१२ श्रावण २०८१, शनिबार

युद्ध चर्काउदै अमेरिका, रुसी भूमीमा आफ्नो हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति

0

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुस बिच भइरहेको युद्धलाई थप चर्काउने निर्णय गरेका छन ।
उनले अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिने कुराले युद्ध चर्काउने कदम चालेका हुन ।

बाइडेन प्रशासनले अमेरिकी हतियार प्रयोग गरेर रूसमा आक्रमण गर्न युक्रेनलाई सुटुक्क अनुमति दिएको भनेर ’पोलिटिको’ अनलाइनले लेखेको थियो । त्यसको केही घन्टाभित्रै विज्ञप्ति निकाल्दै अमेरिकी सरकारले बिहीबारदेखि लागू हुने गरी अनुमति दिइएको भनेर पुष्टि गरेको छ ।
अमेरिकी हतियारले आफ्नो भूमिमा युक्रेनले आक्रमण गर्दैन र युक्रेनी हतियारले खासै नोक्सान गर्न सक्दैन भनेर ढुक्क भएको रूसले युक्रेनको सीमा छेवैमा सेना भेला गरेर खार्किभ सहरमा आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रूसभित्र पनि अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि नै अमेरिकाले युक्रेनलाई धेरै सहयोग गरे अमेरिका रूससँग युद्धमा तानिने र तेस्रो विश्वयुद्ध सुरू हुन सक्ने भनेर बाइडेन सचेत थिए । रूसले केही दिनमै पूरै युक्रेन कब्जा गर्ने ठानेर अमेरिकाले युक्रेनलाई छापामार युद्ध लड्न सिकाउने सोचेको थियो ।

रूसले तुरून्तै युक्रेन कब्जा गर्न सकेन । त्यसपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार दिन थाले । मार्चको अन्त्यसम्म रूस किभ बाहिरबाटै फर्किन बाध्य भयो । सन् २०२२ अन्त्यसम्म त युक्रेनले खार्किभ र खेरसन सहर रूसबाट सजिलै खोसेको थियो ।

बाइडेनले युक्रेनलाई हतियार दिए पनि पुटिनले युद्ध हार्ने स्थिति आयो भने आणविक हतियार प्रयोग गर्न सक्ने भनेर ढिला गरी मात्रै दिन्थे । रूसले युक्रेन कब्जा गर्न नसकोस् तर युद्ध पनि नहारोस् भनेर सन्तुलन मिलाएर अमेरिकाले हतियार दिइरहेको थियो ।

अमेरिकाले यसरी हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र आक्रमण नगर्ने सर्त राखेर दिएको थियो । त्यसै अनुसार रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले अमेरिकी हतियारले रूसी सेनामाथि आक्रमण गर्थ्यो ।

रूसभित्रै आक्रमण गर्ने अनुमति बाइडेनले किन दिए त ?

युक्रेनले खार्किभ र खेरसन सहर रूसबाट सजिलै खोस्यो। यसपछि रूसले सन् २०२२ यता कब्जा गरेको मात्रै नभएर सन् २०१४ मा कब्जा गरेको क्राइमिया लगायत भूभाग पनि फिर्ता गर्न सकिन्छ भन्ने ठान्यो । अनि २०२३ जुनतिर युक्रेनले प्रत्याक्रमण सुरू ग¥यो । तर यो विफल भयो ।
त्यसपछि इरान र उत्तर कोरियाबाट गोला वारूद र चीनबाट हतियार उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ पाएको रूसले बिस्तारै फेरि आक्रमण गर्न थाल्यो । सन् २०२४ सुरूमा रूसले अव्दिवका सहर कब्जा ग¥यो ।

यति बेलासम्म अमेरिकाले युक्रेनलाई दिएको हतियार सकिन लागेको थियो । त्यसैले युक्रेनले जोगाएर प्रयोग गर्नु पर्थ्यो । अर्कोतर्फ बाइडेनले युक्रेनलाई सहयोग दिन बजेट छुट्टयाउन खोज्दा रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पको निर्देशनमा प्रतिनिधि सभाले रोकेको थियो ।
अप्रिल अन्तिम हप्तातिर बल्ल युक्रेनलाई सहायता दिने विधेयक पास भयो । विधेयक पास भएपछि हतियार युक्रेनको हातमा आइनपुग्दै युक्रेनको दोस्रो ठूलो सहर खार्किभ कब्जा गर्न रूसले आक्रमण सुरू ग¥यो । युक्रेनी रक्षापंक्तिलाई कमजोर पार्न आफ्नो भूमि भित्रबाट खार्किभतर्फ प्रहार गर्न थाल्यो ।

