३० आश्विन २०८१, बुधबार

नेपालका शासकहरु भोकाएका सुँगुर जस्ता छन् : सविन

युवा संगठन नेपाल घोराही उपमहानगर कमिटीको अध्यक्षमा विजय सी निर्वाचित

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले नेपालका शासकहरु भोकाएका सुँगुरजस्ता भएको बताएका छन् ।
शनिबार पार्टीको सहायक संगठन युवा संगठन नेपाल घोराही उपमहानगर समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

शासकहरुले बालुवाटारको सरकारी जग्गा बेचेर खाएका छन् ।‘ उनले भने, ‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर, भुटानी शरणार्थी बनाएर बेचेर खाने शासक छन् । यहाँका शासकहरु कुइन्टलका कुइन्टल सुन तस्करी गर्नेहरु छन् । सहकारीमा बचत भएको जनताको अर्बौं रकम लुटेर खाने शासक छन् । गिरिबन्धु टि स्टेट बेचेर खाने शासकहरु नै सत्तासीन छन् । यस्तो परिस्थितिमा कसले कसलाई जेल हाल्ने ? रवीले सहकारीमा ठगी गरेकै छन् तर राज्यले जेल हाल्न सक्दैनन्, त्यो किन भने यहाँ सबै लुटेराहरु छन् । त्यसैले एकले अर्काका फाइल सुरक्षित गरेका छन् । प्रचण्ड जीका मान्छेहरु पनि भ्रष्टाचारमा डुबेका छन् । वर्षमान पुन त एमसीसीका मतियार नै हुन् । यी शासकहरु भोकाएका सुँगुर जस्ता छन् ।’

युवाले आफ्नो जीवन, परिवार र समाज र देशको बारेमा गम्भीर ढंगले सोच्नुपर्दछ ।’क्रान्तिकारी युवाहरुलाई प्रशिक्षित गर्दै उनले भने, ‘यो देश बदल्ने हुटहुटी बोकेका युवापंक्ति अग्रपंक्तिमा हुनुहुन्छ जसको नेतृत्व युवा संगठनले गरिरहेको छ । ती युवा श्रम, अनुसन्धान र उत्पादनमा सहभागी छन् । यहाँ क्षमता अनुसार सम्भावना र अवसर नपाएपछि विदेशिएका युवाहरु छन् । तेस्रो यहाँ लम्पट प्रकारका युवाहरु छन् जसलाई आफ्नो जीवन, परिवार र देशको बारेमा कुनै चासो चिन्ता छैन । यी युवाहरु यो अहिलेको व्यवस्थाका कारण लागु औषधमा लठ्ठिएका छन् । यसरी हेर्दा अर्को चौथो प्रकारका युवाहरु लोकप्रीयतावादी नाराले भ्रममा छन् । ती युवाहरु रवि, बालेन, दुर्गा प्रसाईजस्ता फण्टुसहरुका पछाडि लागेका छन् । त्यसैले युवाहरुले गाउँ समाजमा अभियान चलाउदै क्रान्तिकारी युवाहरु गोलबन्द गर्दै दलाल पुजीवादी व्यवस्थाको विघटनका निम्ति आन्दोलनको आँधिबेहरी सिर्जना गर्नुपर्दछ ।’

नेता सविन सीले समाजवादले मात्रै क्षमता अनुसारको कामको ग्यारेन्टी गर्ने बताए ।

उनले भने,– ‘यो व्यवस्था रहेसम्म यस्ता लुटेराहरु जन्मिरहन्छन् । अब क्रान्तिकारी युवाहरुले यो व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाका लागि निर्णायक क्रान्तिको तयारी गर्नुपर्दछ । कस्तो समाजवादी व्यवस्था भन्ने विषयमा युवाहरुले बुझ्नुपर्दछ । समाजवादमा क्षमता अनुसारको कामको ग्यारेन्टी हुन्छ । राज्यले प्रत्येक नागरिकलाई रोजगारी दिन सक्दछ । सबै नागरिक श्रममा सहभागी हुँदा अनिवार्य रोजगारीको सिर्जना हुन्छ त्यसका लागि समाजवादी व्यवस्था निर्माण गर्नुपर्दछ । हाम्रो पार्टीले नेपालको अहिलेको दलाल पुजीवादको विकल्पमा नेपाली विशेषताको समाजवाद प्रस्ताव गरेको छ ।’

