
तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिगामी षडयन्त्रविरुद्ध दाङ जिल्लाभर मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेकपा दाङले बुधबार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका मुख्य सहरहरुमा मसाल जुलुस प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिगामी एवम पश्चगामी षडयन्त्रको विरुद्धको मसाल जुलुस जिल्लामा देउखुरी क्षेत्रमा राप्ती गाउँपालिका , घोराहीको तुलसीपुर चोक , तुलसीपुरको वसपार्क स्थित तिनकुने चोक र दंगिशरण गाउँपालिकामा पार्टीका नेताकार्यकर्ताको उपस्थितिमा सम्पन्न गरिएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिए ।
नेकपाद्वारा तुलसीपुरमा आयोजित मसाल जूलूस प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य रुद्र सीले पार्टीले प्रतिगामीहरुको चलखेल लाई कुनैपनि हालतमा सफल हुन नदिने जिकिर गरे ।
उनले भने – ‘ हामीले बलिदानको जगमा गणतन्त्र प्राप्त गरेका छौँ । यसमा हजारौं जनताको बलिदान छ । अहिले केही प्रतिगामी तत्वहरुले जनताको बलिदानको जगमा उभिएको गणतन्त्र उल्ट्याउने प्रयत्न गरिरहेका छन् तर हामी कुनैपनि हालतमा यो षडयन्त्र पूरा हुन दिदैंनौ । हामीलाई थाहा छ अहिलेको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन् , यसको निकास यसलाई समाजवादी गणतन्त्रमा बदल्नु अहिलेको निकास हो । तर गणतन्त्रको विकल्पमा राजतन्त्रमा फर्किनु अग्रगामी निकास होइन । नेपाली जनतालाई फेरि अध्यारोतिर फर्काउने सोच हाम्रो पार्टीलाई स्विकार्य हुँदैन ।’
नेता रुद्र सीले नेपालको अहिलेको दलाल पुजीवादी सत्ताको विकल्पमा नेपाली विशेषताको समाजवाद नै अग्रगामी निकास भएको जिकिर गरेका हुन् ।
मसाल जूलूसपछिको कोणसभाको सहजीकरण पार्टीका जिल्ला सचिवालय सदस्य नवीन सीले गरेका थिए ।
यस्तै नेकपाले बैशाख ५ गते जिल्लाका सबै पालिकामा प्रतिगमनका विरुद्ध कोणसभा गर्ने कार्यक्रम तय भएको जनाएको छ ।