३० आश्विन २०८१, बुधबार

‘वर्तमानको संकट समाधानका लागि समाजवाद अपरिहार्य’

0

दाङ । वर्तमान राष्ट्रिय संकटको समाधानका लागि समाजवाद अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
वर्तमान राष्ट्रिय संकटको समाधान र नेपाली बिशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितिको आयोजनामा आयोजित अन्तरक्रियामा पेश गरिएको अवधारणा पत्रमाथी टिप्पणी गर्दै टिप्पणीकारहरुले समाजवाद अपरिहार्य रहेको तर कस्तो प्रकारको समाजवाद भन्ने निष्कर्षमा छिट्टै पुग्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

अवधारणा पत्रमाथी बोल्दै तुलसीपुर जेसिजका महासचिव कमल प्रकाश शर्माले स्रोत साधनमाथी मुठ्ठीभर वर्गको हालीमुहाली अन्त्य नहुँदासम्म श्रमिक वर्गको अवस्था नबदलिने बताए ।
उनले भने – ‘नेपालका स्रोत साधनमाथी मुठ्ठीभर शासक वर्गको हालिमुहाली रहेको छ । यो अवस्था नबदलेसम्म श्रमिक वर्गले अधिकार पाउने छैनन् । राज्यसत्तामा श्रमिक वर्गको अधिकार सुनिश्चित नहुँदासम्म नेपाली समाजमा समृद्धिको गति पैदा हुँदैन । अहिलेको राजनीतिक संकट समाधानको उत्तम विकल्प समाजवाद नै हो।’

यस्तै अवधारणापत्र माथी बोल्दै तुलसीपुर-१९ का वडा अध्यक्ष प्रेमनाथ योगिले सबै राजनीतिक दल एकतावद्ध भएर अहिलेको संकटको निकास दिने सन्दर्भमा लाग्नुपर्ने बताए ।

अवधारणापत्रमाथी बोल्दै नेकपा (माओवादी केन्द्र) १९ इन्चार्ज दल बहादुर रावतले माओवादीका केही नेताहरुले नाम मात्रैको समाजवाद व्याख्या गरेकाले अब जनतालाई व्यवहारमा समाजवाद पुष्ठि गर्नुपर्ने बेला आएको बताए ।

बिश्वका समाजवाद जस्तै होइन यहाँ नेपाली जनतालाई नेपाली माटो सुहाउँदो समाजवाद चाहिएको इन्चार्ज रावतले बताए ।

यस्तै अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सीले अहिलेपनी महिलाहरु पृतिसत्तात्मक शासनको जाँतोबाट पिल्सिरहनु परेकाले यसको निकास केवल समाजवादले मात्र दिन सक्ने बताइन् ।

यस्तै साना किसान सहकारी संस्थाका अध्यक्ष चित्रा धितालले अहिलेको राज्यले कृषिका बारेमा ठोस योजना तर्जुमा गर्न नसकेको बताइन् ।
उनले झोलामा फाइल बोक्ने किसानहरुलाई राज्यले संरक्षण गरिरहेको आरोप समेत लगाइन् ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथी बोल्दै नेकपा (एमाले) तुलसीपुर-१८ का वडा अध्यक्ष मुकेश वलीले मुलुक निकै संकटमा परेको बताए ।
उनले भने – ‘अहिलेको राजनीतिक संकट राजनीतिक दलका कारणले मात्रै होइन, कर्मचारीतन्त्रले देश बिग्रेको हो । यो नेकपाले थालनी गरेको अभियानको पहिलो पाइला हो , यो एकदिन अवश्य पूरा हुन्छ । समाजवाद जनताले चाहेका छन् । जनतालाई पटकपटक धोका दिएर नेता र जनताको सम्बन्ध बिग्रेको हो । देश बनाउनु छ भने अब कम्युनिस्टहरु फुटेर होइन जुटेर समाजवादको यात्रा सुरु गर्नुपर्दछ । ८५% कम्युनिस्ट जनमतलाई १५% कांग्रेसले नचाइरहेको छ, यो लाजमर्दो विषय हो ।’

