३० आश्विन २०८१, बुधबार

३ बुँदे सहमति, चुनौती र एकीकृत जनक्रान्ति

0

नेपाल कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतृत्व, कार्यकर्ता र समर्थक जनताका विरुद्धमा जिल्ला अदालत ललितपुरले तीन बुँदे सहमतिलाई लत्याएर कथित पक्राउ पुर्जी जारी गरेको छ । साउन ६ गते जारी गरेर उक्त पुर्जी साउनको १६ गते सार्वजनिक गर्यो । यो मूलतः शान्तिप्रक्रियालाई भाँड्न र देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्रकारी उद्देश्यमा आएको विश्लेषणहरु भइरहेका छन् । कानुनी तर्कहरुले छोपेर केहीले यसको ठाडो विरोध र द्वन्द्वको पक्षमा वकालत गरिरहेका छन् । विभिन्न बहानाबाजी गर्दै सहमतिलाई पछि धकेल्दै जानुले सरकारको तथाकथित प्रतिबद्धता, राजनैतिक बेइमानी र दलाल पूँजीवादीहरुका गम्भीर षडयन्त्रलाई पनि बाहिर सतहमा ल्याइदिएको छ । तत्कालै नेकपाले त्यसको निन्दा र भर्त्सनासहित सरकारलाई कडा चेतावनी पनि दिएको छ । प्रवक्ता कमरेड प्रकाण्डले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, “राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीनबुँदे सहमतिको उल्लंघन गर्ने, शान्तिप्रक्रियालाई भाड्ने, देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दै छ भन्ने कुराको पुष्टि भएको छ । जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक छ ।” देशलाई द्वन्द्वको भूमरीमा फसाउन चाहने साम्राज्यवादीहरूको स्वार्थद्वारा प्रेरित उक्त षडयन्त्रका विरुद्धमा देशभक्त, राष्ट्रबादी, प्रगतिशील लोकतन्त्रवादी र क्रान्तिकारी कम्युनिष्ट शक्तिले त्यसको कडा प्रतिवाद गरेका छन् । साथै परिवर्तन, शान्ति र न्यायप्रेमी आम नेपाली जनताले व्यापक रुपमा देशैभर प्रतिरोध संघर्ष गरिरहेका छन् । जुन अत्यन्तै प्रशंसनीय र सकारात्मक छ ।

राष्ट्रघात र जनघात विरुद्धमा दृढतापूर्वक संघर्षको नेतृत्व गरेकै कारण तत्कालीन ओली/प्रचण्ड सरकारले नेकपालाई प्रतिबन्ध लगायो । दुई वर्षे प्रतिबन्ध र फासीवादी दमनलाई नेपाली श्रमिक जनता र पार्टीले दृढतापूर्वक प्रतिरोध गर्यो । स्मरणीय छ, गत साल फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन केपी ओलीको सरकार बिच ३ बुँदे सहमति भएको थियो । जसको तेस्रो बुँदामा सम्पूर्ण राजबन्दी नेता/कार्यकर्ताहरूको निशर्त रिहाइ र झुठ्ठा मुद्दाहरू खारेजी गर्ने सहमति छ । पाँच महिना सम्म ओली सरकारले त्यसलाई लागु गरेन । अब अहिले देउवा नेतृत्वको गठबन्धन सरकार आफ्नै प्रतिबद्धता र सहमतिलाई उल्लंघन गर्दै शान्ति प्रक्रिया भाड्न निर्लज्ज ढंगले उत्रियो । तर नेकपाले उक्त सहमतिलाई आफ्नोतर्फबाट अक्षरशः पालना गर्दै आएको छ । आज सहमति भएको १७ महिना पुरा भयो । शान्ति र अग्रगमनको लक्ष्मणरेखा तोड्न सरकारी पक्ष किन लागिरहेको छ ? अब यसको हिसाब गर्ने बेला आएको छ । जसको मुख्य दुई कारणहरु छन् ।

