ग चित्र कोर्नु पर्ने छ । अहिलेसम्मको उपलब्धिको निम्ति त्याग गर्ने शक्ति भनेकै जनयुद्धमा होमिएको शक्ति हो । जनयुद्ध बहादुरहरुको इतिहास हो । त्यसको अपमान गर्ने कुरा कुनैपनि हालतमा सैह्य हुँदैन । ऐँठन भाषाशैली र लेखनका हिसाबले अब्बल त होला तर  कथाको सतही उजागर गरिएको जनयुद्धप्रतिको भ्रमपूर्ण, कपोकल्पित र पुर्वाग्रही कृति हो । सजिलै भन्न सकिन्छ ।

जनक सी
दाङ शान्तिनगर
३० बैशाख २०८१

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।