२१ मंसिर २०८२, आईतवार

नेकपा (माओवादी) ललितपुरको बैठक सम्पन्न, ४ व्यक्तिद्वारा पार्टी प्रवेश

0

ललितपुर/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ललितपुरको विशेष बैठक सम्पन्न भएको छ । जिल्ला सचिव ललितको अध्यक्षता र केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बिपिनको विशेष उपस्थितिमा शनिबार बैठक सम्पन्न भएको हो ।

बैठकको क्रममा कम्युनिस्ट एवम् वामपन्थी आन्दोलनमा योगदान गरेका चार व्यक्ति पार्टी प्रवेश गरेका थिए भने उहाँहरुलाई औपचारिक रूपमा स्वागत गरिएको छ।प्रवेश गर्नेहरूमा माओवादी आन्दोलनमा काम गरेका प्रेम
महर्जन (हरिसिद्धी), अष्टराज बज्राचार्य (पाटन), नेकपा (एमाले) बाट दिपक केसी र युवा मोती लामा रहेका छन् ।

बैठकले वर्तमान राजनीतिक संकटको जनपक्षीय समाधानको लागि सर्वपक्षीय अन्तरिम सरकारको गठन हुनुपर्ने, संविधान पुनर्लेखन, राज्यको पुनर्संरचनासहित नेपाली विशेषताको समाजवाद स्थापनाको पक्षमा जनसंघर्ष सञ्चालन गर्ने, नवयुवा विद्रोहको माग र भावना विपरित जारी षडयन्त्र, दलाल प्रकृतिका NGO, भ्रष्टाचार, बेथिति विरुद्ध जनसंघर्ष गर्ने निर्णय गरेको छ ।

त्यस्तै नयाँ कम्युनिस्ट केन्द्र निर्माणको लागि चौतर्फी पहल अगाडि बढाउने, राष्ट्रिय स्वाधीनताको पक्षमा देशभक्त शक्तिहरुको मोर्चा निर्माणको पहल अगाडि बढाउने, देशको निकासको लागि नेकपा (माओवादी) द्वारा अगाडि सारिएका राजनीतिक प्रस्तावहरु र सामाजिक अन्तरविरोधहरुलाई लिएर आगामी पुस र माघ २ महिना पालिकादेखि वडा स्तरमा राजनीतिक जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्लामा समाजवादी जेन-जी संयन्त्र निर्माण गर्ने, माओ दिवसलाई संघर्षमय ढङ्गले मनाउने, स्थानीय जनसरोकारका विषयहरु र बेथिति विरुद्ध जनसङ्घर्ष उठाउने, सहकारी र सामाजिक क्षेत्रका समस्याहरुलाई निरुपण एवम् सहजीकरण गर्न जिल्ला स्तरमा सहकारी तथा सामाजिक सरोकार विभाग गठन गर्ने, आत्मनिर्भरताको लागि उत्पादन एवम् उद्यमशीलता अभियानलाई क्रियात्मक बनाउने र नवयुवा विद्रोहद्वारा लखेटिएका एवम् राजनीतिक वैधानिकता गुमाएका पार्टीहरु र तिनले पक्षपोषण गरिरहेको दलाल व्यवस्थाको विरुद्ध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला इन्चार्ज बिपिनले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।