७ बैशाख २०८१, शुक्रबार

एमसीसी, एसपीपी, महङ्गीको विरोधसहित तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धनगढीमा प्रदर्शन

0

धनगढी: एमसीसी, एसपीपी सम्झौता खारेजी, चर्को महङ्गी नियन्त्रण, नेपाल कम्युनिष्ट पार्टीसँगको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धनगढीमा संयुक्त विरोध प्रदर्शन भएको छ ।

चार दलीय कार्यगत एकता गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टी नेपाल, ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको आयोजनामा संयुक्त विरोध प्रदर्शन भएको हो ।

धनगढीको ट्राफिक चौराहाबाट शुरू भएको विरोध प्रदर्शन मुख्यमन्त्री कार्यालयको गेटमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य श्याम कुँवरले राज्य चर्को महङ्गी नियन्त्रण गर्नुको साटो कालोबजारीलाई संरक्षण गरिरहेको बताउँदै जसका विरुद्ध आफुहरू सडकमा आउनु परेको उल्लेख गरे ।नेकपासँग तीन बुँदे सहमति गरेको सरकारले नेकपा नेताकार्यकर्ताका नाममा पक्राउ पुर्जी जारी गरेको बताउँदै राज्यदमन नरोकिए आफ्नो पार्टी नेकपासँग बन्दुक बोकेर लड्न समेत तयार रहेको बताए ।   

नेपाल कम्युनिष्ट पार्टी कैलाली सेक्रेटरी गणेश ढकालले संसदवादी शक्तिले एमसीसी संसदबाट पारित गरेपनि आफ्नो पार्टीले कार्यान्वयन हुन नदिने बताए । एसपीपी सम्झौतामार्फत नेपालमा अमेरिकी सेना भित्र्याउन खोजेको बताउँदै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनसमुदाय संघर्षमा उत्रन आव्हान गरे । सम्बोधन गर्दै उनले भने,`अदालतले पक्राउ पुर्जी पठाएर के गर्न खोजेको हो ? के नेकपालाई सरकारले युद्धमा धकेल्न खोजेको हो ? उनको प्रश्न थियो । नेकपालाई युद्धमा धकेलेर आफ्नो सत्ता टिकाउने सपना देखेको भए त्यो दिवासपनाबाट सरकारलाई ब्युझन समेत चेतावनी दिए ।
कोणसभालाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रङ्गनाथ ढकालले राष्ट्रघात, सरकारी दमन र महङ्गी विरुद्ध आफुहरू संयुक्त संघर्षमा उत्रिएको बताउँदै अविलम्ब नेकपासँगको तीन बुँदे सहमति कार्यान्वयन गर्न अनुरोध गरे । राज्यकै संरक्षणमा कृत्रिम अभाव र महंगी बढीरहेको उल्लेख गर्दै राज्यले महंगी नियन्त्रण नगरे आफुहरूले सडक संघर्षबाटै कालोबजारीलाई जनकारवाही गर्न बाध्य हुने बताए । जनताको चौतर्फी विरोधका बाबजुद संसदवादी शक्तिले एमसीसी पारित गरे पनि आफुहरूले लागु हुन नदिने उनको भनाई थियो । श्रीलङ्का र इराकमा जनताले सत्ताधारीलाई आन्दोलनबाट लखेटेको उल्लेख गर्दै संसदवादीहरू नसुध्रिए नेपालमा समेत त्यस्तो अवस्था आउने चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।