२ माघ २०८१, बुधबार

अन्योलग्रस्तबाट मुक्त गर्न एकपल्ट देशको नेतृत्व गर्ने चाहना छ : विप्लव

विश्वभरमा शान्तिको लागि समाजवाद नै विकल्प रहेकोबारे बहस सिर्जना भएको छ

0

पोखरा/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देश अन्योलग्रस्त बन्दै गएको, उत्पादन शुन्य र युवा पलायनता डरलाग्दो स्थितिमा पुगेको भन्दै यसबाट मुक्त गर्न एकपल्ट देशको नेतृत्व गर्ने चाहना रहेको बताएका छन् ।
आइतबार पाेखरामा भएको नेकपा गण्डकी प्रदेशको राजनीतिक वैचारिक प्रशिक्षण दिदै उनले यस्तो बताएका हुन् ।
महासचिव विप्लवले एकपल्ट देशको नेतृत्व गर्ने इच्छा नेकपाको रहेको भन्दै जनतालाई एकपल्ट साथ दिन आग्रहसमेत गरे । पार्टी पछिल्लो समय उत्पादनसँग जोडिएपछि त्यसले आम जनतामा निकै सकारात्मक प्रभाव परेको भन्दै राज्यले गर्नुपर्ने केही नगर्दा जनतामा निराशा बढेको टिप्पणी गरे । उनले भने, ‘सरकारले गर्न खोजेको कामबारे अन्यौल छ, कृषिमा कुनै नयाँ कार्यक्रम छैन ।’
देशमा विभिन्न प्रकारमा षडयन्त्रहरु हावी भइरहेकाे भन्दै संस्कृतिको बारेमा पनि नेकपाले आफ्नै प्रकारको नीति बनाएको बताए । आर्थिकमा चीनले र प्रविधिमा रसियाले गरेको प्रगतिको कारण आज अमेरिका विश्वशक्तिबाट कमजोर भएको बताउँदै विश्वभरमा शान्तिको लागि समाजवाद नै विकल्प रहेकोबारे बहस सिर्जना भएको बताए ।
उनले पार्टीले पछिल्लो समय नयाँ आर्थिक मार्ग, माक्र्सवादकाे विकास, दर्शन लगायतमा विकास गरेको बताउँदै उत्पादनलाई मुलत: आत्मनिर्भरतातर्फ नेता, कार्यकर्ता, पार्टी हुँदै देशलाई आत्मनिर्भरता तर्फ लैजाने उनको भनाई थियो ।
पार्टी एकताका सन्दर्भमा बोल्दै विप्लवले पार्टीमा तलका कमरेडहरु, बेपत्ता, सहिद परिवार, घाइते योद्धा, सामान्य कार्यकर्ताहरु एकताको पक्षमा भएपनि नेकपा माओवादी केन्द्रले एकताको लागि ठोस पहल नगरेकोले तत्काल एकता नभई मोर्चाको रुपमा अगाडि बढाउने बताए । यस्तै चुनावको सन्दर्भमा उनले चुनावलाई एउटा सङ्घर्षको रुपमा प्रयोग गर्ने मात्रै भएकोले चुनावमा जानेबित्तिकै संसदीय भासमा जाने भन्ने अर्थमा नलिन अपिल गरे ।

नेकपा गण्डकी प्रदेशको राजनैतिक वैचारिक प्रशिक्षणमा प्रदेशका १२ जिल्लाका जिल्ला तहका नेता कार्यकर्ताहरुको उपस्थितिमा पोखराको सिल्भर पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीको बैठकबाट पारित भएको पार्टीको प्रतिवेदन वाचन गरिएको थियो भने पार्टीका नेताहरुले प्रशिक्षण राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेकी पार्टीका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिलु सीले जनतामा उत्साह पैदा भएको भन्दै नेकपाले पछिल्लो बैठकले गरेका निर्णय लागू गर्न सबैलाई आग्रह गरिन् । उनले देश समाजवादको दिशामा अगाडि बढाउन जनतालाई सचेत बनाउनुपर्ने बताउँदै देशको नेतृत्व समाल्ने जिम्मेवारी नेकपाको काँधमा छिट्टै आउने विश्वास समेत व्यक्त गरिन् ।
पोलिट ब्युरो सदस्य आजाद सीले कार्यक्रमकाे सन्चालन गरेका थिए भने पोलिट ब्युरो सदस्य आस्था सीले स्वागत राखेकी थिइन् ।
कार्यक्रममा कास्की, नवलपुर, गोर्खा लगायतका जिल्लाबाट दर्जनौँ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।