९ फाल्गुन २०८१, शुक्रबार

‘सी गाँउ’माल्कोटमा पुग्यो गाडी, स्थानीय भन्छन् ‘काम गर्ने कालु मकै खाने भालु’

0

कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पहलमा काटिएको मोटर बाटो हुँदै सी गाउँ माल्कोटमा गाडी पुगेको छ ।
गाउँपालिकाको योजनामा मंगलबार माल्कोटमा गाडी पुगेपछि स्थानीयवासीहरु खुसी त भए तर उनको मनमा केही कालो दाग भने बाँकी रह्यो ।
स्थानीय सरकारले भव्य तामझामका साथ गाडी आफूले पुर्याएको भन्दै कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममार्फत घुमाउरो पारामा मोटरबाटो आफैले काटेको सबै जस लिन पनि खोज्यो ।
तर त्यो कुरा स्थानीयवासीलाई भने चित्त बुझेको थिएन  । किनकी मुख्यगरी माल्कोटसम्म मोटरबाटो नेकपाका प्रवक्ता प्रकाण्ड सी र सिंगो पार्टी नेकपाको योगदान र लगानीमा पुगेको थियो । यो कसैको सामु छिपाएर छिप्ने कुरा पनि थिएन ।
यदि यो कुरा छिपाउन खोज्नु भनेको दिउँसै रात पार्न खोज्नु जस्तै थियो । त्यसैले पनि स्थानीयवासीले कार्यक्रमको औचित्यमाथि नै प्रश्न गरेका छन् ।
गाउँपालिकाले भने यी कुरामाथि पर्दा हाल्दै जनतालाई सिधा-सिधा ढाट्दै नेकपाको पहलमाथि नजरअन्दाज गर्न खोजेको देखियो  ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले गाडी पुगेको खुशीयालीमा सम्बाेधन गर्दै नेकपाको पहलमा बाटो बनेको हो भन्न तयार भएनन्  बरु उल्टै उनले पालिकाको पहलमा बाटो बनेकोसम्म भन्न भ्याए ।  उनले यो बाटोमा नेकपाको पनि केही पहल र लगानी छ सम्म पनि भन्न रुचाएनन् । किनकी यो सत्ताधारीहरुको लागि  पतन र लाजमर्दो कुरा थियो एक स्थानीयले भने ।
उनले बाटो गाउँपालिकाले बनाएको मिथ्या तर्क गरे । त्यसैले पनि कार्यक्रममा सहभागी जनताहरुले गाडी पुगेकोमा त खुसीयाली मनाए  तर जसको पहलमा बाटो काटिएको थियो त्यो शक्तिमाथि वेवास्ता गरेको देख्दा दुखी समेत थिए  । स्थानीयवासीहरुले ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तो भयो सम्म भन्न भ्याए ।
सायद ‘सी गाँउ’ माल्कोटवासी जनतालाई यति छिट्टै गाँउमै मोटर बाटो बनेर गाडी पुग्छ भन्ने विश्वास थिएन ।
अझै ‘सी गाँउ’वासी जनतालाई नेपाल कम्युनिष्ट पार्टीले मोटरबाटो खनेर गाँउमै पुर्याउछ भन्दा ७ बर्ष अघि अपत्यारिलो नै लागेको थियो ।
किनकी पार्टीसंग पैसा छैन । पैसा भएको राज्यले त बाटो काट्न सकेको छैन भने पार्टीले कसरी मोटरबाटो काटेर गाउँमा पुगाउन सक्छ ? ‘सी गाँउ’वासी जनतालाई यस्तै कुरा मनमा खेलिरहेको  थियो ।
