
बुटवल/ सहिद सप्ताह अन्तर्गत नेकपा रुपन्देहीले आइतबार एक कार्यक्रम गरी जनयुद्धका क्रममा रुपन्देहीबाट सहादत भएका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ ।
२०५२ साल फागुन एक गतेदेखि सुरुभएको जनयुद्धका क्रममा रुपन्देहीबाट २०५५ साल कात्तिक २३ गते माधव घिमिरेको पहिलो सहादत भएको थियो भने एकै घरपरिवारका ६ जनासहित ७१ जनाले रुपन्देहीबाट बलिदानी गरेको नेकपा रुपन्देही सेक्रेटरी विरेन्द्र सीले बताए । सुपानेट झुल, खादा र नगदसहित सम्मान गरिएको उक्त कार्यक्रममा करिब ६० सहिद परिवार उपस्थित भएका थिए ।
सो सम्मान कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिट व्युरो सदस्य एवं रुपन्देही इन्चार्ज बसन्त सीले महान सहिदहरुको बलिदानको जगमा जन्मिएको वर्तमान व्यवस्थामा शासन चलाउनेहरुलाई जनयुद्ध र सहिदहरुको अपमान गर्ने छुट नभएको बताए ।
उनले भने – “जनयुद्धको रगतको जगमा जन्मिएको व्यवस्थामा केन्द्र, प्रदेश र स्थानीय तहमा रजगज गरेका शासकहरुले जनयुद्धलाई नै अपमान गर्ने हैन जनयुद्धका सहिदहरु माओवादीका मात्रै सहिद नभै गणतन्त्रका सहिदको रुपमा सम्मान गरेर उचित अवसर दिन जरुरी छ । राणाका विरुद्ध संघर्षमा सहादति गरेका चार सहिद पञ्चायतका विरुद्धका सुखानी लगायतका आन्दोलनका सहिद र राजतन्त्रको समुल अन्त्यका लागि गरेको जनयुद्धका सहिदमा फरक कसरी हुन सक्छन्? ति सबै सहिद राष्ट्रिय सहिद हुन् ।”
यस्तै नेता बसन्तले सहिद परिवारहरुलाई सम्मान गर्नुको साटो जनयुद्धलाई नै अपराधीकरण गर्न खोजेको भन्दै सक्छौँ सम्मान गर हैन भने अपमान गर्ने धृष्टता नगर्न चेतावनी दिए ।
सहिद बेपत्ता परिवार र उनका सन्ततीहरुको सम्पूर्ण रुपमा जिम्मा लिनुपर्ने र जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने दाबी गर्दै उनले भने – “सहिद बेपत्ता परिवारका आँशु र पिडालाई कमजोरी ठानेर दबाउने काेसिश नगरियोस् । त्यो विद्रोहमा सल्कियो भने शासकहरुले आँसु बगाउन पनि पाउँने छैनन् ।”
यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शरद सीले सहिद परिवारसंग सहकार्य गर्दै हिमाल पहाड तराईका जनताको एकाकारमा नेपालको दलाल पुजीवादी सत्तालाई अन्त्य गरी नेपाली विशेषताको समाजवाद ल्याउन फेरी एक पटक नयाँ संकल्प गर्न जरुरी रहेको बताए ।
अर्का केन्द्रीय सदस्य विश्वास सीले यही दलाल पुजीवादी व्यवस्थाका लागी नेपाली महान आमा बाबाका छोराछोरीहरु उच्च बलिदानी भावका साथ हाँसीहाँसी मर्न तयार नभएको भन्दै सहिदहरुका सपना पूरा नभएको र बलिदानीको उचित सम्मान नभएको जिकिर गरे ।
सहिद बेपत्ता परिवारकी केन्द्रीय सचिव जया सीले सहिद बेपत्ता परिवार दल विशेषमा वसभाजित नभै हाम्रा हक अधिकार प्राप्तिको लडाईंका लागि पनि एकजुट हुन आवश्यक रहेको बताइन् । यस्तै उनले संयुक्त राष्ट्र संघले द्वन्द्व पिडितलाई मिलाएर परिपुरणको व्यवस्था गर्ने भनेपनि राज्यपक्षले पहल नगरेकोमा चिन्ता व्यक्त गरिन् ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रकी रुपन्देही इन्चार्ज तथा सहिद परिवार सोनीया यादव, सभासद तथा सहिद परिवार लता घिमिरे, सहिद बेपत्ता समाज रुपन्देही सचिव शिव घिमिरे, सहिद जीवनारायण सुवेदीकी श्रिमती इन्दीरा सुवेदी लगायतले बोल्दै सहिदहरुको योगदानलाई खेर जान दिन नहुने बताए । कार्यक्रममा सामना परिवारकी रेश्मी बुढाको सहिद तिमीलाई बोलको गीत गाउँदा सबैका आँखा रसाएका र माहोल भावुक बनेको थियो ।
पार्टीका केन्द्रीय सदस्य शरद सीको अध्यक्षता अर्का केन्द्रीय सदस्य विश्वास सीको स्वागत मन्तव्य र केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी विरेन्द्र सीको संचालनमा सम्पन्न कार्यक्रममा सहिद परिवारसँग अन्तरक्रिया समेत गरिएको थियो ।