३१ भाद्र २०८१, सोमबार

सी जातिको कानुनी मान्यताको माग राख्दै युवा संगठनद्वारा देशव्यापी हस्ताक्षर अभियान

0

नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन युवा सङ्गठन नेपालले सी जातिलाई कानुनी मान्यता दिनुपर्ने भन्दै देशभर हस्ताक्षर अभियान सुरु गरेको छ । संगठनका अध्यक्ष दिनेश सीका अनुसार देशव्यापी रुपमा सुरु गरिएको अभियानले समग्र सी जातिलाई कानुनी मान्यता दिनुपर्ने माग जबर्जस्त स्थापित गरेको बताएका छन् ।
युवा सङगठनको केन्द्रीय समितिको निर्णय अनुसार हस्ताक्षर अभियान सुरु भएको हो । नेपाल कम्युनिस्ट पार्टीले परम्परादेखि चल्दै आएका पुराना जातिहरूको अन्त्य गरी नयाँ मानव जाति निर्माण गरी साम्यवादी जाति निर्माण गर्ने हरेकले नामको पछि सी लेख्ने निर्णय नवाैँ महाधिवेशन (२०७९ असोज २५- कार्तिक २) ले गरेको थियो ।
संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीका अनुसार ३ दिन चल्ने हस्ताक्षर अभियानपछि सबै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बुझिएको छ ।


संगठनका अध्यक्ष दिनेश सीले पूर्वी नेपालको धरानबाट सो अभियानको उद्घाटन गरेका हुन् । हस्ताक्षर अभियान मंगलबार देशभर चलेको छ ।

यसैअन्तर्गत सी जातिलाई कानुनी मान्यता दिन युवा संगठन नेपाल, चितवनले हस्ताक्षर अभियान उद्घाटन गरेको छ । नेकपाका स्थायी समिति सदस्यहरु विषम सी, अनिल सी, जवस फ्याक्सन इन्चार्जसमेत रहेकी गन्डकी प्रदेश इन्चार्ज शिलु सीले आफ्नो हस्ताक्षर गर्दै हस्ताक्षर अभियान सुरुवात गरेका हुन् ।

जुन अभियानमा १ हजार भन्दा बढी जनताले हस्ताक्षर गरिसकेका छन् ।

सी जातिलाई कानुनी मान्यता माग गर्दै हस्ताक्षर अभियान गण्डकीका कास्की, गोरखा र स्याङजामा सुरु
शिव डुम्रे / गण्डकी
नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपालले सी जातिलाई कानुनी मान्यता दिनुपर्ने भन्दै गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुले पनि उक्त हस्ताक्षर अभियानलाई सुरु गरेका छन् । गोरखा, कास्की र स्याङजा जिल्लाले सोमबार औपचारिक उद्घाटन गर्दै अभियानको सुरुवात गरेका हुन् । ३ दिनसम्म चल्ने अभियानको नेतृत्व युवा सङ्गठनले गर्ने र यसलाई देशव्यापी रुपमा अगाडि बढाउने सङ्गठनको केन्द्रीय सचिवालय सदस्य रण बहादुर सीले जानकारी दिए ।
यता कास्कीको पोखरामा आयोजित हस्ताक्षर अभियानमा जनसहभागिता उत्साहाजनक रहेको छ । हस्ताक्षर अभियानसँगै धेरैले सी जातिको अभियानप्रति चासो समेत राखेका छन् । यस्तै यता स्याङजाको वालिङमा पनि युवा सङ्गठनले हस्ताक्षर सुरु गरेको जिल्ला सेक्रेटरी दुर्गा सीले जानकारी दिएका छन् ।


युवा सङ्गठनको केन्द्रीय समितिको निर्णय बमोजिम उक्त हस्ताक्षर अभियान सुरु भएको हो ।

युवा संगठनले सी जातिको कानुनी मान्यताका लागि सुरु गर्यो हस्ताक्षर संकलनमा दाङमा सयौंले गरे हस्ताक्षर

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल दाङले सी जातिको कानुनी मान्यताका लागि हस्ताक्षर संकलन सुरु गरेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार संगठनको जिल्ला समिति दाङले मंगलबार जिल्लाको तुलसीपुर, घोराही लगाएतका क्षेत्रमा हस्ताक्षर संकलन सुरु गरेको हो ।

युवा संगठन नेपालले सी जातीबाट नागरिकता बनाउन पाउनुपर्ने वा कानुनी मान्यता दिनुपर्ने माग राख्दै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टीको नवौं महाधिवेशनबाट सी जातिको अवधारणासहित अहिले देशैभरीका नेताकार्यकर्ताले लागू समेत गरिरहेका छन् ।

कम्युनिस्टहरुले अन्तर्राष्ट्रिय जातिको कुरा मात्रै गर्ने तर अहिलेसम्म मानव समाजलाई एउटा समान, साम्यवादी, कम्युनिस्ट जाति दिन नसकेको भन्दै सी जाति बनाएको बताउने गरेको छ ।

नेकपाका अनुसार सी जाति भनेको मानव समाजको समान, कम्युनिस्ट, साम्यवादी जाति हो ।

युवा संगठन नेपाल दाङले मंगलबारदेखि सुरु गरेको हस्ताक्षर संकलन अभियानमा जिल्लाका सयौं नागरिकले हस्ताक्षर गरेका छन् ।

तुलसीपुरमा हस्ताक्षर संकलन अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी लगाएतका नेताहरुले गरेका छन् ।

यस्तै युवा संगठन नेपाल दाङले घोराही बजारमा सुरु गरेको हस्ताक्षर संकलन अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं.क्षेत्र इन्चार्ज पाटन जंगली सी, पार्टीका घोराही नगर इन्चार्ज विकास सी लगाएतका नेताहरुले गरेका थिए ।

जिल्लाभरी संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाइने कार्यक्रम रहेको युवा संगठन नेपालले जनाएको छ ।

काठमाडौंमा पनि सी जातिको कानुनी मान्यताको लागि हस्ताक्षर संकलन
काठमाडौं – युवा संगठन नेपाल काठमाडौं जिल्ला समितिले सी जातिको कानुनी मान्यताको लागि हस्ताक्षर संकलन गरेको छ । मंगलबार बिजि महलबाट सी जातिको कानुनी मान्यताको लागि हस्ताक्षर संकलन गरेको हो ।

हस्ताक्षर संकलन कार्यक्रम उद्घाटन संगठनका केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज छेम्बे सीको नेतृत्वमा गरिएको छ । कार्यक्रममा संगठनका केन्द्रीय सचिव अनिल सी, संगठनका काठमाडौँ जिल्ला फ्याक्सन इन्चार्ज रवि सी, काठमाडौँ महानगर सेक्रेटरी दिपक सी, संगठन केन्द्रिय सचिवालय सदस्य महेन्द्र सी लगायत नेता कार्यकताको उपस्थिति रहेको थियो ।

पार्टीको नीति अनुसार देशभर हस्ताक्षर संकलन अभियान थालिएको छ । १ लाख हस्ताक्षर संकलनपछि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संगठनले जनाएको छ । 

सी जातिको मान्यताका लागि कालिकोटमा हस्ताक्षर अभियान
बिनित कुमार तिरुवा
काठमाडौं । सी जातिको मान्यताका लागि दबाव स्वरुप युवा संगठन नेपालद्वारा हस्ताक्षर संकलन अभियानको उद्घाटन गरिएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको धमालीबाट मंगलबार अभियान सुरु गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सीले कार्यक्रम उद्घाटन पश्चात बोल्दै नेकपाले नेपाललाई वास्तविक रुपमा सबै जातिको साझा फुलबारी बनाउन खोजेको दाबी गरे । सामन्तवादी जाति र संस्कृतिलाई खारेज गरेर सी जाति र सी संस्कृति स्थापना गर्न सकेमात्रै सबै जाति समान हुने उनले स्पष्ट पारे ।

कार्यक्रममा नेकपा, कालिकोट जिल्ला समिति सचिवालय सदस्य दिलमान सी, युवा संगठन नेपाल – कर्णाली प्रदेश इन्चार्ज मिनेश सी, युवा संगठनका जिल्ला अध्यक्ष नयाराज सी, नेपाली कांग्रेसका पूर्व बदालकाेट गाउँ समितिका सभापति अजबिर तिरुवा, एमालेका मोती तिरुवासहित स्थानीय शिक्षक केशव विक लगायत १५० जनाको हस्ताक्षर संकलन गरिएको छ ।

नेकपाको सहायक संगठन युवा संगठन नेपाल, पचालझरनाद्वारा स्थानीय नौमुले आधारभूत विद्यालयमा पचाल झरना २ धमालीमा कार्यक्रम आयोजना गरिएको हो । दिलमान सीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेका थिए । कालिकोटको शान्नीत्रिवेणी र सहिद स्मृति गाउँपालिका माल्कोटमा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको युवा संगठनका जिल्ला अध्यक्ष नयराज सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।