_____________________✍कविता
जतिबेला अम्बानी थिएनन्
विनोद चौधरी थिएनन्
त्यतिबेला म कामी दाई थिए
म लोहार थिए,
जतिबेला जमिन जोत्नलाई
ट्याक्टर थिएनन्
जमिन खोदल्नलाई मेसिन थिएनन्
मेसिनहरु बनाउन
न त टाटा थिए
न त सिजी थिए
त्यति बेला मेरो आरन थियो
मेरो आरनमा मैले बनाएको
हलो थियो
फालो थियो
कोदालो थियो
आज मेसिन बनाउनेहरुसंग दुनिया छ
त्यतिबेला म दुनिया बनाउनेसंग एक हतौडा थियो
उनीहरु हिड्दा पुष्पगुच्छा बर्सन्छ
म हिड्दा छिछि दुर्दुर हुन्थ्यो
म एक अछुत थिएँ
म एक श्रमिक थिएँ ।
जतिबेला ठुलाठुला डिजाईनर थिएनन्
त्यतिबेला म दमाई दाई थिएँ
जतिबेला ठुलाठुला गार्मेन्ट उद्योग थिएनन्
त्यतिबेला मेरो कल थियो
मेरो कलमा
मैले सिलाएको कपडाले
सबैको इज्जत छोप्थ्यो
अहिले डिजाइनरहरुको
ठुला ठुला उद्योगीहरुको
जताततै इज्जतै इज्जत छ ।
मेरो कल र मेरो
जतागयो उतै बेइज्जत छ
म एक अछुत थिएँ।
म एक श्रमिक थिएँ ।
जतिबेला ठुलाठुला गायक थिएनन्
संगितकार थिएनन्
त्यतिबेला म गाइने दाई थिएँ
जतिबेला गितार थिएन
त्यतिबेला मेरो सारंगी थियो
जतिबेला ड्रमसेट थिएन
त्यतिबेला मेरो
सनै थियो
बाजा थियो
मादल थियो
मादल बनाउने तबेला थियो
मेला पातमा तिनै गुन्जन्थे
त्यतिबेला पनि म अछुत नै थिए
अहिले मेला महोत्सवमा
ठुलाठुला ड्रम सेट गुन्जन्छन्
गायकहरु गर्जन्छन्
तर उनीहरु सेलिब्रेटी हुन्
त्यतिबेला म एक अछुत थिएँ
म एक श्रमिक थिएँ ।
जतिबेला इरिक थिएन
गोल्डस्टार थिएन
नयाँनयाँ डिजाइनका सुटबुट् थिएनन्
त्यतिबेला मेरो जुत्ता सिउने काटा थियो
तीन खुट्टे थियो
त्यतिबेला म सार्की दाई थिए
मैले सिलाएको जुत्ता चप्पलले
सबैको पैतलाको रक्षा गर्दथ्यो
तर मेरो इज्जत भने
त्यो पैतलामुनिको धुलो जत्तिपनि थिएन
त्यतिबेला म एक अछुत थिएँ
म एक श्रमिक थिएँ
श्रमिकहरू हो
अछुतहरु हो
दलितहरु हो
कयौँ जन्जिर तोडिएका छन्
कयौँ जन्जिर तोडिदैछन्
कयौँ जन्जिर तोडन बाँकी छ
शासकहरु हो
हाम्रो आवाजहरु सुन
हामीलाई बिष्टको कलो होइन
हामीलाई आफ्नो थलो चाहिन्छ
तिम्रो हामीलाई केही चाहिदैन
हामीले बनाएको
हामीले सजाएको
हामीलाई हाम्रो संसार चाहिन्छ
मान्छे सरह सम्मान चाहिन्छ
हामी संसार सजाउने मान्छे थियौँ
पसिना बगाउने श्रमिक थियौँ
हामी अछुत थिएनौं ।
✊✊ जनक सी
८ चैत्र २०८० घोराही दाङ