काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक विप्लव सीले मधेस प्रदेशमा समाजवादी मोर्चाको सबैभन्दा बढी आवश्यक भएको बताएका छन् । शुक्रबार जनपत्रिका अनलाइनसँग संक्षिप्त कुरा गर्द विप्लवले यस्तो बताएका हुन् ।
उनले माओवादी केन्द्र र नेकपाबिच तत्काल पार्टी एकताको वैचारिक र राजनीतिक आधार तयार नभएको भन्दै मोर्चा बनाएर राष्ट्रियता र जनतन्त्रको पक्षमा काम हुनुपर्ने बताए । भए पार्टी एकता, नभए केही पनि नहुने गरी सोच्नु गलत हुने विप्लवको दाबि छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा एकातिर पुच्छरवादको खतरा र अर्कोतिर संकिणताको खतरा रहेको बताउँदै दुबै गलत प्रवृत्तिसँग संघर्ष गरेर मात्र क्रान्तिकारी आन्दोलनको विकास गर्न सकिने उनको भनाई छ ।
सदनमा रहेका मोर्चाका घटकहरूले संसद्मा र नेकपाले सडकमा संघर्ष गरेर सरकारका जनविरोधी काम र राष्ट्रघात रोक्न सकिने सुझाव मोर्चाका सदस्यहरुलाई दिएको नेकपाका प्रचार विभाग इन्चार्जसमेत रहेका स्थायी समिति सदस्य अनिल सीले बताए ।