हामीले पार्टीमा समाजवादको अभ्यास गरिरहेका छौँ, नेता सविनले फेरि भने,– ‘श्रम, संघर्ष, उत्पादन, अनुसन्धान पार्टीको आन्तरिक जीवनमा लागू गरेर सफलतातिर गइरहेका छौँ । हामीले सबै नेताकार्यकर्तालाई श्रम र उत्पादन एवम संघर्षमा सहभागी बनाएका छौँ । हामीसंग निराशाको खेती गर्ने नेताकार्यकर्ताको पंक्ति छैन । हामीले धान फलाउने राजनीतिको सुरुवात गरेका छौँ, यसको ठूलो महत्व छ । हामी हाम्रो श्रम र पौरखको बलमा यो देशलाई आत्मनिर्भर बनाउने अभिभारा लिएका छौँ । निश्चित रुपमा हामीले पार्टीको आन्तरिक जीवनमा समाजवादको अभ्यास गरिरहेका छौँ ।’

यस्तै सम्बोधनका क्रममा नेता सविनले नेपालका सम्पूर्ण माओवादी, कम्युनिस्ट एवम समाजवादीहरु एक ठाउँमा उभिनुपर्ने ऐतिहासिक आवश्यकता रहेको बताए ।
उनले समाजवादका लागि माओवादीहरु, प्रचण्ड जीहरु तयार नभए एकता नहुने समेत जिकिर गरेका छन् ।

नेता सविनले एमालेका महासचिव शंकर पोख्रेलले केपी वलीलाई खुशी पार्न ऐतिहासिक माओवादी जनयुद्धलाई हिंसा भनी गरेको टिप्पणी तत्काल सच्याउन आग्रह गरेका छन् ।

उनले भने – ‘शंकर पोख्रेलले माओवादी जनयुद्धलाई हिंसा देख्ने कुरा कसरी आयो? केपी वलीलाई खुसी पार्न शंकर जीले माओवादी जनयुद्धप्रति जुन टिप्पणी गरेका छन्, त्यो निन्दनीय छ । साम्राज्यवादको इशारामा प्रतिक्रियावादी सत्ताको बलमा शंकर चिच्याइरहेका छन् । माओवादी जनयुद्ध अहिलेसम्मका आन्दोलन मध्य राष्ट्रिय मुक्ति आन्दोलनको सर्वश्रेष्ठ आन्दोलन हो, यसका विरुद्ध जो कोहि आउँछ लडाइ जारी छ, लडिन्छ ।’

यस्तै सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपाकी केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा फ्याक्सन इन्चार्ज सम्झना सीले क्रान्तिकारी युवाहरुले अग्रगामी सोच, ऊर्जा र साहसका साथ चुनौतीहरूको सामना गर्दै परिवर्तनको यात्रामा कहिल्यै पछाडि नहट्ने अठोट, समाजका समस्याहरूको समाधानको खोजी र नयाँ बाटोहरूको निर्माणको यात्रालाई सफलतासम्म पुर्‍याउन निर्देशित गरेकी हुन् ।

