
इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो ।
‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन् ।
इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ । इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् ।
उक्त हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको थियो । इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले बताएका छन् ।
‘यो केवल एक दिनको हमला होइन,’ स्रोतले भने । इजरायली सरकारले यो हमला गर्न सैन्य तथा कूटनीतिक रूपमा उपयुक्त समय देखेको भन्दै, यही अवसर प्रयोग गरेर कारबाही थालिएको जनाइएको छ ।