पहिलो, विद्यमान व्यवस्था र नेतृत्वको असफलताका कारण समग्र क्षेत्र संकटग्रस्त अवस्थामा पुगिसकेपछि त्यसलाई नयाँ ढंगले अग्रगामी परिवर्तनमा बदल्ने जिम्मेवारी लिएर नेकपाले तीन बुँदे सहमति गरेको थियो । किनभने देशले लगातार गुमाउँदै गयो । राज्यको पुँजी, श्रम, समय र नेपाली जनशक्ति पुस्तौँपुस्ता देखि बर्बाद हुदै आयो । यसलाई नबदली देशले काँचुली फेर्ने सम्भावना छैन । यो ओरालो यात्रा अरु केही बर्ष रहे देशकै अस्तित्व नै डुब्ने खतरा छ । नवऔपनिवेशिक अतिक्रमण एवं दलाल पुँजीवादी व्यवस्था र नेपाली जनताबीचको अन्तर्विरोध नै अहिलेको प्रधान अन्तर्विरोध हो । यो अन्तरविरोधको हल गरेर नेकपाले वर्तमान संकटको समाधान गर्न चाहन्छ । जनआकांक्षा अनुसार संकटको समाधान गर्न तत्पर नहुनुको पहिलो कारण भनेको यो सरकार जनविरोधी, सामाजिक फाँसीवादी र विदेशीहरुको गोटी भएर हो । राष्ट्रिय स्वार्थमा देशभक्ति र नैतिक क्षमता चिनिने हो । लाजको टालो फुस्किएर नाकको नत्थी देखिएपछि भाड्न लगाउनेहरुको आदेशलाई सरकारी पक्षले पुरा गरिरहेको हो १ यदि त्यसैगर्न खोजेकै हो भने उसले ठूलो मूल्य चुकाउनु पर्नेछ ।दोश्रो कारण भनेको दलाल पुँजीवादी लुटतन्त्रलाई टिकाउन फाँसीवादी दमनको षड्यन्त्र यसमा अन्तरनिहित छ । पहिलो बुँदामै ‘दुबै पक्ष राजनैतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं’ भनिएको सहमति अनुसार सरकार प्रवेश गर्नै चाहेन । उक्त सहमतिमा सर्वप्रथम राष्ट्रिय सार्वभौमिकताको रक्षा, राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विकास लगायतका क्षेत्रहरुमा भएको विकराल अवस्थालाई बदल्ने मुद्दाहरु छन् । दोश्रो, सहज शिक्षा, स्वास्थ्य र रोजगारी लगायत जनताको आधारभूत आवश्यकतालाई ग्यारेन्टी गर्ने मुद्दाहरु छन् । तेश्रो, मिहिनेतकश जनताको लोकतान्त्रिक शासन प्रणाली स्थापना गरेर भ्रष्ट्राचारको अन्त्य र सुशासनको ग्यारेन्टी गर्ने । चौथो, आर्थिक/सामाजिक न्यायसहितको पूर्वाधार विकास र समृद्धिको यात्रामा देशलाई अघि बढाउने दूरदर्शी दृष्टिकोणहरू छन् । पाँचौ, विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय लगायतका अन्तरविरोधहरूलाई समाधान गर्न र तमाम् विभेदहरूलाई अन्त्य गरी आत्मनिर्भर एवं गतिशील आर्थिक/सामाजिक परिपाटी निर्माण गर्ने आदि प्रस्तावहरु यसमा छन् । उपरोक्त अति जरुरी राष्ट्रिय ‘एजेण्डामा’ प्रवेश गर्न नचाहनुले सरकारको नियतिलाई नै स्पष्ट पारेको छ। किनभने, दलाल पुँजीवादीहरूको लुटको स्वर्ग धरापमा पर्दैछ ।