अप्रिलमा पास भएको बजेट अन्तर्गत अमेरिकी हतियार र पहिलेकै योजनाअनुसार एफ–१६ लडाकु विमान पनि युक्रेनले पायो। खार्किभ कब्जा गर्न सकिँदैन भनेर रूसले बुझेको छ । युक्रेनले अमेरिकी हतियार रूसभित्र प्रयोग गर्दैन भन्ने जानेर युक्रेनी रक्षापंक्ति डगमगाउने बित्तिकै खार्किभ कब्जा गर्न सीमामा सेना जम्मा गरेर राख्यो ।
आफूसँग भएका केही अमेरिकी हतियार पनि प्रयोग गर्न नपाउने हो भने रूसले खार्किभ कब्जा गर्ने र चाँडै नै युक्रेनले युद्ध नै हार्ने भनेर जेलेन्स्कीले अमेरिकासँग हतियार प्रयोग गर्ने अनुमति मागिरहेका थिए । बेलायतले आफ्ना हतियार रूसी भूमिमा प्रयोग गर्न अनुमति दिए पनि बाइडेन पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भनेर डराइरहेका थिए ।

पछिल्ला दिनमा भने नेटो सदस्य राष्ट्रहरूबाट मात्र नभएर अमेरिकाभित्रै र आफ्नै सल्लाहकारबाट पनि अनुमति दिन बाइडेनलाई व्यापक दबाब थियो । दुई हप्ताअघि युक्रेनको भ्रमण गरी स्थलगत जानकारी लिएर फर्किएका विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बाइडेनलाई अन्ततः अनुमति दिन मनाएको मानिन्छ ।

अनुमति दिएपछि युद्धमा के फरक पर्छ ?

खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा अनुमति दिइएको भए पनि यसले रूस–युक्रेन युद्धमा ठूलो प्रभाव पार्नेछ ।
इतिहासमै पहिलोपटक कुनै पनि अमेरिकी राष्ट्रपतिले आणविक हतियार भएको देशको भूमिभित्र आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएका हुन ।
तत्कालका लागि खार्किभ कब्जा गर्नबाट रूसलाई रोक्ने अनुमान गरिएको छ। तर रूसले खार्किभबाहेक अरू क्षेत्रमा आक्रमण गर्दा पनि बिस्तारै युक्रेनले रूसभित्र अमेरिकी हतियार प्रयोग गर्न पाउनेछ ।

यसरी बिस्तारै पूरै रूसभित्रै युक्रेनले आधुनिक र शक्तिशाली अमेरिकी हतियार प्रयोग गर्न थाल्यो भने रूसलाई धेरै अप्ठ्यारो पर्न सक्छ। युद्ध नै नहारे पनि युक्रेनलाई हराउन नसक्ने भएर पुटिन वार्ता गर्न बाध्य हुन सक्छन ।

बाइडेनलाई अनुमति नदिन दबाब हाल्न रूसले गत हप्ता मात्रै आणविक हतियार प्रयोग गर्ने फौजको अभ्यास गराएको थियो। अहिलेलाई भने बाइडेनले अनुमति दिएपछि रूसले कस्तो प्रतिक्रिया जनाउँछ भनेर पर्खिनुपर्ने हुन्छ ।

बेलायतले यस्तो अनुमति दिँदा रूसले केही पनि नगरेको भनेर कतिले अहिले पनि पुटिनले केही गर्दैनन् भन्ने अनुमान गर्छन्। तर बेलायतभन्दा अमेरिकाले धेरै संख्यामा हतियार दिने र ती हतियार अझ शक्तिशाली हुने भएकाले पुटिन चुप लागेर बस्छन् भनेर ठोकुवा गर्न सकिँदैन ।

पुटिनले प्रतिक्रिया दिन्छन् कि दिँदैनन्, दिए भने कस्तो दिन्छन् र अमेरिका लगायत पश्चिमा देशले के गर्छन् भन्ने कुराले रूस–युक्रेन युद्ध कसरी अघि बढ्छ भनेर निर्धारण गर्नेछ ।
(विभिन्न सञ्चार माध्यमहरूको सहयोगमा)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।