११ श्रावण २०८१, शनिबार

नेकपा महान आदर्श बोकेको पार्टी हो : सविन सी

0

घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले नेकपा महान आदर्श बोकेको पार्टी भएको बताएका छन् ।
आइतबार घोराहीमा पार्टीको २ नं. क्षेत्र स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता सविनले उक्त कुरा बताएका हुन्।

पार्टी सदस्यहरुलाई प्रशिक्षण दिदै नेता सविनले भने –‘यो पार्टी महान आदर्श बोकेको पार्टी हो । नेकपा कलकल बग्ने सुन्दर नदी जस्तो पार्टी हो । अन्य पार्टीहरु गन्हाउने ढल जस्ता भएका छन् । ती पुराना भनिएका ठुला भनिएका पार्टीहरु खराब छन् । हाम्रो पार्टी भनेको महान आदर्श, सपना, उर्जा भएको विशाल पार्टी हो । हामीसँग नेपाली जनतालाई पुजीवादी दासताबाट मुक्त गर्ने महान लक्ष्य छ ।’

माओवादी आन्दोलनमा विचलन पैदा भएपछि विद्रोह गरेर पार्टी बनाएका हौं ।’, विचारधारात्मक प्रशिक्षणमा बोल्दै उनले भने, ‘प्रचण्ड-बाबुरामहरुले माओवादी आन्दोलनलाई छाडेपछि विचारधारात्मक संघर्ष गरेर नेकपा बनाएका हौं । यो चानचुने दु:ख कष्टले बनाएको पार्टी होइन । राज्यको प्रतिबन्ध झेल्दै सहिदहरु जन्माएर बनेको पार्टी हो । राज्यले करिव २२ सय नेताकार्यकर्तालाई गिरफ्तार गरि झुठ्ठा मुद्दा लगाएर जेल हिरासतमा बन्दी बनाउदा पनि नझुकेको पार्टी हो ।’

प्रचण्ड र केपीको सरसल्लाहमा नेकपामाथि प्रतिबन्ध लगाएर नेकपालाई सिध्याउने षडयन्त्र थियो तर त्यो सफल भएन ।’, नेता सविनले थपे, ‘कथित प्रतिबन्धमार्फत नेकपा सक्ने योजना थियो तर जनताको काखमा बसेर त्यो योजना बिथोलिदियौँ ।’

नेता सविनले दलाल पुजीवादले नेपाली जनतालाई बाँडिरहेको निराशालाई आशामा बदल्दै जनताको बिचमा नयाँ नीतिसहित आइपुगेको बताए ।

उनले भने, ‘जनताका बिचमा पार्टीको नीति र नेतृत्व जोड्ने अभियान चलाईरहेका छौँ । अब नेकपाका नेताकार्यकर्ता विशाल आत्मविश्वाससहित जनतामा पुग्नुपर्छ । हाम्रो सबै प्रकारले जनताको सेवा गर्ने एकमात्र उद्देश्य हो त्यो उद्देश्यका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार हुनुपर्दछ ।’

नाम मात्रैका नक्कली कम्युनिस्टहरुले सिद्धान्तलाई जिवन व्यवहारमा प्रयोग गरेनन् ।’, राजनीतिक प्रशिक्षणमा बोल्दै उनले थपे , ‘समानता ,श्रम र स्वतन्त्रता सबै कम्युनिस्ट पार्टीले भन्छन् तर त्यो सिद्धान्तलाई जीवन व्यवहारमा प्रयोग गर्दैनन् । हामीले प्रयोग गरिरहेका छौँ । उनीहरु र हामीबिचको भिन्नता यहीँ हो । एमाले-माकेले संसदीय व्यवस्थाको प्रतिनिधित्व गर्छन् र मशाल र वैद्यको पार्टी कुनैपनि कम्युनिस्ट पार्टीहरु प्रयोगमा जानै सक्दैनन् । कम्युनिस्ट हुनका लागि आचरण व्यवहार प्रयोग गरेको छ कि छैन हेर्नुपर्दछ । नेपालमा केही कम्युनिस्टका कुरा कोठादेखि कोठासम्म सिमित छन् भने अर्काथरीका कम्युनिस्टहरु चुनावदेखि चुनावसम्मका लागि छन् ।’

नेपाली जनताको दु:खभोगको एउटै कारण दलाल पुजीवादी राज्यसत्ता हो ।’, नेता सविनले कार्यकर्तालाई भने, ‘दु:खभोग गर्नुको एउटै कारण यहाँको दलाल पुजीवादी राज्यसत्ता हो । यो व्यवस्थाले कहिलैपनि उत्पादनसंग जोड्दैन । नेपालको श्रम विदेश निर्यात म गर्दछ । मानवीय शक्तिलाई विदेशिन बाध्य पारेको छ । अहिले त यतिसम्म हिरानी छ कि अमेरिकामा समेत नेपालीहरु काम नपाएर हैरान छन् । यो सत्ताका विरुद्ध लड्नुपर्छ त्यसका लागि हामीले एकीकृत जनक्रान्ति चलाईरहेका छौँ ।’