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं.२ का सचिव हिम बहादुर डाँगीले बिश्वका श्रमिकहरु होइन पहिले नेपालका कम्युनिस्टहरु एक हुन आग्रह गरेका थिए ।
उनले भने – ‘विपिको समाजवाद, अन्य पार्टीका समाजवाद र नेकपाले अघि सारेको नेपाली बिशेषताको समाजवाद केवल सत्ताको भर्याङ बन्नु हुँदैन । कुनैबेला नागरिकले मेरो राजा मेरो देश प्राण भन्दा प्यारो छ भन्दै थिए, कुनैबेला हामीले ज्ञाने चोर देश चोर भन्न लगायौँ अहिले फेरि हामी बिग्रेपछि जनताले राजा आउ देश बचाउ भन्न थालिसके, यसको कारण को हो ? समाजवादको नाराले मात्रै हुँदैन, जनताको जिवनस्तर उठाउन आवश्यक छ।’

कार्यक्रममा बोल्दै बिजौरी उधोग बाणिज्य संघका अध्यक्ष रश्मीराज खड्काले मुलुकमा व्यापार, व्यवसाय चौपट हुने स्थिती भयावह रहेको बताए ।
उनले श्रमिकलाई काम गरि खान पाउने व्यवस्था नै जनताले चाहेको बताए ।

कार्यक्रममा बोल्दै मा.वि. कुटेचौरका प्रअ टंक केसीले श्रम गर्ने संस्कृतिको प्रवर्द्धन गर्न आवश्यक रहेको वताए ।

कार्यक्रममा ग्रेट अरनिको मा.वि.का प्रअ बिष्णुप्रसाद देवकोटाले पटकपटक राजनीतिक सत्ता परिवर्तन भएतापनि नेपाली जनताको आर्थिक जीवन परिवर्तन नभएको बताए ।

प्रअ देवकोटाले राजनीतिक नेतृत्वमा छलकपट गर्ने, ढाँटछल गर्ने प्रवृति, जनतालाई धोका दिने प्रवृतिले जनताले दिक्क भएर प्रतिगामी शक्तिलाई साथ दिन थालेको बताए ।

मानवअधिकारकर्मी निर्मल नेपालीले यो देशको अर्थतन्त्र ७/८ जना मान्छेको कब्जामा रहेको ठोकुवा गरेका हुन् ।

उनले विभेदरहित समाजको अन्त्य गर्नु नै समाजवादको अनिवार्य सर्त हुनुपर्ने मान्यता राख्नुपर्ने समेत बताए ।

कार्यक्रममा गुरुजजुर मा.वि.का पुर्व प्रअ विष्णुप्रसाद आचार्यले समाजवादी बन्ने हो भने पहिले घरपरिवारवाट सुरु गर्नुपर्ने बताए ।
उनले भने– ‘अहिले मुलुकमा राजनीतिक संकट छ भन्ने कुरा अहिलेका सत्ताधारीले नै भन्ने गरेका छन् । दिनानुदिन काठमाडौंका सडकमा जनताले प्रदर्शन गरिरहेका छन् । जनता चरम निराशा छ । हामीले यसको निकास समाजवादबाटै दिनुपर्दछ तर यहाँ समाजवादका बारेमा गलत बुझाई छ । हामी सिद्धान्तमा त समाजवादी भयौं तर व्यवहारमा भएनौँ । अब हामी घरपरिवारबाटै समाजवादी हुनुपर्दछ । श्रम गरेर खाने संस्कृतिको विकास गर्नुपर्दछ । सबै खुशि हुने, सबै समृद्धि हुने कुरा उठाउने कुरा नेकपाको यो अभियान सकारात्मक छ ।’

कार्यक्रममा प्रस्तुत आधारपत्रमाथी टिप्पणी गर्दै नेकपा मसालका नेता एवम दाङका पुर्व प्रवक्ता भरत भण्डारीले बिनोद चौधरीलाई समाजवाद नचाहिने तर्क गरे ।
उनले भने– ‘अहिलेको राज्यसत्तामा श्रमिक वर्गको प्रतिनिधित्व छैन् , त्यसैले समाजवाद हामीलाई चाहिएको छ । विनोद चौधरीलाई किन चाहिन्छ समाजवाद? वसनोद चौधरी राष्ट्रिय पुजिपती होइनन्, उनी साम्राज्यवादी पुजीका संरक्षक हुन् । राज्यसत्ताको संकटका बारेमा कुरा गर्नैपर्दैन, संकट शिखरको चुलीमा छ । अब यहाँ समाधानका बिषयमा छलफल चलिरहेको छ । बल प्रयोगबाट मात्रै समाजवाद आउँछ । दया, माया करुणाले समाजवाद आउदैन । समाजवादको बिषयमा बहस चलाउने पार्टीको कदमलाई सलाम छ, राम्रो गर्नुभयो । हामीपनि अब यो अभ्यास गर्ने सोचमा छौँ।’

