१७ पुष २०८१, बुधबार

एउटा नढलेको खम्बा

कविता

0

                शिखर सी

 

 

तिम्रो नजरको
लाखौं माग्ने,थाँङ्नेहरुको
हजारौं झुपडी घरहरुमा
वितृष्णा जागेको दिन
राँको सल्केको दिन
हामी बाहिर निस्केका थियौं
अनि उफ्रेका थियौं
चिच्याएका थियौं
अनि शान्त भावमा भनेका थियौं
हामीलाई पनि पेट भरी खाँन देऊ
हाम्रा लाला-बाला अनि
चाउरी परेका ती आमा-बाबाको
खुशी भर्न देऊ ।

त्यतिबेला तिमीले सुनेनौँ
अहँ पटक्कै सुनेनौँ
कानमा कपास कोची बस्यौ
कोचेको त्यो कपासभित्र सुन्ने गरि
भन्नु थियो हामीले हाम्रा कुरा
राख्नु थियो हामीले हाम्रा भावना
यसर्थ हामीले बम पड्कायौँ
गोली पड्कायौँ
तब तिमीले सुने-सुने
नसुने-नसुने जस्तो गर्‍यौ ।

पिल्सिएका लाखौं दरिद्रहरुको
लाखौं आदनाको
लाखौं क्रान्ति वीरहरुको आवाज
छेक्न सक्छौ जस्तो-जस्तो गर्‍यौ
तब हामीले दश सालसम्म
कोचेको कपास निकाल्ने काम गर्‍यौँ ।

फेरि तिमीले हाम्रा कुरा
सुने-सुने जस्तो गर्‍यौ
चर्केको घाउमा मल्हम
दल्या-दल्या जस्तो गर्‍यौ
झुपडी, अँध्यारो घरहरुमा
उज्यालो भर्ला-भर्ला जस्तो गर्‍यौ ।

अनि फेरि सोच्यौँ हामीले
अब हाम्रा लाला-बाला
पेटभरी खान पाउँनेछन्
निरासाले धुजा परेका
ती आमा-बाबा हर्षित हुनेछन्
हामी हिंड्न पाउँनेछाैँ
निर्धक्क आजादीसम्म
यी सोच्दै गर्दा…..
तिमीले हाम्रा घर भत्कायौ
जलायौ ती हाम्रा सपनाका घरहरु ।

तर हामीलाई अपसोच छैन
पीडा छैन
दु:खी छैन
तिमीले खरानी बनाएको घरको
रागबाट
तापबाट
चापबाट
एउटा तारिएको
एउटा खारिएको
एउटा नढलेको खम्बा बनेर
सगरमाथा झैँ ठडिएको छ
विप्लव कमरेड
अडिएको छ दह्रोसङ्ग
चक्षु बनेर ।

तिम्रो त्यो कालो गोलको रागबाट
हजारौं रक्तवीरहरुको रगतको पापबाट
चिता बनेर उठेको स्रापबाट
निमिट्याँन्न पारी छाड्ने छौं
तिम्रो त्यो झुपडीको बत्ती निभाउने योजना
देशलाई हरिकंगाल बनाउँने भ्रष्ट योजना
यसर्थ हामी छौं
तिम्रो त्यो लम्पसारवादको विरुद्धमा
निरन्तर-निरन्तर…..

      [कमरेड विप्लवप्रति समर्पित]


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।