२ कार्तिक २०८१, शुक्रबार

वैज्ञानिक खोज र उन्नत चेतनाको सङ्गालो ‘एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म’

0

            जनक सी
           

 

जब, प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म मेरो हातमा पर्यो र पुस्तक पढ्न सुरु गरे, मेरो ध्यान पुस्तकबाट बाहिर निस्कनै सकेन । ज्ञान, उर्जा र उत्साहको श्रीङ्खलाबद्ध प्रस्तुतिले मेरो ध्यान यसरी बाध्यो कि, पुस्तक अध्ययन गरेर नसकिदासम्म पुस्तकबाट बाहिर निस्कनै सकेन । जसरी अहिलेको युवा पुस्तालाई सामाजिक संजालको अप्रशोधित सतही ज्ञानले भुत्ते बनाएको छ । त्यसलाई तिखार्न यो पुस्तकले निकै ठूलो भूमिका खेल्ने छ । कुनैपनि विषय घटनालाई गहिरिएर अध्ययन मनन नगर्ने। सामाजिक संजालको अप्रशोधित सामाग्रीहरुबाट प्रभावित हुने र सतही धारणा बनाउने । अहिलेको पुस्ताको मनोसामाजिक रोग नै बनेको छ । परिवर्तनको नियमलाई बुझ्न नखोज्दा, वास्तविक र सतही ज्ञान के हो । छुट्याउन नसक्दा, हाम्रा बुझाइहरुले तथ्य, प्रमाण र गतिशिलतालाई पक्रन नसक्दा, कहि न कहि समाजको गतिशिलतालाई अवरोध गरिरहेको छ । हाम्रा बुझाइहरुलाई वस्तुसंगत, तर्कसंगत र विज्ञानसंगत बनाउन नसक्दा, भिडको पछाडि दौड्ने, हल्लाको पछि दौड्ने, सामाजिक संजालको पछि दौड्ने । त्यसकै आधारमा आफ्नो धारणा तयार पार्ने मनोसामाजिक रोग जस्तै बनेको छ।  यो रोगलाई निको पार्ने एन्टिबायोटिक हो, पुस्तक एन्टिथेसिस । कमजोर भुत्ते अहिलेको पुस्ताको दिमागलाई उपचार गर्ने एन्टिबायोटिकको रुपमा एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुस्तक खोज, अनुसन्धान र निकै मेहनतका साथ तयार पार्नु भएकोमा यो पाठक आभार व्यक्त गर्न चाहन्छ ।
           कुनै पुस्तक पढिसकेपछि समिक्षकले समिक्षा वा टिप्पणी तयार पार्छ तर यो मेरो समिक्षा र टिप्पणी दुबै होइन । एउटा पाठकको हैसियतले पुस्तक पढ्दै गर्दाको अनुभूति अक्षरमार्फत व्यक्त गर्न खोजिरहेको छु । यसको उदेश्य अहिलेको युवा पुस्तामा वैचारिक खडेरी देखा परेको छ । त्यसलाई मध्यनजर गरेर ज्ञान, उर्जा, उत्साह र वैज्ञानिक चेतनासहित नयाँ भिजन देखाउन खोज्नु भएको छ । यो महान कार्यमा मेरो अनुभूतिले दुई जना व्यक्तिलाई पुस्तक पढ्न प्रेरित गर्न सकेँ भने पनि उहाँको उदेश्यलाई सहयोग पुग्ने छ, भन्ने आशा लिएको छु । कुनै पुस्तक अध्ययन गर्दैगर्दा पुस्तकको शिर्षक अनुसारको धारणा बनिरहेको हुन्छ । त्यहि धारणा अनुसारको अपेक्षा पनि गरिएको हुन्छ । आफुले बनाएको धारणा र अपेक्षा अनुसारको विषयवस्तु नपाँउदा कयौँ पुस्तकहरु अध्ययन गर्दागर्दै थन्क्याइएको छ । कतिपय पुस्तक यस्ता हुँदा रहेछन्, आफुले बनाएको धारणा र अपेक्षाअनुसारको विषयवस्तु पाँउदा पुस्तकप्रति नै लगाव लाग्दो रहेछ । पुस्तकप्रति मात्र नभएर लेखकप्रति नै धारणा र लगाव बन्दो रहेछ । एउटा लेखकले जसरी पाठको दिल छुनु पर्ने हो, मेरो दिल छोएको छ । मेरो हकमा पाठको ध्यानलाई कन्ट्रोलमा राखेर आफुले बुझाउन खोजेको कुरा सजिलै बुझाउन सक्ने हैसियत यो पुस्तकमा छ ।
