२ कार्तिक २०८१, शुक्रबार

मोटर बाटो पुगेपछि खुसीले गद्गदाएका ‘सी गाँउ’बासी

0

कालिकोट । जिल्लाको ‘सी गाँउ’ माल्कोटबासी जनतालाई यति छिट्टै गाँउमै मोटर बाटो पुग्छ भन्ने विश्वास थिएन ।
अझै ‘सी गाँउ’ बासी जनतालाई नेपाल कम्युनिष्ट पार्टीले मोटर बाटो खनेर गाँउमै पुर्याउछ भन्दा अपत्यारिलो नै लागेको थियो ।
किनकी पार्टीसँग पैसा छैन । पैसा भएको राज्यले त बाटो काट्न सकेको छैन भने पार्टीले कसरी मोटर बाटो काटेर गाउँमा पुगाउन सक्छ ? ‘सी गाँउ’बासी जनतालाई यस्तै कुरा मनमा खेलिरहेको थियो ।
नेकपाले जब २०७४ सालको फागुन १ गतेबाट खुलालुदेखि डोजर लगाएर मोटर बाटो काट्न थाल्यो तब ‘सी गाँउ’ वासी जनताको लागि अनौठो जस्तै थियो । पार्टीले निरन्तर बाटो काट्ने काम शुरु गर्यो । कैयौ बाधा व्यवधान आए । रातदिन भोक प्यास नभनि र राम्रोसंग आराम नगरी जनताको साथमा बाटो काट्नेकाम जारी रह्यो ।
यसले जनतामा सकरात्मक प्रभाव फैलिरहेको थियो । १ बर्ष पछि २०७५ साल फागुन २८ गतेबाट केपी ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगायो । खुल्ला राजनीतिमाथि हमला गर्यो । प्रतिबन्ध २०७७ साल फागनुन २१ गते मात्र फिर्ता लियो । जेनतेन करिब २ बर्षजति बाटो काट्ने काम पनि बन्द हुन पुग्यो ।
यसको पछाडिको एउटै कारण थियो तत्कालिन राजनीतिक पार्टी र सरकारको असहयोग । नेकपाको मोटर बाटो बनाउने योजना केही समय रोकिएपनि पुनः आब ०७८/०७९ देखि जारी राख्यो । खुलालुदेखि ‘सी गाँउ’सम्मको करिब १२ किलोमिटर बाटो काट्नु पर्ने थियो । नेकपाले खुलालुदेखि चिउरारुखसम्मको झण्डै ८ किलोमिटरबाटो पहिलो लडमा पूरा गर्यो ।
चट्टानी भागलाई निकै मिहिनेत गरेर बाटो काट्नु पथ्र्यो । भिरपाखा र चट्टान देख्दा मोटर बाटो आउँछ भन्ने आशा ‘सी गाँउ’बासीलाई थिएन । २०८० को पुस महिना यता चिउरारुखदेखि सल्लारुख ‘सी गाँउ’ सम्मको सडक खण्डको सडक बनाउने काम सुरु भयो । २०८१ असारको दोस्रो साता पूरा भयो ।
यो गाउँ नेकपाका प्रवक्ता प्रकाण्ड सीको गाउँ पनि हो । यहाँका राजनीतिक पार्टी तथा सरकारी निकायहरुले विद्रोही नेताको गाँउका रुपमा चिन्ने गर्छन् । जसले गर्दा राज्यका हरेक सुविधाबाट बञ्चित गरिन्छ । उनीहरुले बाटो पनि नपुगोस् भन्ने चाहेका थिए । उनीहरुले जसरी पनि जनताबाट प्रकाण्डलाई कटाउन यो बाटोमा असहयोग गर्ने योजना बनाएका थिए । जतिसुकै षड्यन्त्रहरु भएतापनि नेकपाले जनताको श्रमदान र पार्टीको एक अर्ब लगानीमा मोटरबाटो गाँउमै पुगाएको छ । अहिले ‘सी गाँउ’बासी जनता हर्षित भएका छन् ।