यी एजेण्डाले संसदवादी नेताहरुमा विद्यमान रहेको पश्चगामी सोच, दलाल प्रवृत्ति र परिवर्तन विरोधी एवं जनघाती विचार र व्यवहारलाई परित्याग गर्नुपर्ने ठाउँमा पुर्याउछ । देश र जनताको स्वार्थलाई केन्द्र भागमा राखेर बदलिन बाध्य बनाउँछ । तर ‘अरबका कर’ र ‘शक्तिको तर’ मार्ने काम बन्द हुने भएपछि नै दलालहरुको गिरोह शुरू देखिनै षड्यन्त्र गर्न क्रियाशील भयो । यो नै षड्यन्त्रको दोस्रो कारण हो ।
यद्दपि विद्यमान सङ्कटग्रस्त राष्ट्रिय परिस्थितिको गर्भमा अन्तरनिहित भयंकर उथलपुथलले अग्रगामी निकासको माग गरिरहेको छ । जनताको महान सपनालाई पूरा गर्न र अहिलेको संकटको अग्रगामी निकास दिन हामी तयार छौं । नेकपाले अगाडि सारेका राजनीतिक एजेण्डामा प्रवेश गर्ने तीनबुँदे सहमतिको जिम्मेवारीबाट सरकार भाग्न खोजेको होइन भने उसको प्रतिबद्धतालाई तत्काल पुरा गरोस् । अन्यथा शान्ति भाड्ने षड्यन्त्र जारी राखे दलाल पुँजीवाद र तिनका मतियारलाई नेपाली जनताले रछ्यानमा नभेटिने गरी मिल्क्याई दिने छ । यसले समाजवाद स्थापनाको निम्ति नै मार्ग प्रशस्त गर्नेछ । अहिले समाजवादी क्रान्तिका अघि तत्कालीन दुई मुख्य चुनौतीहरू आएको छ ।

बाह्य हस्तक्षेप र चुनौती

विश्व परिस्थितिको स्वरुपमा काफी मात्रामा गुणात्मक परिवर्तनहरु भएका छन् । भूमण्डलीकृत पुँजीवादको संकट र अन्तरविरोधहरू युद्धको स्तरमा देखापर्न थाले । बहुध्रुवीय विश्व अन्तरविरोधको स्थितिमा अहिले देश अत्यन्तै संगीन, गम्भीर र जटिल मोडमा छ । साम्राज्यवादीहरूले निर्लज्ज प्रकारको हस्तक्षेप तीव्रगतिमा अघि बढाइराखेका छन् । गत फागुन १५ गते राष्ट्रघाती एमसीसी सदनबाट अनुमोदन गराउन र एसपीपी लागू गर्न दिएको दबाब सामु देउबा सरकार र संसदवादी दलहरु लम्पसार भएपछि साम्राज्यवादी रणनीतिमा नेपाललाई फसाउन षड्यन्त्रहरु भए । यसले देशभित्र अभूतपूर्व र असाधारण ध्रुवीकरण गर्नुको साथसाथै जटिल देशभक्तिपूर्ण प्रतिरोध संघर्षको स्थितिमा पुर्याएको छ । क्रान्तिको सैद्धान्तिक र राजनीतिक कार्यनीतिको प्रयोगलाई लिएर नेकपाको बारेमा र त्यसैगरी संसदवादी दलहरूले गरेको साम्राज्यवाद परस्त दलाल प्रबृत्तिका बारेमा नेपाली जनतामा अब सामान्य अस्पष्टता पनि बाँकी रहेन । प्रायोजित ढंगले कन्चन/सुदर्शनसहित नौ जनाको समूहलाई नेकपाबाट अलग गरेर राष्ट्रियताको तेज गतिको आन्दोलन मत्थर हुने कुरा थिएन । बरू फुटवादका अनेकौँ भ्रम र षड्यन्त्रलाई चिर्दै र परास्त गर्दै पार्टी झन् सशक्त र सुदृढ भयो । केही नलागेपछि फुटवादीहरुको बिलय कहीं न कहीं नै हुनुपर्दथ्यो र अहिले त्यो हुँदै पनि छ । फुटवादीहरूको सन्दर्भमा कमरेड महासचिवले संश्लेषण गर्नुभएको थियो । “दुश्मनको तरबार मित्रको घाँटीमा झुन्डाउँन खोज्ने फुटवादीहरू रणमैदानबाट विलय हुन खोजेका हुन्छन ।” कसको गोटी बनियो भनेर पश्चताप गर्लान् या नगर्लान् तर इमान्दार क्रान्तिकारी कमरेडको निम्ति भने त्यो