
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार ढिला गरी ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो।
जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसमध्ये आपराधिक उपद्रव अन्तर्गत ११ जना यसअघि नै धरौटी माग गरेर छाडिएको थियो । ५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहस पछि अदालतले यो निर्णय गरेको हो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ । यस अघि नै प्रहरीले हाजिरी जमानीमा छुटाउनेलाई कानुनी रूपमा कारबाही प्रक्रिया समेत अघि बढाएको छ । धरौटीमा छुट्न आदेश पाएकाहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ ।