२३ भाद्र २०८१, आईतवार

रविहरु साम्राज्यवादको योजना हुबहु लागू गर्न परिचालित पात्र हुन् : शिलु सी

0

चितवन- नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी ब्युरो इन्चार्ज शिलु सीले रवि लामिछानेहरु नेपालमा साम्राज्यवादको योजना हुबहु लागू गर्न साम्राज्यवादबाट परिचालित पात्र भएको बताएकी छन् ।
बुधबार चितवनको नारायणगढमा जारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनमा प्रसिक्षाणात्मक मन्तव्य राख्दै यस्तो बताएकी हुन् ।
नेकपा निकट जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज समेत रहेकी नेता शिलुले साम्राज्यवादले आफ्नो योजना लागू गर्न व्यवस्था ठिक छ अवस्था परिवर्तन गर्नुपर्छ भन्ने नारा दिएर विश्वास पात्रको रुपमा रविलाई अघि सारेको बताइन् ।
उनले भनिन् ,” अहिले चलिरहेको वर्तमान दलाल संसदिय व्यवस्थाले जनता आक्रान्त भैरहेको बेला, देशका सम्पूर्ण राजनीतिक दलहरु व्यवस्था असफल भएको निष्कर्षमा पुग्दा उनको अवस्था मात्र फेरे पुग्छ भन्ने रटानले उनी परिचालित मान्छे हुन् भन्ने प्रष्ट भएको छ । यिनीहरुबाट देश झनै संकटमा फस्दै जान्छ ।”
जनयुद्धबाट समाजवादी क्रान्ति निष्कर्षमा पुग्नै लाग्दा प्रचण्ड र बाबुरामले धोका नदिएको भए नेपालमा जनवादी क्रान्तिले सार्थकता पाउने र यस्ता पात्रको जन्म नहुने उनले बताइन् ।
उनले भनिन् ,” प्रचण्ड बाबुरामको धोकाबाट पाठ सिक्दै क्रान्तिलाई नयाँ सिराबाट उठाएर नेपालमा जनवादी क्रान्ति पूरा गर्ने अठोटसहित २१ औं सताब्दीको वैज्ञानिक विचारसहितको क्रान्तिकारी पार्टी निर्माणले जनतामा आशा जगाएको र अहिले नेकपालाई क्रान्ति पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । सबै कम्युनिस्ट लोकतन्त्रवादीहरुको नेतृत्व गरेर नेपाली विशेषताको समाजवादमा जान नेतृत्वदायी भुमिका हाम्रो काँधमा छ ।”
कार्यक्रममा बोल्दै उनले नेपाली विशेषताको समाजवाद ल्याउन यो देशका सम्पूर्ण मजदुर मध्यम वर्गको साथ बिना असम्भव रहेको जिकिर गरिन् ।
कम्युनिस्ट मुलुकहरुमा मजदुरहरुले अधिकारका लागि गरेको संघर्षलाई स्मरण गर्दै नेता शिलुले विश्वमा मजदुरहरुलाई भोटिङ राइट नभएको र मजदुरहरुले त्यसका निम्ति सामुहिक एकता संघर्षले त्यो हक प्राप्त गरेको स्मरण गराइन् ।
उनले भनिन् ,”विश्वका सबै विकसित मुलुकहरु श्रमिक मजदुरहरुको रगत पसिनाहरुले सिर्जित छन तर त्यही मजदुर भोकभोकै मर्नुपर्ने अवस्था छ । असमान ज्याला छ मजदुरहरुले मेहनतले ५ सय कमाइ हुँदा मजदुरले २ सय पाउछन् तर मालिकले ३ सय आफुले राख्छ ।”
नेपालमा देखापरेको पछिल्लो घटनाक्रमको चर्चा गर्दै उनले अब देश कसैको षड्यन्त्रले पुरानो अबस्थामा फर्कन नसक्ने बरु ठूलो क्रान्तिकारी उथलपुथल आउने ठोकुवा गरिन् । उनले भनिन् ,”अबको विकल्प भनेको रविहरुले राजावादीहरुले भनेजस्तो पछाडि फर्किने या अवस्था परिवर्तन होइन दलाल संसदिय पूंजीवादको विकल्प नेपाली विशेषताको समाजवाद हो । जसको नेतृत्व नेकपाले सम्पुर्ण राष्ट्रवादी क्रान्तिकारी कम्युनिस्ट राष्ट्रिय पुजिपतिहरुलाई साथमा लिएर गर्छ। त्यसको निर्विकल्प नेतृत्व महासचिव विप्लव हुन् ।”
अन्तमा नेता शिलुले नेकपाको विचार सहि भएका कारण सबै जनताहरु नेकपासँग गोलबन्द हुँदै नेकपाबाट परिवर्तनको आशा गरेको बताइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।