कुनै पनि प्रकारले पुष्टि हुन सक्दैनथ्यो र भएनपनि । नेपालको कम्युनिष्ट आन्दोलनमा अहिलेसम्मकै सर्वाधिक बदनामीका षड्यन्त्रहरु क्रान्तिकारी नेतृत्व, पार्टी र आन्दोलनका विरुद्ध केन्द्रित हुनपुगे । परन्तु, त्यसलाई पार्टी र नेतृत्वले आफ्नो वैचारिक श्रेष्ठता र व्यवहारिक पारदर्शिताबाट परास्त गर्यो । पहिलो षडयन्त्र नकाम भएपछि दोस्रोलाई प्रयोग गर्न थालेको छ । जहिले पनि साम्राज्यवादले “टु ट्र्याप पोलिसी” द्वारा देशभक्त कान्तिकारी शक्तिलाई पुँजीवादी संसदवादको महाजालमा फसाएर दलाल पार्टीमा बदल्ने र अर्कोतिर त्यो सम्भव नभए दमनको प्रक्रियाबाट सिध्याउने दुई धारे रणनीति अख्तियार गर्दै आएको छ । दोस्रो रणनीतिमा प्रवेश गरेपछि उसले महासचिव कमरेड विप्लव र प्रवक्ता कमरेड प्रकाण्डलगायतका नेताहरु र पार्टीको विरुद्धमा षड्यन्त्रहरु केन्द्रित गर्न पुगेको छ । यो स्थितिमा सिंगो पार्टीले क्रान्तिको कार्यभारलाई नयाँ उचाइमा उठाएर पूरा गर्नै दायित्व आएको छ ।

अमेरिकी साम्राज्यवाद नवउपनिवेशीकरणको प्रक्रियाद्वारा नेपालको प्राकृतिक साधनस्रोत, खानी, जमिन, जलस्रोत, युरेनियम कब्जा गर्न आएको हो । यो मुख्यतः नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिका विरुद्धमा आएको छ । अहिले अमेरिका “एक रणनीति तीन लक्ष्य” अन्तर्गत उसको मुख्य प्रतिस्पर्धी जनगणतन्त्र चीनका विरुद्ध घेरा हाल्न, दक्षिणमा भारतलाई काबुमा राख्न र देशभक्त एवं कम्युनिष्टहरुलाई कमजोर बनाउन नेपालमा एसपीपी लागू गर्न चाहन्छ । दक्षिण/पूर्वी एसियामा नेपाल बाहेक पाकिस्तान, अफगानिस्तान, श्रीलंका, म्यानमारलगायत उसको निम्ति घुस्ने कुनै पनि ठाउँ बाँकी रहेन । भर्खरै अमेरिकाको एसिया प्यासिफिक कमाण्ड हेर्ने सेनाका जनरल चार्ल्स एन्थोनी फ्लिनले नेपाल भ्रमणको क्रममा “नेपाल भूपति” भएको टिप्पणी गर्नुले यही कुरालाई पुष्टि गर्दछ । भर्खरै अमेरिकी सिनेटर तथा तल्लो सदनकी सभामुख न्यान्सी पोलिसीले ‘एक चीन नीतिको” विरुद्धमा उनको ताईपेई भ्रमण र त्यसका विरुद्धमा चीनले गरेको जवाफी सैनिक अभ्यासले बहुध्रुवीय विश्व अन्तरविरोध र त्यसबाट सिर्जित शीतयुद्धलाई पुष्टि गर्दछ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख ली जिन्स्याओको नेपाल भ्रमण गरे लगत्तै दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको जवाफी नेपाल भ्रमणले पनि उसले अन्तिम बल लगाइरहेको पुष्टि गर्दछ । देश साम्राज्यवादी एवं शक्तिराष्ट्रहरूको क्रिडास्थल बन्ने खतरा झनै बढेर गयो । नेपालको इतिहास र भूगोल सर्वाधिक जोखिममा परेको छ । दलाल प्रवृत्ति भएका संसदवादी दलका नेताहरुले साम्राज्यवादलाई परास्त गरेर देश र जनतालाई मुक्त गर्ने कुरा त के तिनलाई चुनौती दिन सक्ने अवस्थाका छैनन् । यद्यपि