८ श्रावण २०८२, बिहीबार

कम्युनिस्ट आन्दोलनलाई अन्तिम समयसम्म पनि एकीकृत गराउन प्रयास गर्नेछाैँ : विप्लव

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले
कम्युनिस्ट आन्दोलनलाई अन्तिम समयसम्म पनि एकीकृत गराउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा स्कुल अफ माक्र्सिज्मद्वारा आज आयोजित वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
महासचिव विप्लव सीले पुष्पलाललाई पनि अवसरवादी छट्टुहरूले नेतृत्वबाट हटाएको बताउदै नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तिम समयसम्म पनि एकीकृत गराउन प्रयास गरेको ठोकुवा गरे ।
महासचिव विप्लव सीले दलाल पुँजीवादीहरू जनतामा पुगेको अलिकति अधिकार पनि मान्न तयार नभएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलन कमजोर बनाउन र कम्युनिस्टहरूलाई समाप्त पार्ने खेल चलिरहेको ठोकुवा गरे ।
उनले भने- ‘ओली कम्युनिस्ट भएर नेपाल बिग्रिएको हो । कम्युनिस्ट धेरै भएर बिग्रिएको हो । यिनीहरू गरिबीमा मात्र बाँच्छन् । उनीहरुले कम्युनिस्टबाट भएका सुधारलाई पनि दलाल पुँजीवाद स्वीकार गर्न तयार छैनन् । जसरी हुन्छ कम्युनिस्टहरूलाई समाप्त पार्ने खेल नेपालमा चलिरहेको छ ।’
उनले पुष्पलालले २००६ सालमा सोचेको अवस्था र अहिले धेरै फरक भएकाले अब कस्तो नेपाल बनाउनेबारे गम्भीर भएर सोच्ने बेला आएको बताउँदै भने- ‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको दोष छ । मुख्य दोषी माओवादी हो । मैले प्रचण्डसँग भनेको छु–आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु । बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्‍याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ । त्यसकारण अरूलाई दोष दिएर उम्किने ठाउँ छैन । हामीले आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन पाउँछौँ ? २०५७ सालका कम्युन कहाँ गए ? बैंकका पैसा कता गए ? हस्पिटल कता गए ? त्यो जनता र कार्यकर्ताको कारणले होइन जनताको कारणले हो ।’

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले प्रधानमन्त्री ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७७ फागुन २१ गते नेपाल कम्युनिष्ट पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वन नगरेको बताउदै भने- ‘हामीसँग भएको तीन बुँदेको कुरा छ, हामी चुनावमा पनि जाने नै हो । लड्ने नै हो, जनतालाई हामी भन्छौँ एक पटक हामीलाई जिताउनुस् । हामीलाई नै जिताउनुपर्छ । नेपाल कसरी चलाउनुपर्छ हामी देखाइदिन्छौँ । हामी उस्तै होइनौँ । दलालहरूको ठाउँमा जनताको राज कस्तो हुन्छ हामी देखाउँछौँ नि । यो देशमा लुटेर खाने होइन गरेर कसरी खाने देखाउने चाहना छ । हामीले नै गर्ने हो, तीन बुँदे लागू गर्नुस् केपी जी । लागू गर्नुभएन भने तपाईँले सोचेजस्तो हुनेवाला छैन ।’
महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनमा धेरै समीक्षासहित यहाँ आइपुगेको उल्लेख गर्दै एमाले राम्रो भइदिएको भए आफूहरूले ०५२ सालमा त्यो कदम चाल्नु नै नपर्ने बताए । उनले कम्युनिष्ट आन्दोलन पुष्पलालले विश्लेषण गरेको वरिपरि पुगेको उल्लेख गर्दै कम्युनिष्टहरुले पुष्पलालको स्प्रिडमा देशलाई अगाडि बढाउन आँट गर्नु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।