३० आश्विन २०८१, बुधबार

उत्पीडित जनतालाई अधिकार दिनका लागि संविधान संशोधन गरौं : विप्लव

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले अहिलेको संविधानले महिला, दलित, जनजाति लगायत उत्पीडित जनतालाई अधिकार दिन नसकेको बताउँदै अधिकार दिनका लागि नेपालको संविधान संशोधन गर्न जरुरी रहेको बताएका छन्  ।
आइतबार अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा काठमाडौँमा आयोजित `महिला सुरक्षाका चुनौती र समाधान विषयक´ अन्तर्कृयालाई सम्बोधनको क्रममा महासचिव विप्लवले अहिलेको संविधानले महिला, दलित,जनजाति लागायत उत्पीडित जनतालाई अधिकार दिन नसकेकोले तत्कालका लागि संविधान संशोधन र दिर्घकालिन समस्या समाधानका लागि नेपाली विशेषताकाे समाजवादले मात्र महिलाहरूलाई अधिकार सम्पन्न बनाउने बताए ।

“संविधान संशोधन जरुरी छ, तर अहिले सरकार र सत्तासीन पार्टीहरुले जुन संशोधनको कुरा गरिरहेका छन् त्यसले प्राप्त अधिकार समेत काटिने हुन् कि भन्ने नागरिकमा चिन्ता छ”- महासचिव विप्लवले संशोधनको औचित्यमाथि जोड दिदै भने- “यदि संशोधन गर्ने हो भने महिला, दलित, जनजाति लगायत उत्पीडित जनतालाई अधिकार दिनका लागि गरौं, त्यसबारे हामीले पहिलेदेखि भन्दै आएका छौं ।”

हिजो संविधान निर्माणको बेला संविधान सभाका महिला सभासदहरुको ककसहरु थिए, त्यसलाई बनाउन दिइएन, उनीहरुलाई एकताबद्ध हुन दिइएन भन्दै महासचिव विप्लवले  हिजो जनयुद्धको क्रममा ४० प्रतिशत महिलाहरु युद्धमा अधिकारको लागि सहभागी रहेको उल्लेख गरे ।

मन्तव्यको क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी माओवादीले  महिला, दलित , जनजाति, युवा, किसान, पार्टी, सेना, नेतृत्व लगायतका विषयमा २०५७ सालमा निकै महत्त्वपूर्ण निर्णय गरेको भएपनि २०६४ पछि ती कुराहरू छोडिएपछि माओवादी आन्दोलन अलमलमा परेको समेत बताए।

महासचिव विप्लवले महिला आन्दोलन, महिला माथीको लैङ्गिक हिंसाको समाधान लगायतका कुराहरू कुनै राजनीतिक दलका मात्रै मुद्दा नभएको बरु यी कुराहरू सबैका साझा विषय भएकोले संसद, सडकदेखि राजनीतिक दलहरूले आ-आफ्नो ठाउँमा अधिकारको लडाइ लड्नुपर्ने जरुरी रहेको बताए।

अन्तर्कृयामा नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) का महासचिव देव गुरुङ, एमाले स्थायी समिति सदस्य बिन्दा पाण्डे, काङ्ग्रेस नेता पुष्पा भुसाल, वरिष्ठ अधिवक्त्ता एकराज भण्डारी, श्रम तथा बालबालिका मामलाका विज्ञ प्रकाश शर्मा लगायत वक्त्ताहरुले महिला सुरक्षाका चुनौती र समाधानबारे मन्तव्य राखेका थिए।

अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सीले अन्तर्कृयाको अवधारणा पत्र पेश गर्दै अध्यक्षता गरेको कार्यक्रममा संगठनकी महासचिव राजकुमारी सीले मन्तव्यद्वारा स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संविधानसभा सदस्य एवम् महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष धिरेन्द्रा सी (भृकुटी) ले गरेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।