साम्राज्यवादविरोधी मोर्चा र स्वाधिनताको पक्षमा करोडौं देशभक्त नेपाली र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु छन् । उक्त मोर्चालाई शक्तिशाली र निर्णायक बनाउनको निम्ति तत्काल पाँचवटा क्षेत्रको कामलाई अघि वढाउन आवश्यक छ । पहिलो, साम्राज्यवादविरोधी सम्पूर्ण कान्तिकारी कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउने । दोस्रो, साम्राज्यवादविरोधी आन्दोलनकारी जनताका शक्तिहरुसँग सम्बन्ध र सहकार्य बढाउने । तेस्रो, अमेरिकी साम्राज्यवाद विरुद्ध संघर्ष गरेका देशहरुसँग सम्बन्ध बढाउने । चौथो, समाजवादी देशहरुबाट राष्ट्रिय स्वाधीनताको पक्षमा र क्रान्तिको निम्ति सहयोग र समर्थन जुटाउँदै साम्राज्यवाद विरोधी मोर्चालाई सशक्त बनाउने, पाँचौं, सम्पूर्ण देशभक्त, प्रगतिशील लोकतन्त्रवादी र सच्चा कम्युनिष्टहरु बीचको बृहत् एकता निर्माण गर्ने आदि ।
हाम्रो दायित्व भनेकै देश र जनताप्रतिको जिम्मेवारी हो । देशभक्त नेपालीले रगत बगाएर देशको रक्षा गरेको लामो इतिहास छ । बाह्य हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त गर्न आवश्यक पर्दा बलिदान गर्न र त्यसप्रकारको बलिदानीपूर्ण संघर्षको नेतृत्व गर्न हामी तयार छौं । देशभक्तिपूर्ण बलिदानी संघर्षमा देशभक्त क्रान्तिकारीहरु खरानी भएछौं भने कि त बिश्वको नक्साबाट नेपाल सधैंका लागि मेटिएला कि नेपाल एउटा महान् र मुक्त देशका रूपमा सगरमाथा झैँ उच्च कीर्तिमानीले प्रसिद्ध रहनेछ । यो जिम्मेवारीलाई पुरा गर्नु हरेक देशभक्त क्रान्तिकारीको निम्ति गौरवको विषय हो । पहाड भन्दा गर्हौ चुनौतीहरू छन् तर जब तीन करोड नेपाली एउटै फलामे किल्लाका रुपमा संगठित हुन्छन् तब देशभक्तिपूर्ण प्रतिरोध संघर्षको विजयलाई कसैले पनि रोक्न सक्ने छैन ।
नेकपाले उक्त चुनौतीहरूलाई सामना गरेर देश र जनताको रक्षा गर्ने जिम्मेवारीलाई पूरा गर्नेछ ।
राष्ट्रिय संकट र चुनौती
देशको समग्र स्थिति संकटको अवस्थाबाट गुज्रिरहेको छ । राष्ट्रिय आवश्यकता र जनअपेक्षा विपरीत दिशामा राज्य पुगेको छ । सरकार त्यसैको निरिह कठपुतली बनेर उभिएको छ । यसो हुनुको पछाडि दलाल संसदीय पुँजीवादी राज्यसत्ताको परिणति हो । जसले गर्दा देशभित्र श्रमिक र किसानहरूका समस्या, उत्पीडित श्रमिक समुदाय र महिलाका समस्या, बेरोजगारी र युवा प्रतिभा पलायनका समस्या, व्यापारघाटा, राष्ट्रिय उत्पादन र पुँजीको संकट, भ्रष्टाचार र महङ्गीका समस्याहरु विकराल अवस्थामा पुगेको छ । राष्ट्रिय स्वार्थलाई परित्याग गर्नुले यो व्यवस्थामा राष्ट्रियता, समृद्धि र लोकतन्त्रको नारा कति खोक्रो र पाखण्डी छ भन्ने कुरा आम जनतामा व्यापक रुपमा प्रमाणित भएको छ । दलाल पूँजीवादी व्यवस्थाले नै लगाताररुपले अस्थिरता, कुशासन र कयौं