यसले ‘सी गाँउ’बासीको करिब ४ घण्टाको पैदल बाटो हिडेर गाडीसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । जसले गर्दा अहिले ‘सी गाँउ’बासी खुसीले गद्गद भएका हुन् । माल्कोट ‘सी गाँउ’बासी ६६ बर्षिय दिल बहादुर विकले नेकपाले जनतालाई सुविधा हुने गरेर बाटो बनाएको भन्दै खुसी व्यक्त गरे । उनले भने ‘यो निकै राम्रो काम हो । सरकारले पनि बनाउन नसकेको बाटो पार्टीले बनायो । हामी पार्टीलाई धन्यवाद दिन्छौँ । हामी अब घरको आगनबाटै गाडी चढ्ने भयौँ । हामीलाई ४ घण्टा हिड्ने बाध्यता अन्त्य हुने भयो ।’
उनले पार्टीका प्रवक्ता प्रकाण्ड सीलाई पनि बाटो बनाउने पहल गरेकोमा विशेष धन्यवाद दिए ।
‘सी गाँउ’बासीहरुले बाटो काट्दै माल्कोट पुगेको डोजर तथा चालकलाई पनि खुसी हुँदै गत साता स्वागत गरे । उनीहरुले नेकपाका नेता कार्यकर्ताहरुलाई पनि भव्य स्वागत गरे । यो स्वागत मनैदेखि खुसी हुँदै गरिएको स्वागत हो । अहिलेसम्म गाउँमा मोटर बाटो पुगेको थिएन । बाटो काट्ने राज्यको योजना पनि थिएन । तर पार्टीले जनताको घर आँगनमा बाटो पुर्याएपछि माल्कोेट सी गाँउका गोरख बहादुर बटालाको पनि खुसीको सीमा नाघेको छ ।
६५ बर्षिय बटालाले गाँउमै बाटो पुगेकोप्रति खुसी व्यक्त गरे । उनले भने ‘यो नमुना काम हो । पार्टीले यति ठुलो काम गर्यो धन्यवाद छ । अब हामी गाडी चढ्न पाउने भयौँ । प्रकाण्ड मन्त्री भएर गाउँमा बाटो पुगेन भनेर गिज्जाउनेहरु थिए । यो बाटो गाँउमा पुगेपछि ती गिज्जाउनेहरुका शिर निहुरीएका छन् । हामीले राम्रो कामलाई राम्रो भन्नु पर्छ ।’
उनले नेकपालाई लड्ने र विद्रोह गर्ने पार्टी मात्र हो भनेर बुझ्नेहरुका लागि ठुलो जवाफ भएको बताए । ‘सी गाँउ’ का जनताले जनयुद्धको बेलादेखि पार्टीलाई मरिमेटी साथ दिएका छन् । ‘यो बाटो काट्ने अभियानमा पनि साथ दिएका छौँ । पार्टीको नेतृत्वमा हामीले बाटो बनाएका हौ’ उनले भने । उनले पार्टीले चाहेमा असम्भव केही पनि नहुने बताए ।
बाटो काट्ने अभियानमा लागेका अखडा सीले जनताको साथ र सहयोगमा बाटो काट्न सफल भएको बताए । उनले जनताको शक्तिबाट जस्तो सुकै राजनीतिक तथा विकास निर्माणको परिवर्तन हुने बताए । अहिले सी गाँउबासी जनताले बाटोलाई व्यवस्थित बनाउन जोड दिएका छन् । उनीहरुले चाडै यो बाटो कालोपत्रे भएको देख्ने इच्छा व्यक्त गरेका छन् ।
उनीहरुले बाटो पुग्नु नै अहिलेको लागि ठुलो उपलब्धी भएको बताए । सी गाँउबासीहरुले पार्टीको जोडबलमा चाडै स्तरउन्नत्ति हुने विश्वास पनि व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।