काठमाडौँ/ जनवादी गणतन्त्र चीनको एकजना सुत्रधार एवम् क्रान्तिका नायक माओत्सेतुङको १३२ औं जन्म जयन्तीमा साहित्य, समालोचना र नेपाली राजनीतिका विभिन्न आयामबारे चर्चापरिचर्चा गरिएको छ ।काठमाडौँको कमलादीस्थित प्रज्ञा डबलीमा बिहीबार आयोजित कार्यक्रमका वक्ताहरुले नेपाली राजनीतिमा देखिएको अन्यौलता, अक्रमण्यता र अराजकतालाई साहित्यकार, कलाकारहरु र पत्रकारहरुले दिशानिर्देश गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक नीति एवम् रणनीति अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा माओले मार्क्सवाद, लेनिनवादका आधारभूत कुराहरूलाई दह्रोसङ्ग पक्रदै तत्कालीन चीनको आर्थिक सामाजिक परिस्थिति अनुसार क्रान्तिका मौलिक रणनीति र कार्यनीतिको विकास गरेकोले नै क्रान्ति सम्पन्न गर्न संभव भएको उनीहरुको बुझाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओबाट सिक्नुपर्ने प्रमुख विषय भनेको उनले मार्क्सवाद लेनिनवादका आधारभूत सिद्धान्तलाई दृढतापूर्वक आत्मसात गर्दै चीनिया समाजका विशेषताअनुसार सिर्जनात्मक र मौलिक ढङ्गले क्रान्ति सम्पन्न गरेकोले सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्धको लडाइँमा विजय प्राप्त गरेको बताए ।
`जनयुद्धका डायरी समालोचनाको सार्वजनिकीकरण तथा नेपाली राजनीति विषयक´ कार्यक्रमका प्रमुख वक्तासमेत रहेका महासचिव विप्लवले नेपालमा जनयुद्धले सामन्तवादलाई पराजित गरेको भएपनि दलाल पुँजीवाद एवम् साम्राज्यवादको उत्पीडन विरुद्धको क्रान्ति पूरा नभएकोले देशमा आजको आर्थिक राजनीतिक बेथिति आएको र माओवादी आन्दोलनभित्र देशमा राजनीति क्रान्ति सम्पन्न भैसकेको अर्थमा विश्लेषण गरिनु भ्रम मात्र भएको धारणा राखे ।
लडाइका विभिन्न मोर्चाहरु मध्ये बन्दुक र कलमको मोर्चा प्रमुख हुन्, माओवादी शान्ति प्रक्रियामा आएपछि कलमको मोर्चा मुख्य भएर आएको थियो तर त्यस अनुसार कामहरू हुन सकेनन् बरु जनयुद्धलाई अपराधीकरण गर्नेगरी लेखिएका सामाग्री बजारमा हावी भएको सन्दर्भमा मनऋषि धितालद्वारा लिखित जनयुद्धका ७ डायरी र त्यसमाथि खेम थपलियाले गरेको समालोचना महत्त्वपूर्ण काम भएको विप्लवको भनाइ थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) का उपमहासचिव जनार्दन शर्मा `प्रभाकर´ले संविधानमा समाजवाद उन्मुख व्यवस्था भनी उल्लेख गरिएको भएपनि देशमा उदार र दलाल पुँजीवादी बजार अर्थतन्त्र लागु गरिएकोले नागरिकका शिक्षा, स्वास्थ्य, रोजगार जस्ता अधिकार कार्यान्वयन हुन नसकेको बरु अस्थिरता, अराजकता, भ्रष्टाचार र स्वाधीनतामाथी चुनौती थपिएको बताए ।
देशको आर्थिक सामाजिक अवस्था बिग्रदै गएको तर माओवादी लगायत कम्युनिस्ट पार्टीहरु बारम्बार सरकारको नेतृत्वमा पुग्ने अवस्थाले पार्टी र नेताहरुको अवस्था `न हाँसको चाल न बकुल्ला´को जस्तो हुन पुगेको भन्दै नेता प्रभाकरले दलाल पुजीपती वर्गको वर्चश्व कायम भएको समाज, राजनीति र अर्थतन्त्रविरुद्ध समाजवादी कार्यदिशाको विकास जरुरी रहेको धारणा राखे ।
नेपालका कम्युनिस्ट पार्टीहरुले वर्गिय प्रतिबद्धता र प्रतिस्पर्धात्मक श्रेष्ठताबिच सहि तालमेल गर्न नसक्दा पार्टीले आफ्नो वर्गिय आधार गुमाउँदै गएको, चुनावी जितको नाममा जोसुकै शक्ति र वर्गसङ्ग गठबन्धन गर्ने कुराले पार्टीमा समस्या आएको उनको भनाइ थियो ।
प्राध्यापक डा.मदुसुधन गिरीले जनयुद्धका डायरी र त्यसमाथि लेखिएको समालोचना कृतिबारे परिचर्चा गर्दै जनयुद्धलाई बिद्रुपीकरण गर्ने अभियान जारी रहेको बेला प्रस्तुत रचना तत्कालीन जनयुद्ध र त्यसको आर्थिक सामाजिक परिवेशमा आधारित भएको भन्दै यो समालोचनाको परम्परागत ढाँचा भन्दा भिन्न र फरक शैलीमा अगाडि आएको उल्लेख गरे ।