राजनैतिक एवं आर्थिक अपराधहरुको डरलाग्दो चक्रीय भूमरीमा एकपछि अर्को गरी देशलाई फसाइरहेको छ । यसको अतिरिक्त यसले साम्राज्यवादी शक्ति केन्द्रहरूको रणनीतिक स्वार्थको घानमा पूरै मुलुकको अस्तित्वलाई दाउमा पारेको छ । देश र जनताको अग्रगामी हितलाई सुनिश्चित नगर्ने भएर नै सबै प्रकारले असफलसिद्ध दलाल पुँजीवादी संसदीय व्यवस्थाको औचित्य समाप्त भएको हो । जसको अग्रगामी निकास तुरुन्त जरुरी भइसकेको छ । त्यो भनेकै वैज्ञानिक समाजवादी सत्ता, प्रणाली र देशभक्त एवं क्रान्तिकारी नेतृत्वको स्थापना हो । त्यसैले यसको निम्ति सबै देशभक्त, प्रगतिशील र क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुने, व्यापक र शक्तिशाली संघर्षको मोर्चा निर्माण गर्ने चुनौती यतिबेला हाम्रो राष्ट्रिय कार्यभार बन्न पुगेको छ ।
एकीकृत जनक्रान्ति
उपरोक्त राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वस्तुगत परिस्थितिका कारण समाजवादी क्रान्तिको र राष्ट्रिय सार्वभौमिकता रक्षाको आन्दोलन एक अर्काबाट अलग गर्न नसकिने अवयव हुन् भन्ने हाम्रो नीतिको वैज्ञानिकता पनि झन् स्पष्ट भएको छ ।
विश्व क्रान्ति र प्रतिक्रान्तिका व्यापक सकारात्मक र नकारात्मक अनुभवहरूद्वारा कमरेड लेनिनले भनेझैं ठोस् परिस्थितिको ठोस् विश्लेषण गर्दै त्यसको वैज्ञानिक संश्लेषण गरेर निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु भनेको मालेमावादको मूलभूत सारतत्व हो । दक्षिणपन्थी संशोधनवाद र जडसूत्रीय संशोधनवादका विरुद्धमा निरन्तर संघर्ष गर्दै वर्गसंघर्ष र विचारधारात्मक संघर्षको प्रक्रियामा महासचिव कमरेड विप्लवको नेतृत्वमा नेपाली क्रान्तिको विशिष्ट मोडल एकीकृत जनक्रान्तिको संश्लेषण हुन पुगेको हो । जसले मालेमावाद एवं विश्व क्रान्तिका सार्वभौम सिद्धान्तहरूलाई दृढतापूर्वक पकडेको छ । सूचना प्रविधि र विज्ञानको क्षेत्रमा भएका अभूतपूर्व परिवर्तनहरू, उत्पादक शक्ति, उत्पादन सम्बन्ध र उत्पादनका साधनहरुले निर्माण गरेको सामाजिकरआर्थिक विकासलाई पनि सही ढंगले संश्लेषण गरेको छ । त्यसैगरी प्रतिक्रान्तिका अनुभवले विगतका क्रान्तिमा भएका कमजोरीहरुरसीमाहरूबाट गम्भीरतापूर्वक शिक्षा लिएर त्यस्ता कमजोरी दोहोरिएर आउन नदिन दर्शन, अर्थशास्त्र, वैज्ञानिक समाजवाद, वर्गसंघर्ष, पार्टी/संगठन, समाजशास्त्र र संस्कार/संस्कृतिको क्षेत्रमा समेत नयाँ संश्लेषण गरेको छ । संक्षेपमा भन्नुपर्दा एक्काइसौँ शताब्दीको राष्ट्रिय/अन्तर्राष्ट्रिय वस्तुगत एवं आत्मगत परिस्थितिमा ठोस् विश्लेषणका आधारमा क्रान्तिलाई विजयी बनाउन विकास गर्नुपर्ने रणनीति र कार्यनीतिहरूको आवश्यकतालाई एकीकृत जनक्रान्तिको संश्लेषणले पूरा गरेको छ । यो त्यतिबेला सम्भव भएको छ, जतिबेला क्रान्ति असम्भव