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले अहिलेको समाजको वर्गचरित्रको अध्यन गर्न आवश्यक रहेको बताए ।
उनले भने– ‘हामीले अहिलेको नेपाली समाजको वर्गचरित्रको नयाँ ढंगले अध्ययन गरेका छौँ । हिजोको क्रान्तिको आधारभुत वर्ग आज नयाँ ठाउँमा पुगेको छ । समाजमा मध्यम वर्गले ठूलो हिस्सा ओगटेको छ । आजको समाजवादको चर्चा गर्दा वर्गचरित्र अध्ययन पनि गर्नुपर्दछ । हाम्रो निष्कर्ष भनेको यो अहिलेको संकटको एकमात्र समाधान भनेको नेपाली बिशेषताको समाजवाद नै हो ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले संसदीय व्यवस्थाको अन्त्य नगरी नेपालमा समाजवाद लागू गर्न नसकिने बताए ।

उनले कतिपय संसदीय कम्युनिस्ट पार्टीहरुले अहिलेकै संसदीय चरित्रबाट समाजवाद आउँछ भन्नू झुट कुरा भएको समेत बताए ।

यस्तै अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीले मुलुकको राजनीतिक संकटको समाधान नेकपाले अघि सारेको नेपाली बिशेषताको समाजवाद नै उत्तम विकल्प भएको ठोकुवा गरेका हुन् ।

कार्यपत्रमाथी उठेका प्रश्नहरुको जवाफ दिँदै पिबिएम शितल सीले भने– ‘नेपालमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवम तमाम खाले समस्याहरु छन् भन्ने कुरामा सबै सहमत नै छन् । तर यहाँ समाधानका बिषयमा आ-आफ्नै धारणा छन्, तर ती अधिकांश धारणाहरु समाजवाद लक्षित छन् जो सकारात्मक कुरा हुन् । कतिपयले ०४७ सालको संविधान फर्काएर संकटको समाधानको कुरा गरेका छन्, कतिपय प्रतिगामी शक्तीले राजसंस्था फर्काउने कुरा गर्दछन र अर्को तप्का यथास्थितिवादी तप्का छ । यी कुनैपनी तरिकाबाट नेपालको संकट हल गर्न सकिदैन । हाम्रो कुरा नेपालमा अग्रगामी धारा छ जसले अहिलेको राजनीतिक संकटलाई समाजवादी धाराबाट समाधान गरौं भन्नेछ, यो कुरा नै सत्य र अति उत्तम जनताको अपेक्षासहितको समाधानको तरिका हो । त्यसैले नेपालमा संसदवादी, क्रान्तिकारी, कम्युनिस्ट सबैले समाजवाद भजाएर सत्तामा पुगेर जनतामाथी ब्रम्हलुट मच्चाउने गरेका छन् । समाजवादी राज्यसत्ता नेपाली जनताको दशकौंदेखिको चाहना हो, त्यसलाई परिपुर्ति गर्ने समय आएको पार्टीको बुझाई हो ।’

नेता शितलले नेपाली बिशेषताको समाजवाद प्राप्तिको बाटो बल प्रयोग नै भएको बताए ।
उनले फेरि भने– ‘समाजवादका लागि बल प्रयोग अनिवार्य सर्त हो तर हामिले नेपालको कम्युनिस्ट जनमत, देशभक्त शक्तिको उपस्थिति, वैदेशिक हस्तक्षेप वा अमेरिकन हस्तक्षेप,एमसीसि, एसपीपी लगाएतका अतिक्रमणलाई हेरेर मोर्चावन्दीको कुरा पनि अघि सारेका छौँ । हामीले अहिलेको संकटलाई निकास दिन तिनवटा विकल्प दिएका छौँ । पहिलो विकल्प अहिलेको संविधानलाई संशोधन गरि समाजवादी संविधान बनाऔं, दोस्रो कुरा व्यवस्था चुन्ने अधिकार जनतालाई प्रदान गरौं र अन्तिममा जनताको अपेक्षालाई लत्याउने काम गरियो भने बल प्रयोग, जनसंघर्षबाट भएपनी समाजवाद प्राप्तिको जनताको चाहनालाई पूरा गरिछाड्ने हाम्रो पार्टीको प्रतिबद्धता हो ।’

नेता शितलले समाजवादी बाटोमा अग्रसर रहन सबै जनसमुदायलाई अपिल समेत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर समितिका सेक्रेटरी रुद्र सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला कार्यालय सदस्य भुवन सीले गरेका थिए भने स्वागत मन्तव्य पार्टी जिल्ला सदस्य मदन सीले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।