३ आश्विन २०८१, बिहीबार

अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत,बेहोस अवस्थामा उद्धार

0

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन । बलात्कृत पछि १२ घण्टा वेहोस भएकी किशोरीको उद्धार गरी जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । अस्पताल श्रोतले करिब १२ घण्टा बेहोस भएको जनाएको छ । किशोरीको अस्पताल पुगेपछि उपचारका क्रममा ३ घण्टापछि होस आएको बताईएको छ ।
मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी हुन । बलात्कारमा संलग्न १७ बर्षिय मामा पर्ने किशोरलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताएका छन । स्थानीयवासीहरुले छारे रोगले बेहोस भएको हुन सक्ने भन्दै उद्धार कार्य ढिलो गरेका थिए ।
होसमा आएकी किशोरीले आफू राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएपछि घटनाको रहस्य वाहिर आएको हो ।
पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताएकी छन । अहिले प्रहरीले छाउगोठ समेत भत्काएको छ । सामाजिक रुपमा अन्धविश्वासको रुपमा रहेको छाउप्रथाका कारणले धेरै महिलाहरु महिनावारी भएको बेला वाहिर वस्ने चलनले बलात्कृत हुने मात्र होइन अकालमा ज्यान समेत गुमाउने गरेका छन ।
यसअघि पनि सुदूरपश्चिममा बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर १४ जना महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाइसकेका छन । चार वर्षअघि मात्र साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पावर्ती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएको थियो । सरकारले छाउप्रथा हटाउन अछाममा मात्र १० हजारभन्दा बढी छाउगोठ भत्काइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।