       वैज्ञानिक चेतना भनेको के हो ? वैज्ञानिक चेतना निर्माण कसरी गर्ने ? धर्म भनेको के हो ? धर्मले समाजको गति र उन्नतिलाई कसरी अवरोध गरेको छ? परिवर्तनलाई कसरी बुझ्ने ? परिवर्तनकारी आन्दोलनका योद्धाहरुलाई कसरी बुझ्ने ?
हाम्रो मस्तिष्कको क्षमता कति छ ? त्यसको प्रयोग र उपयोग कसरी गर्ने ? मानवसमाज ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म कसरी आइपुग्यो ? युद्धलाई कसरी बुझ्ने ? विश्वमा कति युद्धहरु भए ? हाम्रो समाज किन पछाडि पर्यो ? हाम्रो समाजको उन्नति र गतिलाई के ले, क-कसले अवरोध गरेको छ? अबको बाटो के ? यि यस्ता कयौँ प्रश्नहरुको जवाफ वैज्ञानिक तथ्यको आधारमा जवाफ दिएको छ। खोजमुलक, ज्ञानबर्द्धक र वैज्ञानिक विचारमा आधारित यो पुस्तक अहिलेको पुस्ताले पढ्नैपर्ने विषयवस्तु समावेश गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा टिप्पणी गर्दै  त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुधा त्रिपाठीले यस पुस्तकले आधुनिक युगको परिकल्पना गरेकाले स्कुल र कलेजका विद्यार्थीहरुको हातहातमा पुर्याउन सुझाव दिनुभएको छ । साँच्चिकै यस पुस्तकले ज्ञान, चेतना र विचार मात्र प्रदान गरेको छैन । उर्जा, उत्साह, सम्भावना र उत्प्रेरणा समेत प्रदान गरेको छ ।
       मान्छे जब ओडारबाट निस्केर  समुहमा बस्न थाल्यो, पशुपालन,खेतिपाती गर्न सुरु गर्यो । मान्छेका लागि प्राकृतिक विपदहरु, विभिन्न समस्याहरू रहस्यमयी बन्न पुग्यो । तत्कालीन समयमा प्रकृतिमा देखापरेका लाखौं कुरा किन-कसरी छन् । भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा कुनै उत्तर पाउन नसकेपछि मान्छेले करिब १० हजार बर्ष पहिले अदृश्य शक्तिको रुपमा ईश्वरको कल्पना गर्न पुग्यो । ईश्वरको कल्पना गरेको करिब २ हजार बर्षपछि ईश्वरलाई केन्द्रमा राखेर धर्मको रचना गरेको देखिन्छ । धर्मको रचना पश्चात सबै कुराको धर्मशास्त्रले हावादारी जवाफ दिन थाल्यो ।  धर्मशास्त्रले दिएको उत्तर नै सत्य ठानेपछि मान्छे प्रश्नविहिन मात्र भएन, उल्टै पूजापाठ र प्राथनामै रुमलियो । धर्मशास्त्रले ब्रह्माण्डमा मान्छे जन्मेर नमरुन्जेल मात्र होइन परेपछिका लागी पनि विधि विधान तर्जुमा तयार गरिदियो ।  अतह: धर्मशास्त्रलाई सत्य ठान्दा मान्छेको क्षमता र सम्भावनाको बन्ध्याकरण हुनपुग्यो । अफ्रिकाबाट अगाडि बढेको मान्छे मध्य युरोप तर्फ लागेको शाखाले दर्शन, विज्ञान, गणित र प्रजातन्त्रको  विकास गरेको पाइन्छ भने एसियातिर आएको शाखाले धर्मको रचना र विकास गरेको पाइन्छ । प्लेटो जस्ता दार्शनिकको जन्म ग्रिकमा भएकाले ज्ञान, विज्ञान र दर्शनको विकास युरोपमा भएको पुष्टि हुन्छ । जिसस क्राइस्ट, मोहमद, वेद आदिको जन्म एसियामा हुँदा धर्मको रचना र विस्तार यस क्षेत्रमा भएको प्रमाणित हुन्छ । पुर्विय दर्शनले शिक्षित हुन बौद्धिक हुनुपर्छ भनेर सिकाएन, सरस्वतीको पूजा गर्नुपर्छ भनेर सिकायो । सम्पन्न हुन उत्पादन गर्नुपर्छ भनेर सिकाएन,लक्ष्मीको पूजा गर्नुपर्छ भनेर सिकायो । देश विकास गर्न वैज्ञानिक खोज-अनुसन्धान, प्रयोग, सामाजिक न्याय, एकता र शान्ति चाहिन्छ भनेर सिकाएन । राजकाज चलाउन विभेद हुनुपर्छ भनेर असमानताको नियम सिकायो । हाम्रो समाज धर्मको नाममा रुढिवाद र असमानतामै