तर पनि नेकपाले २०७४ सालको फागुन १ गतेबाट खुलालुदेखि डोजर लगाएर मोटरबाटो काट्न थाल्यो । यो काम  ‘सी गाँउ’ वासी जनताको लागि अनौठो जस्तै थियो । पार्टीले निरन्तर बाटो काट्ने काम शुरु गर्यो । कैयौ बाधा व्यवथान आए । रातदिन भोक प्यास नभनि र राम्रोसंग आराम नगरी जनताको साथमा बाटो काट्ने काम जारी गर्यो ।
यसले जनतामा सकारात्मक प्रभाव फैलिरेहेको थियो । बाटो काट्न सुरु भएको १ बर्ष पछि २०७५ साल फागुन २८ गतेबाट केपी ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगायो । खुल्ला राजनीतिमाथि हमला गर्यो । प्रतिबन्ध २०७७ साल फागनुन २१ गते मात्र फिर्ता लियो  । जेनतेन करिब २ बर्षजति  बाटो काट्ने काम पनि बन्द हुन पुग्यो ।
यसको पछाडिको एउटै कारण थियो तत्कालिन राजनीतिक पार्टी र सरकारको असहयोग । नेकपाको मोटर बाटो बनाउने योजना केही समय रोकिएपनि पुनः आब ०७८ /०७९ देखि जारी राख्यो । खुलालुदेखि  ‘सी गाँउ’सम्मको करिब १२ किलोमिटर बाटो काट्नु पर्ने थियो । नेकपाले खुलालुदेखि चिउरारुखसम्मको झण्डै ८ किलोमिटरबाटो पहिलो लडमा पूरा गर्यो ।
चट्टानी भागलाई निकै मिहिनेत गरेर बाटो काट्नु पथ्र्यो । भिरपाखा र चट्टान देख्दा मोटर बाटो आउछ भन्ने आसा ‘सी गाँउ’वासीलाई थिएन । २०८० को पुस महिना यता चिउरारुख देखि सल्लारुख ‘सी गाँउ’ सम्मको सडक खण्डको सडक बनाउने काम सुरु भई सम्पन्न भयो  । २०८१  असारको दोस्रो साता पुरा भयो ।
यो गाउँ नेकपाका प्रवक्ता प्रकाण्ड सीको गाउँ पनि हो । यहाँका राजनीतिक पार्टी तथा सरकारी निकायहरुले विद्रोही नेताको गाँउका रुपमा चिन्ने गर्छन् । जसले गर्दा राज्यका हरेक सुविधाबाट बञ्चित गरिन्छ ।  उनीहरुले बाटो पनि नपुगोस् भन्ने चाहेका थिए । उनीहरुले जसरी पनि जनताबाट प्रकाण्डलाई कटाउन यो बाटोमा असहयोग गर्ने योजना बनाएका थिए ।  जतिसुकै षड्यन्त्रहरु भएतापनि नेकपाले जनताको श्रमदान र पार्टीको एक अर्ब लगानीमा मोटरबाटो गाँउमै पुगाएको छ । अहिले ‘सी गाँउ’वासी जनता हर्षित भएका छन् ।
यसले ‘सी गाँउ’वासीको  करिब ४ घण्टाको पैदल बाटो हिडेर गाडीसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।  जसले गर्दा अहिले ‘सी गाँउ’वासी खुसीले गद्गद भएका हुन् । माल्कोट ‘सी गाँउ’वासी ६६ बर्षिय दिल बहादुर विकले नेकपाले जनतालाई सुविधा हुने गरेर बाटो बनाएको भन्दै जसका कारण गाडी पुगेको भनी खुसी व्यक्त गरे । उनले भने ‘यो निकै राम्रो काम हो । सरकारले पनि बनाउन नसकेको बाटो पार्टीले बनायो । हामी पार्टीलाई धन्यवाद दिन्छौँ । हामी अब घरको आँगनबाटै गाडी चढ्ने भयौँ । हामीलाई ४ घण्टा हिड्ने बाध्यता अन्त्य हुने भयो ।’ उनले पार्टीका प्रवक्ता प्रकाण्ड सीलाई पनि बाटो बनाउने पहल गरेकोमा विशेष धन्यवाद दिए ।
