१८ माघ २०८१, शुक्रबार

एकता र धुव्रीकरणलाई जोड दिने निर्णय गर्दै नेकपा कालिकोटको बैठक सम्पन्न

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटको १० औं पूर्ण बैठक कम्युनिष्ट शक्तिहरु बिच एकता र धुव्रीकरणमा व्यापक जोड दिने सहित विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
जिल्लाको खुलालुमा बुधबार अबेरसम्म बसेको बैठकले कम्युनिष्ट तथा देशभक्त शक्तिहरुसंग व्यापक एकता र धुव्रीकरण गर्ने लगायतका विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले नेपालको राजनीतिक अवस्था निकै अप्ठ्यारो अवस्थामा पुगेको निश्कर्ष निकाल्दै देशको अग्रगामी निकासको लागि नेपाली विशेषताको समाजवादका पक्षमा कम्युनिष्ट, देशभक्त लगायतका प्रगतिशील शक्तिहरु विच व्यापक एकता र धुव्रीकरण गर्ने निर्णय गरेको नेकपाका जिल्ला इन्चार्ज विवेक सीले जानकारी दिए ।
बैठकले फागुन महिनाको दोस्रो हप्तामा पार्टी महासचिव विप्लव सी र प्रबक्ता प्रकाण्ड सी कालिकोट हुदै जुम्लासम्म स्याउ रोप्न जाने कार्यक्रम केन्द्रको रहेकाले सो समयमा महासचिव र प्रवक्ताको उपस्थितिमा जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गरी प्रभावकारी रुपमा कार्यन्वयन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले जिल्लामा पार्टीको राजनीतिक प्रशिक्षण संचालन गर्ने, पालिका स्तरका बैठकहरु बस्ने, र पार्टीको जिल्लामा संगठन निर्माणका कामलाई तिब्रता दिने निर्णय गरेको छ ।
बैठकले बिकास निर्माण र उत्पादनका कामलाई जिल्लामा व्यवस्थितरुपमा अगाडी बढाउने, भ्रष्टाचार, अनियमिता, बैंक ब्याज वृद्धिदर र मिटरब्याजविरुद्ध संघर्ष गर्ने तथा जनजीविकाका सवालहरुमा आवाज उठाउने निर्णय गरेको छ ।
नेकपाले फागुन १ गतेको जनयुद्ध दिवस र सहिद सप्ताहलाई विशेष प्राथमिकता दिएर केन्द्रीत तथा विकेन्द्रीत रुपमा प्रभावकारी तरिकाले मनाउने निर्णय पनि गरेको छ ।
बैठकका प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज विवेक सीले सम्वोधन गर्दै जिल्लामा पार्टीलाई थप सुदृढ र विस्तार गर्नेतिर सिंगो जिल्ला समिति लाग्न आग्रह गर्दै पार्टी केन्द्र र जिल्लाको बैठकले गरेका निर्णयहरु प्रभाकारी रुपमा कार्यान्वयन गर्न सहभागिहरुलाई निर्देशन दिए ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य रणदिप सी, अबिचल सी, शाहासी सी, रमेश सी लगायत केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । बैठक जिल्ला सेक्रेटरी तथा पार्टी सीसीएम बलमान सीको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।