अल्झियो । विज्ञान पक्रन सकेन । विज्ञान पक्रिने भनेको क्यामेस्ट्रि, फिजिक्स, बायोलोजी वा म्याथम्याटिक्सका सिद्धान्तहरु सर्लक्कै पक्रिने भनेको होइन । तथ्य, प्रमाण र गतिशिलता पक्रिने भनेको हो । विज्ञानलाई पकडेकै कारण युरोप अमेरिका अहिलेको अवस्थामा पुगेका हुन् । धर्म जपेर होइन, निर्जीव मुर्ति पुजेर पनि होइन, न त नवाज पढेर हो, न त प्राथना ररेर नै । ईश्वर र धर्म खोज्न हिँड्नुभयो भने तपाई कि त राजा महाराजाको दरबारमा पुग्नुहुन्छ। कि त तिनीहरुले बनाएका कथित मुर्तिमा । आज समाजलाई नयाँ ठाउँमा पुर्याउनु छ भने प्रत्येक व्यक्ति आ-आफ्नो ठाउँबाट प्रयत्न गरौं। हामीले खोज अनुसन्धान गर्यौं भने दुनियाँ हाम्रो सामुन्य छ । असम्भव केहि छैन । यदि वैज्ञानिक ग्यालिलियो औषधी व्यवसाय गरेर बसेको भए, बुवाले भनेको मानेर डार्बिन डाक्टर वा पादरी भएर चुपचाप काममा लागेको भए, मान्छेले यतिचाँडै यस्तो भव्य जिवन पाउँथ्यो ? नेल्सनल मन्डेलाले कानुन व्यवसाय मात्र गरेर बसेका भए यति चाँडै अफ्रिकामा काला जातिको मुक्ति सम्भव थियो ? चन्द्र शमशेरले आदेश नदिएको भए वि.सं. १९७१ मै सति प्रथाको अन्य हुन्थ्यो ? विपी कोइराला र पुष्पलालले खेतिपाती मात्र गरेर बसेको भए २००७ सालमै नेपालमा प्रजातन्त्र आउथ्यो ? प्रचण्डले मास्टरी र बाबुरामले भवनको डिजाइन मात्र  गरेर बसेको भए २०६५ मा नेपालमा गणतन्त्र आउथ्यो ? अतह आज दुनियाँमा असाधारण मान्छेको पहिचान बनाएका हरेक मान्छे हिजो असाधारण नै थिए। भोली असाधारण बन्ने अर्को मान्छे पनि आज साधारण मान्छेकै हुलमा छ । यि तमाम विषयलाई तथ्य, तर्क र प्रमाणको  आधारसहित बुझाउन खोजिएको छ । लेखककै भाषामा यो पुस्तक जतिजति अध्ययन गर्दै गए उताउति मेरो मस्तिष्कमा आगो दन्किँदै गयो । ब्रह्माण्ड र ब्रह्माण्डका सबै कुराको उत्पति र विकास प्राकृतिक छनोटको नियमको आधारमा भएको तथ्य मान्छेको आँखा अगाडि जब १८५९ मै चार्स डार्बिनले तेर्स्याईदिए, तर हामी अहिले २०२४ मा पनि मान्छेको श्रृष्टि परमेश्वरले गर्नुभएको हो । पृथ्वीको रचना बर्माले गर्नु भयो । भन्ने विषय रटिरहेका छौं । मान्छे मङ्गल ग्रहको यात्रा तय गरिसक्यो । चन्द्रमामा बस्ती बसाउने योजना बनिसक्यो । हामी सुकुम्वासी बस्तीको समस्यामा समाधान गर्न नसकेर अल्झिरहेका छौँ ।
       अहिलेको पुस्ताले पढ्नै पर्ने महत्वपूर्ण पुस्तक बजारमा आएको छ । धर्म, राजनीति र समाज विकासको अन्तरसम्बन्धलाई मसिनो र सरल ढङ्गले प्रस्तुत गरिएको छ । एकपटक सोचें प्रत्येक च्याप्टरको विषयवस्तुलाई समेटु तर यस पुस्तकको हरेक विषयवस्तु हरेक प्रसङ्ग निकै महत्वपूर्ण रहेकाले एकपटक यो पुस्तक पढ्न अनुरोध गर्दै म त्यतातिर गएन ।  हरेक विषयवस्तुहरु तथ्य, प्रमाण, तर्कका आधारमा प्रस्तुत गरिएका छन् ।  हरेक विषयवस्तुहरु ज्ञान, विज्ञान, खोज, विचार र उत्साहले भरिएका छन् । यो एक खोज, अनुसन्धान मात्र होइन मोटिभेशनल पुस्तक हो । अझ यसलाई भनौं “वैज्ञानिक खोज र उन्नत चेतनाको संगालो ‘ एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म ‘।”
           


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।