‘सी गाँउ’वासीहरुले यसअघि बाटो काट्दै माल्कोट पुगेको डोजर तथा चालकलाई पनि खुसी हुँदै भव्य स्वागत गरेका थिए । उनीहरुले नेकपाका नेता कार्यकर्ताहरुलाई पनि भव्य स्वागत गरेका थिए । अहिलेसम्म गाउँमा मोटर बाटो पुगेको थिएन । बाटो काट्ने राज्यको योजना पनि थिएन । तर पार्टीले जनताको घर आँगनमा बाटो पुर्याएर गाडी पुगेपछि माल्कोेट सी गाँउका गोरख बहादुर बटालाको पनि खुसीको सीमा नाघेको छ ।
६५ बर्षिय बटालाले गाँउमै बाटो बनेर गाडी पुगेकोप्रति खुसी व्यक्त गरे । उनले भने ‘यो नमुना काम हो । यो पार्टीले यति ठुलो काम गर्यो धन्यवाद छ । तर काम गर्ने कालु मकै खाने भालु भयो ।’ उनले भने  ‘ बाटो काट्ने विप्लव नेकपा जस लिने चाहि गाउँपालिका भयो, यो गलत छ । जसले गरेको हो उसले जस पाउनु पर्छ । प्रकाण्ड मन्त्री भएर गाउँमा बाटो पुगेन भनेर गिज्याउनेहरु थिए । यो बाटो गाँउमा पुगेपछि र गाडी पुगेपछि ती गिज्याउनेहरुका शिर निहुरीएका छन् । हामीले राम्रो कामलाई राम्रो भन्नु पर्छ ।’
उनले नेकपालाई लड्ने र विद्रोह गर्ने पार्टी मात्र हो भनेर बुझ्नेहरुका लागि ठुलो जवाफ भएको बताए । ‘सी गाँउ’का जनताले जनयुद्धको बेलादेखि पार्टीलाई मरिमेटी साथ दिएका छन् । ‘यो बाटो काट्ने अभियानमा पनि साथ दिएका छौँ । पार्टीको नेतृत्वमा हामीले बाटो बनाएका हौँ’उनले भने । उनले पार्टीले चाहेमा असम्भव केही पनि नहुने बताए ।
बाटो काट्ने अभियानमा लागेका अखडा सीले जनताको साथ र सहयोगमा बाटो काट्न सफल भएको र अहिले गाडी पुगेको बताए । उनले जनताको शक्तिबाट जस्तो सुकै राजनीतिक तथा विकास निर्माणको परिवर्तन हुने बताए । अहिले सी गाँउवासी जनताले बाटोलाई व्यवस्थित बनाउन जोड दिएका छन् । उनीहरुले चाडै यो बाटो कालोपत्रे भएको देख्ने इच्छा व्यक्त गरेका छन् ।
उनीहरुले बाटो पुग्नु नै अहिलेको लागि ठुलो उपलब्धी भएको बताए । सी गाँउवासीहरुले पार्टीको जोडबलमा चाडै स्तरउन्नत्ति हुने विश्वास पनि व्यक्त गरेका छन् । यो बाटो बनाउनमा गाउँपालिकाले केवल ४० लाख रुपैया मात्र लगानी गरेको छ । अहिले केही बजेट लगानी गरी स्तरउन्नतिको काम गरेको छ ।
नेकपाको पहलमा झण्डै एक अर्ब जनश्रमको लगानीमा बाटो बनेको हो । नेकपाले काटेको ट्रयाकमा गाउँपालिकाले केही स्तरउन्नतीको काम गरेर गाडी पुर्याएको र  त्यसैको जस लिन खोजेको नेकपाका जिल्ला इन्चार्ज विवेक सीले बताएका छन् । गाडी पुगाउने र स्वागत गर्ने कार्यक्रममा नेकपालाई आमन्त्रणसम्म नगरी यो कार्यक्रम गरिएको उनले बताए । उनका अनुसार यो नेकपाको विकास नीतिबाट अत्तालिएको परिणाम हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।