३१ जेष्ठ २०८२, शनिबार

२४२ यात्रुसहित एयर इन्डियाको विमान दुर्घटना

0

काठमाडौँ । भारतमा दशकयताकै ठूलो विमान दुर्घटना हुँदा २४१ जनाको शव भेटिएका छन् । अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार लन्डनको ग्याटविक विमानस्थल जान २३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । विमानका एक यात्रु जीवितै भेटिएका छन् भने होस्टलका केही विद्यार्थीको मृत्यु भएको छ र केही घाइते भएका छन् । 

उडान नम्बर एआई–१७१ को भीटी–एएनबी ‘रजिस्ट्रेसन’ रहेको बोइङको ड्रिमलाइनर ७८७ विमान होस्टलको भवनमा बजारिएर दुई टुक्रा भएको थियो । विमानको अगाडिको भाग भुइँमा खसेर आगो लागेको थियो । पछिल्लो हिस्सा भने भवनमै अड्किएको छ । पौने १० घण्टा उडानका लागि विमानले १ लाख २५ हजार लिटर इन्धन बोकेको थियो ।

विमान ठोकिँदा बीजे मेडिकल कलेजको होस्टलमा विद्यार्थी खाजा खाइरहेका थिए । होस्टलमा विमान ठोकिएका कारण विमानमा रहेका यात्रु, कर्मचारी र चालकदलका सदस्य भन्दा बाहेक कति जना हताहत भए भन्ने आधिकारिक विवरण आइसकेको छैन ।

एयर इन्डियाको स्वामित्वमा रहेको टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले साँझसम्म दुर्घटनाको कारण पत्ता नलागेको बताएका छन् । उनले जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही १ करोड भारतीय रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने जानकारी गराएका छन् । त्यस्तै सबै घाइतेको उपचार खर्च बेहोर्ने पनि उनको भनाइ छ ।

विश्वभर विमानको ‘लाइभ ट्र्याकिङ’ गर्ने अनलाइन पोर्टल ‘फ्लाइटराडार २४’ का अनुसार उडान भरेको एक मिनेटमै जहाजको सिग्नल हराएको थियो । ६२५ फिटको उचाइमा पुग्नेबित्तिकै जहाज दुर्घटनामा परेको हो । पाइलटले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे’ भनेर कलसमेत गरेका थिए । ‘एयर ट्राफिक कन्ट्रोल’ ले त्यसमा तत्काल प्रतिक्रिया जनाए पनि त्यसपछि कुनै जवाफ नआएको भारतको नागरिक उड्डयन नियमनकारी निकायले जनाएको छ । ‘मेडे’ उद्घोष अप्ठ्यारोमा परेका विमानले सहयोग माग्न प्रयोग गर्ने शब्दावली हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।