३ आश्विन २०८१, बिहीबार

सुदर्शन पाण्डे माटोसँग जोडिएका मान्छे हुन्

0

             भाग्यनाथ गुप्ता

 

तपाईहरु सुदर्शनराज पाण्डेको पार्टीको मान्छेहरु हुनुहुँदो रहेछ । पाण्डे त मेरो ‘खास मित्र’ हुनुहुन्छ । हाम्रो बिचमा गहिरो मित्रता छ । उनी केही दिन अघि मेरो घरमा आएका थिए । एउटा किताब निकाल्नु पर्नेछ, के कसो गर्ने गुप्ताज्यू भनेका थिए । त्यो काम तपाईहरुले गरिदिनसके राम्रो हुन्थ्यो ।
पाण्डे र मैले २५ वर्ष अगाडि वीरगञ्जबाट पत्रिका शुरु गरेका थियौं । उहाँ माटोसँग जोडिएको मान्छे हो । मैले हिन्दी दैनिक हिन्दुस्तानमा लेख्थें । बेलाबेलामा दिनमानमा पनि लेख्थें । पछि वीरगञ्जबाट हिन्दी भाषामा ‘लोकवार्ता’ निकालें । हिन्दी भाषाको अचेत साप्ताहिकमा पनि लेख्थें ।
सुदर्शनले त्यही समयमा नेपाली भाषामा ‘दिनारम्भ’ साप्ताहिक निकाल्नु भएको थियो । मैले लोकवार्ताको केही अङ्क मात्र निकाल्न सकें । खर्च जुटाउन नसकेर बन्द भयो । त्यसपछि अचेलको सम्बाददाता भएर काठमाडौंमा काम गरें । यो २०३६ सालतिरको सन्दर्भ हो ।
साथीहरुले कविता सङ्ग्रह निकालौं भनेका छन् । वीरगञ्ज साहित्य परिषद जिउँदै छ । जमाना राम्रो छैन । इमान्दारको मूल्य छैन । सुदर्शनले कार्यक्रम राख्नुभएको थियो । कार्यक्रममा श्रोता र वक्ता दुवैको अभाव भयो । पत्रकार साथीहरु नै आएनन् । पाण्डेले मलाई ठूलो गुन लगाएका छन् । म कलङ्कीमा बिरामी भएर मृत्युको मुखमा पुगेको बेला उपचार गरेर घरमा लगे । स्याहार गरेर स्वास्थ्य बनाएर घर पठाएका थिए । सुदर्शन राम्रो मान्छे हुन् । तपाईहरु जनयुद्धमा लड्नुभयो । अरुले त्यसरी बलिदान गरेको छैन । गणतन्त्र र संघीयता तपाईहरुले गर्दा आएको हो । तर आज जनयुद्धको बलिदान खेर गयो ।
मधेश प्रदेशमा सबैभन्दा पहिले एमसीसीको विरोध गर्ने भाग्यनाथ हो । एमसीसी नेपालमा आउनेबारे अमेरिकामा चर्चा चल्दै गर्दा मैले त्यसको विरुद्ध बोलेको थिएँ । वीरगञ्ज टेलिभिजनमा प्रष्ट पारेको थिएँ । मलाई नेपाली, अङ्ग्रेजी, हिन्दी, उर्दू र भोजपुरी भाषाको ज्ञान छ । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम. ए. उत्तीर्ण गरेको छु ।
मैले ‘रुस-चीन विवाद’ विषयमा सोधपत्र तयार गरेको हो । जसमा सोभियत संघ विभाजित हुन्छ भनेको थिएँ । मेरो सोधपत्र २०३८-२०४० सालको हो । सोध भने पटना विश्वविद्यालयबाट गरेको हो । पटनामा शुरुमा समस्या भयो । सहायक कुलपति र विभागीय प्रमुखले कलम, कापी, कार्बन सबै आवश्यक सामग्री दिनु भन्ने विश्वविद्यालयको परिचय-पत्र पनि बनाइदिएका थिए ।
देशमा समस्या भएर, प्रचण्डमा समस्या भएर नै विप्लव नेतृत्वको पार्टी बनेको हो । जनताको भलाईको लागि हामी एकसाथ यात्रा गर्न सक्छौं । कुरा मिलेन भने फेरि अलग ढङ्गले यात्रा गरिन्छ । गङ्गामा जति पटक नुहाएर आएपनि प्रचण्ड सुध्रने सम्भावना छैन । तपाईहरुको प्रचण्डसँग सहकार्य छ । त्यसको परिणाम के हुने हो त्यसमा मेरो प्रश्न छ ; आशङ्का पनि छ । तपाईहरुले त्याग, बलिदान गर्नुभएको छ । अरुले त्यति गरेका छैनन् । म संविधान मान्दिन । यो संविधान जलाएको मान्छे हूँ ।
एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदा हामी वीरगञ्जबाट काठमाडौं गएर विरोध प्रदर्शन गरेका थियौं । हामीहरुलाई  गिरफ्तार गरेका थिए । २०७२ सालको संविधान जलाउने हामी नै हो । तपाई र हाम्रोबिचमा फरक सोचहरु छन् । तर आ-आफ्नै प्रकारले आन्दोलनमा छौं । तपाईहरुको कार्यक्रममा विचार राख्दा व्यापक समर्थन भएको थियो । एमसीसीको डलरको शक्तिले काम गरेको छ । सबै बिक्री भएका छन् । वीरगञ्ज त जनतालाई दबाएर राखेको ठाउँ हो । तपाईहरु लडिरहनुभएको छ । मेरो शुभकामना छ । हामी एउटै समूहमा वा पार्टीमा नभए पनि सहकार्य गर्न सक्दछौं । जनताका शक्तिहरु मिल्न आवश्यक छ । त्यसको लागि प्रयास गर्नु राम्रो हो । तर सबै बिग्रेका छन्, देशमा प्रतिपक्ष नै छैन । यो निकै खतरापूर्ण अवस्था हो । हामी खतरामा फसेका छौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।