यस्तै सम्मेलनलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ २ नं.निर्वाचन क्षेत्र इन्चार्ज पाटन सीले साम्राज्यवादी र प्रतिक्रियावादीहरुले महान माओवादी जनयुद्धका विरुद्ध चलखेल गरेको बताए ।
उनले भने– ‘ जनयुद्धका विरुद्धको चलखेलका विरुद्ध फेरि एकपटक युवा आन्दोलनलाई जुझारु ढंगले उठान गर्नुपर्ने बेला आएको छ । युवा दस्ता हाम्रो पार्टीको मेरुदण्ड हो । जनताले संसदीय व्यवस्थाको विकल्प खोजेका छन्, जो क्रान्तिका लागि अनुकुल कुरा हो । युवाशक्तिलाई व्यवस्थित ढंगले क्रान्तिका लागि सुसज्जित गर्ने हो भने समाजवाद सन्निकट छ ।’

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले समाज, राष्ट्र र संसारलाई रूपान्तरण गर्ने सपना बोकेका सबैको साझा यात्रालाई युवा संगठनले कुशलतापूर्वक नेतृत्व गर्न सुझाव व्यक्त गरेका हुन् ।

युवा संगठन नेपालको प्रथम सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीका घोराही उपमहानगर कमिटीका इन्चार्ज विकास सीले क्रान्तिकारी युवाहरु नयाँ विचार, नयाँ दृष्टिकोण, र नयाँ जोशका साथ अघि बढ्नुपर्ने र आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, समाज र देशका लागि योगदान दिने प्रण गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जिवनी सीले युवाहरूको यो उत्साह र अठोटले समाजमा न्यानो प्रकाश फैलाउन र सकारात्मक प्रयासले देशलाई उज्ज्वल भविष्यतर्फ डोर्याउन शुभकामना व्यक्त गरिन् ।

यस्तै सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै समाजवादी थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य चुलुवा सीले समाजवादी विचारधारालाई अझ सुदृढ गर्दै श्रमिक वर्गको भविष्यलाई सही मार्गमा डोर्याउन संगठनले महत्वपूर्ण भुमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सीले युवा शक्ति, विशेष गरी समाजवादी युवा, कुनै पनि राष्ट्रको परिवर्तनकारी शक्ति भएको र समाजको मेरुदण्ड, राजनीतिक जागरणका प्रतिनिधि र समतामूलक समाज निर्माणका प्रमुख अभियन्ता भएकाले आफ्नो भुमिका कुशलतापुर्वक निर्वाह गर्न शुभेच्छा व्यक्त गरिन् ।

यस्तै संगठनको प्रथम सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अखिल (समाजवादी)का केन्द्रीय सदस्य खुमन सीले समाजवादी युवाहरुको यात्रा केवल विकासको मात्र नभई, समाजमा विद्यमान विभेद, अन्याय र असमानताको अन्त्यको पनि यात्रा भएकाले उत्पीडित युवाहरुलाई एकतावद्ध गर्दै क्रान्तिको यात्रामा अनवरत हिड्न अपिल गरेका थिए ।

यस्तै युवा संगठन नेपाल घोराही उपमहानगर समितिको प्रथम सम्मेलनले बिजय सीलाई अध्यक्षमा निर्वाचित गर्दै २९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा समीर सी, सचिवमा अभिषेक सी, सह-सचिवमा जितेन सी र कोषाध्यक्षमा टेक बहादुर सी रहेका छन् ।

प्रथम सम्मेलनबाट निर्वाचित सदस्यहरुमा कृष्ण सी, सुवर्ण सी, भुपेन सी, नवीन सी, दिपक सी, राजेश सी, फरिद सी, प्रकाश सी, बनिता सी, ऋषिराम सी, प्रकाश सी, कुमार सी, बुद्धिराम सी, रामप्रसाद सी, अनिल सी, देवराज सी, गोबिन्द सी, शान्ती सी, रेख बहादुर सी, भुपलाल सी र उषा अलि (सी) रहेका छन् ।

युवा संगठन नेपाल घोराही उपमहानगर समितिको प्रथम सम्मेलनमा प्यानल प्रस्ताव संगठनका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज पदम सीले गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष बिजय सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संगठनका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष शिशिर सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।