राजनीतिक एवम विचारधारात्मक प्रशिक्षणमा बोल्दै नेता सविनले दलाल पुजीवादी राज्यसत्ताको विकल्प नेपाली विशेषताको समाजवाद भएको जिकिर गरे ।

उनले भने, ‘नेपाली विशेषताको समाजवाद स्वाधिन व्यवस्था हो । अहिलेको व्यवस्था दलाल व्यवस्था हो । अहिलेको व्यवस्था अस्थिर व्यवस्था हो । संसदहरुलाई किनबेच गर्ने व्यवस्था हो । नेपाली विशेषताको समाजवाद स्थिर व्यवस्था हो । यो ५ वर्ष पुरै चल्छ । समाजवाद भनेको प्रत्येक नागरिकलाई उत्पादनसंग जोड्ने व्यवस्था हो । निशुल्क शिक्षा , स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था हो समाजवाद ।’

यो दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्न तीन तरिका अवलम्बन गर्न सकिन्छ ।’, उनले भने, ‘यदि राज्य तयार हुन्छ भने हामिले संविधान संशोधन गरेर भएपनी समाजवाद उन्मुख लेखिएको यो संविधानलाई संसोधन गरेर समाजवादी संविधान बनाऔं भनेका छौँ । एउटा तरिका यो पनि हो तर राज्य तयार देखिदैन । हामीले जनमत संग्रहको माग पनि गरिरहेका छौँ । एकपटक जनतालाई कुनै पार्टी वा व्यक्ती चुन्ने भन्दापनी व्यवस्था चुन्ने अधिकार दिउँ । व्यवस्था परिवर्तनको अर्को बाटो हो जनसंघर्षको त्यसमा अहिले जनसंघर्षको स्वरुप बदलिन सक्छ ।’

हामीले कम्युनिस्टहरुले चुनावलाई हेर्ने परम्परागत दृस्टिकोणलाई पनि बदलेका छौँ, नेता सविनले फेरि भने, ‘ चुनावलाई कार्यनीति र रणनीतिको बिषय बनाउनु हुँदैन भन्ने छलफल हामीले केन्द्रीय समितिको बैठकमा गरेका छौँ । चुनावलाई क्रान्तिको मोर्चाका रुपमा हेर्नुपर्दछ । हामीले केन्द्रीय कमिटीको बैठकबाट ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानका रुपमा प्रयोग गर्ने सोचेका छौँ । हामीले सबै कम्युनिस्टहरुसंग सहकार्य गर्ने र माओवादी धाराका बिचमा एकता गर्ने निर्णय गरेका छौँ । कम्युनिस्टहरुको रातो झण्डाका विरुद्ध अमेरिका षड्यन्त्रमुलक ढंगले आएकाले सबै कम्युनिस्टहरु सचेत हुँदै एकताबद्ध हुनुपर्ने ऐतिहासिक जिम्मेवारी काँधमा आएको छ । साम्राज्यवादका विरुद्ध लडाइँका सबै मोर्चाहरु खुल्ला गरेर जानुपर्दछ।’

यस्तै विचारधारात्मक प्रशिक्षणमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चाकी इन्चार्ज सम्झना सीले समाजवादी व्यवस्थामा कोहि अपमानित हुनु नपर्ने भन्दै त्यस्तो व्यवस्था स्थापना अपरिहार्य रहेको बताइन् ।

यस्तै कार्यक्रममा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य विक्रम सीले पार्टीका सदस्यहरुले विचारधारात्मक बहस गर्ने सक्ने कुरा महत्वपूर्ण हुने बताए । उनले भने, ‘पार्टीलाई टोलटोलसम्म घरघरसम्म पुगाउनुपर्दछ । हाम्रो पार्टीलाई जनतामा पुग्न नदिन वर्गवैरी लागिपरेका छन् । हामी जुनसुकै मुल्यमा भएपनी जनतामा पुगेर हाम्रा कुरा सुनाउनुपर्दछ । वर्गवैरीका किल्लाहरु सबै प्रकारले भत्काउन तयार रहनुपर्दछ । बुर्जुवाहरुको राजनीति चुनावदेखि चुनावसम्म मात्रै हो । यो देशमा नेकपाको दरिलो ओज छ । जनताले हामीबाट ठुलो अपेक्षा त्यो पूरा गर्ने दायित्व सै नेताकार्यकर्ताको हो ।’

यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले जनतासंग नङ र मासुको सम्बन्ध कायम गर्नुपर्ने बताए ।
उनले भने, ‘ हाम्रो र जनताको सम्बन्ध र नङ र मासु जस्तो हुनुपर्छ । पार्टीलाई मजबुत बनाउन पार्टीका नेताकार्यकर्ता जनताको सुखदुःखमा हरहमेसासंगै रहनुपर्दछ । जनतामा देखिएको निराशालाई आशामा बदल्नुपर्दछ । निराशाको जड संसदीय व्यवस्था हो व्यसबाट मुक्ति पाउन समाजवादी व्यवस्था चाहिन्छ । समाजवादी क्रान्तिको नेतृत्व र समाजवादी व्यवस्थाको नेतृत्व नेकपाले गर्ने हो । त्यसैले हामीसंग जनताको विशाल अपेक्षा छ त्यो पूरा गर्न हामीलाई विशाल संगठन चाहिएको छ ।’

नेकपा नेपालको वैकल्पिक शक्ति हो, उनले फेरि भने, ‘ पुराना पार्टीहरुले वितण्डा मच्चाएका छन् । हाम्रो पार्टी नेकपा नेपालको वैकल्पिक शक्ति हो । हामीले अहिलेको दलाल पुजीवादको विकल्प नेपाली विशेषताको समाजवाद भनेका छौँ । हाम्रो पार्टी श्रम र उत्पादनमा जोडिएको छ । गाउँगाउँ दलालहरुको हालीमुहाली छ । हामी एकताबद्ध र संगठित भए बल पैदा हुन्छ, बल पैदा भए दलालहरुलाई लखेट्न सकिन्छ । अरुले मिसन ०८४ भनेका छन् नेकपाले मिसन समाजवाद भन्नुपर्दछ । समाजवादको मिसनसहित जनतामा जानुपर्दछ ।’

यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम २नं. निर्वाचन क्षेत्र इन्चार्ज पाटन जंगली सीले संकिर्णता र जडताले समाजवाद नआउने बताए ।

उनले भने, ‘ संकिर्णता र जडताले समाजवाद आउनेवाला छैन । समाजवादका लागि सबै कम्युनिस्टहरुको एकता र ध्रुवीकरण आवश्यक छ । पुजीवादका विरुद्ध अब सच्चा कम्युनिस्ट , वामपंथी , देशभक्त , प्रगतिशील , लोकतान्त्रिक गणतन्त्रवादीहरु एकजुट हुने बेला भएको छ ।’

पार्टीप्रती जनताको ठूलो अपेक्षा छ , नेता पाटनले थप भने, ‘ यो देशमा कसैले केही गर्छ भने नेकपाले गर्छ , महासचिव विप्लवले गर्नुहुन्छ भन्ने सर्वत्र भइसकेको छ । हामिले जनताको यो अपेक्षालाई जिवित राख्नुपर्दछ। अब यो राजनीतिक प्रभावलाई व्यापक संगठनमा बदल्नुपर्दछ । चुनावलाई नयाँ ढंगले विश्लेषण गर्नुपर्छ पुरानो मान्यताबाट मात्रै हेरेर हुँदैन । जनताको मत लिने कुरा पुजिपतीको नारा होइन । संसारभरी मत लिएर आफ्नो प्रतिनिधि छान्ने कुरा कम्युनिस्टको कुरा हो।चुनावलाई एकीकृत जनक्रान्तिको मोर्चा बनाउनुपर्दछ ।चुनावलाई पार्टी विस्तार र सुदृढ गर्ने कुरासंग जोड्नुपर्छ ।’

नेता पाटनले कम्युनिस्टहरुको आफ्नै समाज र जाति चाहिने भएकाले पार्टीले सी समाज र सी संस्कृतिको सुरुवात गरेको समेत बताए ।

यस्तै कार्यक्रममा आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गर्दै पुराना दाङका वाम बुद्धिजीवी माधव गौतमले लामो संघर्षपछि अहिलेपनि आधारभुत आवश्यकता पूरा हुन नसेकेको बताए ।

उनले भने, ‘ लामो लडाइँपछि अहिलेपनि जनताका आधारभुत आवश्यकता पूरा हुन सकेनन् । जनतामाथि शोषण दमन अहिलेपनि कायमै छ । हामीले वैचारिक लडाइँ निरन्तर रुपमा लडिरहनुपर्दछ । कम्युनिस्टहरुले आफ्नो आत्मबल दर्हो बनाउनुपर्दछ ।
समाजवाद विना नेपाली जनताको भाग्य र भविष्यको फैसला हुन सक्दैन ।’

बुद्धिजीवी गौतमले मार्क्सवादी संस्कृतिलाई व्यवहारमा ढाल्न नसक्दा पश्चिमा संस्कृति हावी भएको बताए ।

नेकपा घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए भने सञ्चालन पार्टीका घोराही उपमहानगर कमिटीका इन्चार्ज विकास सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।