![](https://janapatrika.com/wp-content/uploads/2022/08/received_1035488897096371.jpeg)
घोराही: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
संगठनको आयोजनामा आज बुधबार घोराहीमा एक कार्यक्रमका बीच उक्त भेला सम्पन्न भएको हो ।
भेलाले कोषाध्यक्षको पद पछि थप गर्ने गरि सुदर्शन सेर्पाइलीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र वली, सचिवमा पदम चन्द, सह–सचिवमा सपनशिला चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा धर्मराज भण्डारी, सोमबहादुर थापा, लव जैशी, पवन भारती, राकेश विक, राकेश पुन, क्षितिज बुढा, नरेश चन्द, गणेश डाँगी, विजय चन्द, एम कान्छा, सुभाष गिरी, शिशिर पुन, खगेन्द्र राना, मनोज रोकालगायत चयन भएका छन् ।
प्रथम भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शीतलले सरकारले आफ्नो पार्टीका लिडरकै नाममा प्रक्राउ पुर्जी जारी गरेर वार्ता सम्बन्धी कानुनको उल्लंघन गरेको बताए । उनले यो गम्भीर प्रकृतिको विषय बन्न गएको समेत उद्घोष गरे ।
‘अमेरिकी साम्राज्यवादको निर्देशनमा, नेपाली कांग्रेसको अभिभावकत्वमा र कम्युनिस्ट पार्टी भनिने सत्ताधारी गठबन्धनवालाहरुको सुराकीमा हाम्रो विरुद्ध प्रक्राउ पुर्जी काट्ने काम भएको छ’, नेता शीतलले भने ‘जो दलालहरुले हाम्रा विरुद्ध पुर्जीे जारी गरिराखेका छन् हामीले यो सामना गर्छौ। राजनीतिक रुपले पनि गर्छौं र संघर्षका हिसाबले पनि सामना गर्छौं, हामी यो निष्कर्षमा पुगेका छौं । ’
पार्टीको महाधिवेशनबाट हाम्रो शक्ति सुदृढ हुने र विस्तार हुने उनीहरुले देखेपछि त्यसबाट आतंकित भएर महाधिवेशनलाई रोक्ने अन्तर्गतको पक्राउ पुर्जी एउटा योजना भएको समेत इञ्चार्ज शीतलले जिकिर गरे ।
युवा संगठन नेपाल दाङ जिल्लाको प्रथम भेला सम्मेलन आयोजक कमिटीका संयोजक सुदर्शन सेर्पाइलीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्ज शीतलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश ४ र ५ नम्बरका कमाण्ड इन्चार्ज विश्लेषण, नेपाल कम्युनिस्ट पार्टी घोराहीका इञ्चार्ज निर्मल, नेपाल कम्युनिस्ट पार्टी तुलसीपुरका इञ्चार्ज विकास, नेपाल कम्युनिस्ट पार्टी लमहीका इञ्चार्ज जनक, नेपाल कम्युनिस्ट पार्टी गढवाका इञ्चार्ज महान, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका उपाध्यक्ष डिल्ली वली, केन्द्रीय सदस्य संजय वली, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्लाकी इञ्चार्ज जीवनी, श्रमिक समुदायका जिल्ला संयोजक विष्णु, अखिल (क्रान्तिकारी) दाङ जिल्लाका संयोजक खुमन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य दिपेन्द्र वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सम्मेलन आयोजक कमिटीका सदस्य पदम चन्दले गरेका थिए ।