भएको निष्कर्ष निकालेर एकातिर संसदवादी बन्ने धारा र अर्कोतिर क्रान्तिका निम्ति दुबै परिस्थिति परिपक्व नभएको निष्कर्ष निकालेर जडसूत्रीय अकर्मण्यतामा फसेको दक्षिणपन्थी धारामा नेपाली कम्युनिस्ट आन्दोलन विभक्त थियो । ती दुबैका विरुद्ध निरन्तर विचारधारात्मक एवं वर्गसंघर्षको प्रक्रियामा नै क्रान्तिको नयाँ विचारको अनुसन्धान, विकास र प्रयोगको धारा जन्मिएको हो । यो मूलतः आत्मसुरक्षावाद र अकर्मन्यताबाद र कल्पनाबाद विरुद्धको कम्युनिष्ट क्रान्तिकारी धारा हो । यसकारण एकीकृत जनक्रान्ति वैज्ञानिक कार्यदिशा संश्लेषणको प्रश्नमा नेपाली क्रान्ति र एक हदमा विश्व क्रान्तिमा समेत कोशेढुङ्गा सावित भएको छ ।
क्रान्तिकारी कार्यदिशाको प्रयोगको सन्दर्भमा ‘क्रान्तिको मार्ग बक्ररेखा हुँदै अघि बढ्छ’ भनेर कमरेड एंगेल्सले भनेझैं एकीकृत जनक्रान्तिको कार्यदिशा पनि विभिन्न कार्यनीतिक श्रृंखलाहरुको प्रयोग गर्दै अघि बढेको छ ।
हाम्रो पार्टी नेतृत्व र एकीकृत जनक्रान्तिको विचार राष्ट्रिय राजनीतिको शिखर स्थानमा स्थापित छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा हाम्रो पार्टीले दृढतापूर्वक सङ्घर्ष गर्दै आएको छ । नेपालको राजनीतिमा हाम्रो पार्टी वैकल्पिक शक्तिका रुपमा निर्विवाद रूपले स्थापित छ । वर्गीय, जातीय, लैंगिक लगायतका उत्पीडनका विरुद्धको मुक्ति संघर्षमा हाम्रो पार्टी र नेतृत्व प्रति जनताको अपार विश्वास बढ्दै गइरहेको छ । नेपाली जनता दलाल पूँजीवादी सत्ताको अधिनमा बस्न चाहँदैनन् परिवर्तनको पक्षमा छन् । एउटा निश्चित बिन्दुमा पुगेपछि शक्तिशाली जनउभार आउने सम्भावना प्रबल छ र त्यसको लागि नेतृत्व प्रदान गर्न पार्टीलाई एकताबद्ध एवं सुदृढ बनाउनु पर्छ । देशभक्त र अग्रगमनका पक्षधर सम्पूर्ण वामपन्थी र प्रगतिशील शक्तिहरूको बीचमा संयुक्त मोर्चा र एकतालाई संगठित एवम् विकसित गर्न जरुरी छ ।

देशैभरीका शहीद परिवार, बेपत्ता योद्धाका परिवार , घाइते तथा अपाङ्ग योद्धाहरूको मुक्ति, आशा, आकांक्षा र सपना पुरा हुन्छ भनेर हाम्रै पार्टीको प्रतीक्षा गरिरहेका छन् । देशभित्र आम श्रमिक, किसान, महिला, दलित, जनजाति, मुस्लिम, पिछडिएको क्षेत्र र सम्पूर्ण उत्पीडित जनताले हाम्रो पार्टीलाई समृद्ध भविष्य र परिवर्तनको आशाको केन्द्रको रुपमा हेरेका छन् । राष्ट्रिय उद्यमी व्यवसायीहरू, देशभक्त राष्ट्रवादी र सबै पार्टीमा भएका अग्रगमनका पक्षधर नेता/कार्यकर्ताहरु समेत हाम्रो पार्टीलाई आशा र भरोसाका रुपमा हेरेका छन् । देशमा नवीन सोच, चेतना र जनतालाई आशा र विश्वास दिनसक्ने माहासचिव विप्लवको नेतृत्वमा नेकपालाई समाजवाद स्थापना गर्न संसारको कुनै पनि शक्तिले रोक्न सक्नेछैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।