पत्रकार मनऋषि धितालकृत ७ रचनाहरु `जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा, पिलीयात्रा, गण्डक यात्रा र गुफा प्रेसको चिठी´ माथी समालोचना गरेका वरिस्ठ मार्क्सवादी साहित्यकार खेम थपलियाले जब राजनीति लर्खराउँछ तब साहित्य सहारा बन्छ भन्दै ‘जनयुद्ध, माओवाद र माओवादी’ का विरुद्ध घेराबन्दी, विद्रूपीकरण, विभ्रमीकरण र विखण्डीकरणको हावाहुन्डरी चलिरहेको बेला समालोचनाका माध्यमबाट ‘जनयुद्ध, माओवाद र माओवादी’ को उदात्तीकरण, आदर्शीकरण, सौन्दर्यकरण र उच्च वैचारिक केन्द्रीकरण गर्ने एउटा अर्को प्रयास भएको बताए ।
त्यस्तै आयोजक संस्थाको अध्यक्षसमेत रहेका ओम शर्माले नेपाली समाजलाई अग्रगतीतिर लैजाने हो भने निरन्तर क्रान्ति र क्रान्तिपछि पनि क्रान्ति जारी राख्ने सम्बन्धि माओको मान्यतालाई आत्मसात गर्नुपर्ने कुरामा जोड दिए । उनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गरेका आर्थिक उत्पादन र राजनीति परिचालनका कामबारे सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा आएका प्रचारहरुले नेपालमा क्रान्ति मरेको छैन भन्ने सन्देश दिएको बताए ।
चीन यतिबेला विश्वको उदियमान देश हो । उसले साम्राज्यवाद र उपनिवेशवाद विरुद्ध निरन्तर लड्दै चीनिया विशेषताको समाजवादको प्रयोग गरिरहेको छ । यदि चीनको पछिल्लो आर्थिक विकासलाई स्वीकार गर्ने हो भने त्यसलाई उनीहरुले अवलम्बन गरेको राजनीति प्रणालीबाट अलग गरेर हेर्न मिल्दैन । त्यसको जग स्वयं माओले हालेका थिए भन्ने कुरालाई समेत नजरअन्दाज गर्नु भुल र बेइमानी दुईवटै हुनेछ ।
माओले राजनीति र साहित्यको आपसी अन्तरसम्बन्धबारे निकै गहिरो विश्लेषण गरेका छन् । साहित्य र कलाबारे `ऐनान गोष्ठीमा प्रवचन´ शीर्षकको आलेख आफैमा चर्चित र महत्त्वपूर्ण छ । माओले १९६६ देखि १९७६ सम्म चलेको महान सर्वहारा साँस्कृतिक क्रान्तिको क्रममा साहित्यकार, कलाकार, लेखक, बुद्धिजीविहरुलाई व्यापक मात्रामा परिचालन गरेर कम्युनिस्ट पार्टीभित्र हुर्किदै गएको`तीन खराबी र पाँच खराब´ विरुद्धको अभियान सञ्चालन गर्नु भयो र प्रतिक्रान्तिकारी विचारलाई जनतामा खुलासा गर्ने वातावरण निर्माण गर्नु भएको थियो ।
नेपालमा माओवादी विचारको सैद्धान्तिक आलोकमा जनयुद्ध सुरु भयो तर जनयुद्धले सामन्तवाद र राजतन्त्र पराजित गरेपनि दलाल पुँजीवाद र साम्राज्यवादी नवउपनिवेशवादबाट समाजलाई मुक्त गर्न सकेन । त्यसको परिणाम नै यतिबेला जनयुद्ध शब्दलाई समेत मान्यता नदिने गरि अदालतबाट आदेश गरिएको छ । विस्तृत शान्ति सम्झौतालाई पालन गरिएको छैन । जनयुद्धलाई मान्यता नदिने तर त्यसले हासिल गरेका केहि सिमित उपलब्धिहरु गणतन्त्र, संघीयता, समावेशीकरणको भोग गर्ने प्रवृति बढ्दै गएको छ ।
माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने, अपराधीकरण गर्ने र निषेध गर्ने उदेश्यसहित अहिले नेपाली साहित्य क्षेत्रमा थुप्रै कथा, कविता, उपन्यास, फिल्म र लेख रचनाहरुको बाढी नै आएको छ । तर त्यसको उचित ढङ्गले न खण्डन भएको छ न त जनयुद्ध र श्रमजीवी जनताको नैतिक बल उठाउँने गरि कलाको क्षेत्रमा कुनै उल्लेख काम हुन सकेका छन् । यस्तो निराश र अन्धकारमा जनपक्षीय लेखक, कलाकार, कवि, पत्रकार लगायत श्रस्टाहरुले आफ्ना सिर्जनाहरुमार्फत अन्धकारलाई चिर्दै राजनीतिलाई दिशानिर्देश गर्नुपर्ने बेला आएकोले कलमको मोर्चा तिखार्न जरुरी रहेको कार्यक्रमका वक्ताहरुको निष्कर्ष थियो ।