३ आश्विन २०८१, बिहीबार

प्राकृतिक चिकित्सा जीवन–पद्धति हो

0

        डा. विनोद पौडेल

 

नेपाल सरकारले २०८१ असार २० गतेदेखि ‘राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस’ मनाउने निर्णय गरको छ । त्यो अवसर पारेर यो ३ घण्टाको पाठ्यक्रमलाई हामीले संक्षिप्तिकरण गरेर १ घण्टामा प्रस्तुत गरेका छौं ।
आजभन्दा ३० वर्ष अघिसम्म विश्वमा मानिसहरूको मृत्युको प्रमुख कारण क्षयरोग, प्लेग, पोलियो, औलो, हैजा, टाइफाइड, बिफर, कुष्ठरोग हुन्थ्यो । आज स्वास्थ्य विज्ञानको प्रगतिको कारण यी सरुवा रोगहरूको महामारी घटेर गएको छ । तर नसर्ने रोगहरू महामारी जसरी नै फैलिएका छन् । विश्व स्वास्थ्य सङ्गठनको एउटा प्रतिवेदन अनुसार विश्वमा मुटु रोगको कारण १५.५ प्रतिशत, मष्तिस्क–घातको कारण ११.१ प्रतिशत, अर्बुद्ध रोगको कारण ९.४ प्रतिशत, मधुमेहको कारण ५.६ प्रतिशत, बिर्सने रोगले २.५ प्रतिशत झाडा–पखालाको कारण २.५ प्रतिशत, क्षयरोगको कारण १.३ प्रतिशत र कलेजो रोगको कारण १.२ प्रतिशतको मृत्यु हुने गरेको छ । यी रोगहरू बढ्नुको कारण खराब खानपान, प्रदुषण र जीवनशैली कारक रहेका छन् ।
हाम्रो आफ्नो अनुभवले के बताउँछ भने प्राकृतिक चिकित्सालयमा आएपछि मधुमेह घट्ने गरेको र घरमा पुगेपछि बढ्ने गरेको देखिन्छ । यसबाट खराब खानपान र उठबस नै मधुमेहको कारण हो भन्ने देखाउँछ । नेपालका कतिपय समुदायका महिलाहरू ५० वर्ष नपुग्दै हाँसजस्तै ढलपल गरेर हिंड्छन् । त्यसको कारण शरीरको तौल धेरै हुनु हो । कम्मर र गोडाको हाडको भारवहन क्षमताभन्दा शरीरको तौल धेरै भएपछि घुँडा, मुटु सबैतिर समस्या पैदा हुनजान्छ । त्यसकारण तौल घटाउन आवश्यक हुन्छ ।
कोभिड–१९ महामारीको कारण विश्वमा ६६ लाख ९८ हजार ४७० जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनका अनुसार नेपालमा वार्षिक सरदर ६ हजार ८४० जनाले आत्महत्या गर्छन् । खराब खाना र खराब उठबस तथा सोच्ने तरिका पनि आत्महत्याको घटनामा एउटा कारण हुन्छ । विकसित देशहरूमा ९० µg/m3 भन्दा बढी सूक्ष्मकणहरू हावामा फैलिएमा स्थानीय सरकार वा सरोकारवाला निकायले जरिवाना वा क्षतिपूर्ति तिर्नुपर्छ । नेपालमा कसैलाई जवाफदेही बनाइन्न । अतिसूक्ष्मकणहरू रगत, स्वास–प्रस्वास भएर शरीरमा प्रवेश गरेपछि शरीरले बाहिर फाल्न सक्दैन । जसरी गोली वा बमका सूक्ष्म छर्राहरू शल्यक्रिया गरेर पनि निकाल्न सकिन्न ।
हाम्रो आमाशयमा हाइड्रोक्लोरिक एसिड नामको अम्ल हुन्छ । यसले खाना पचाउने काम गर्दछ । समयमा खाना खाइएन भने त्यो अम्ल (Acid)ले आन्द्रामा घाउ बनाउन थाल्छ । त्यसलाई ‘अल्सर’ भनिन्छ । असल खानपान र उठबसले खुशीहर्मोन (Serotonim) सृजना हुन्छ । ठूलाबडाभन्दा भुईंमान्छेहरू खुशी देखिनुको कारण त्यही हो । नृत्य, खेल, योगासन, भ्रमण, दौड आदिले खुशी वा तनाव नहुने हर्मोन पैदा गर्दछन् । ध्यान, आध्यात्मिक सोच, खानपान आदिले त्यसो हुनसक्छ ।
छोड्न नसक्ने हरेक आदत वा बानी–व्यवहार कूलत हो । गाँजा वा मदिरा सेवन मात्रै कूलत होइन । पीरो खानेकुरा, चाउचाउ, पोल्ट्री मासु, कोकाकोला, चिनी, नुन, पानीपुरी, पत्रु–खानेकुराको कुलतले महामारीको रूप लिएको छ । अरबमा सस्तो पेय पदार्थ र पोल्ट्रीफर्मको मासु सेवनको कारण युवाहरूमा मुटुरोग तथा हाडजोर्नीको रोगले महामारीकै रूप लिएको देखिन्छ । पत्रु खानाहरू रोगका कारण हुन् भने फलफूल, सलाद, अङ्कुरित गेडागुडी, तरकारी औषधी हुन् । बेमौसमी तरकारीमा विषदी धेरै प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले मौसम अनुसारका तरकारी खाने, फलफूल काँचो ल्याएर घरमा पकाएर खाने गर्दा विषदीबाट धेरै हदसम्म बच्न सकिन्छ । चक्की आटा, पालिस नगरेको (बोक्रामात्र फालेको) चामल खाँदा फाइबर पाउन सकिन्छ । तयारी खानामा बिग्रन नदिने रसायन (Preservatives) प्रयोग गरेको हुन्छ । विकसित देशमा मानव स्वास्थ्यलाई नकारात्मक असर नगर्ने समय र स्तरको रसायन प्रयोग गरिन्छ । नेपालमा त्यसको जाँच नै गरिन्न । कारवाहीको कुरा त टाढै छ । विश्व स्वास्थ्य सङ्गठनले कोकाकोला, पेप्सीकोलाजस्ता पेय पदार्थले अर्बुद्धरोग (क्यान्सर) हुनसक्ने चर्चालाई भर्खरैमात्र पुष्टि गरेको छ । फलफूल र तरकारीलाई नुन–पानीमा डुबाएर मात्रै प्रयोग गर्दा पनि ७० प्रतिशत विष सेवनबाट बच्न सकिन्छ । पोल्ट्री फर्मको मासु सेवनको कारण किटाणु प्रतिरोध औषधी (Antibiotics)ले काम नगर्ने वा बढी मात्रा प्रयोग गर्नुपर्ने डरलाग्दो अवस्था सृजना भएको छ ।
प्राकृतिक चिकित्सा औषधीविहिन उपचार पद्धति हो । यसले जीवनशक्ति (Vitality), फोहोर सञ्चय (Toxemia) र प्रतिरोध क्षमता (Self
Helping) प्रणालीको अध्ययन गर्दछ । पृथ्वी, जल, तेज, वायु, अकाश पञ्च–तत्व ब्रह्माण्डमा वा हाम्रो वरपर छन् । शरीरमा यसको सन्तुलन हुन आवश्यक हुन्छ । त्यसमा घटबढ भयो भने रोग लाग्छ । त्यो घटबढलाई सन्तुलन गराउनु भनेको नै उपचार हो । फोक्सोतिर भाइरसले आक्रमण गर्न खोज्यो भने खोकी लाग्छ । कहिले ज्वरो आउँछ । धूलो, धुवाँ, ढुसी आउँदा खोकी लाग्नु संवेदशील भएर हो । फोक्सोलाई बचाउन शरीरले प्रतिरोध गरेको हो । सतर्क हुनुपर्छ । जनावरले रोग लागे खाँदैनन् । मान्छेले कोच्याएर खुवाउँछ । शरीरको शक्ति रोगसँग लड्न होइन खान पचाउन खर्च हुन्छ । त्यसैले ‘भोक लागे खाना, तिर्खा लागे पानी, रोग लागे उपवास’ आयुर्वेदले भनेको हो ।
तातोले रक्त नलीहरू तन्किन्छन् र चिसोले खुम्चिन्छन् । तातोले रक्त प्रवाह छिटो हुन्छ । त्यसो हुँदा शरीरलाई नचाहिने वा फोहर तत्व पनि शेलसम्म पुग्न सक्छ । चिसोले रक्त नलीहरू खुम्चिँदा फोहर तत्वहरू बाहिर निस्कन्छ । त्यसो भएर चिसो र तातो प्रयोग गरिन्छ । जिङ्क नामक तत्वले रोग प्रतिरोध क्षमता (Immunity Power) बढाउँछ । जुन तत्व माटोमा पाइन्छ । एउटै माटोमा रोपेका कागती, मेवा, लसुन, खुर्सानीले अलग–अलग स्वाद दिन्छन् । ती सबै तत्व माटोमा छन् । माटोमा अथाह तत्वको भण्डार छ । हामीले के लिने भन्ने प्रश्न मुख्य हो ।
गुर्जो, अदुवा, प्याज, ज्वानो, मह, कोदो, फापर, दूध–दही, कागती, बेसार, तुलसी आदिमा रोग प्रतिरोधी तत्व पाइन्छ । कोभिड–१९मा हामीले १ हजारभन्दा धेरै बिरामीको सेवा ग¥यौं । यहाँ आएका एकजना पनि बिरामीको मृत्यु भएन । त्यसकारण प्राकृतिक चिकित्सा पद्धति सही रहेको मान्न सकिन्छ ।
शरीरमा ‘गुड कोलस्टोल’ र ‘ब्याड कोलस्टोल’ हुन्छ । बजारको तेलमा खराब कोलस्टोल हुनसक्छ । बाक्लो तेलमा खराब कोलस्टोल हुन्छ भनिन्छ । पश्चिमाहरूले तोरीको तेल बाक्लो हुने भएको कारण अस्वास्थ्यकर हुन्छ भन्छन् । तर श्रम गर्नेलाई समस्या हुँदैन (पश्चिमी देशमा तोरी उत्पादन नहुने भएकोले एशियाली तेलबजार कब्जा गर्न त्यसो भनिएको हो भन्ने नयाँ बहस पनि छ– सम्पादक) । पृथ्वीमा चुम्बकीय शक्ति (Magnetic Force) हुन्छ । उपचारमा त्यसको प्रयोग हुँदै आएको छ । असल खानपान, असल उठबस र पञ्चतत्वको प्रयोग गरेर बिरामी हुनै नदिने उपचार पद्धति प्राकृतिक चिकित्साको उद्देश्य हो । आजको समाजमा रोगको उपचार कम, व्यापार धेरै भइरहेको छ ।
(२०८१ असार २० गते सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर, नवलपुरको सभाकक्षमा प्रथम प्राकृतिक चिकित्सा दिवसमा व्यक्त विचारको सम्पादित अंश)
स्राेत: जनपत्रिका मासिक १३ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।