मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको ११ औं पूर्ण बैठक सम्पन्न भएको छ । हेटौंडामा बसेको जिल्ला समितिको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकमा सबै जिल्ला सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट सहित सल्लाह सुझाव राखेका छन् । रिपोर्टिङमा उठेका विषयवस्तुसहित पार्टी केन्द्रको भाव सम्प्रेषण गर्दै नेकपा (माओवादी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले अब निर्वाचन क्षेत्र अनुसार परिचालन हुन सबैलाई निर्देशन गरेका छन् । पार्टी दर्ता गरि लिएको चुनाव चिन्ह गुलाबको फूलमा फूल र काँडा दुबै भएकाले द्वन्द्वात्मक भौतिकवाद मिसिएको छ भन्दै जनतासामु लिएर जान निर्देश गरेका छन् । साथै हेटौंडाको सडक विस्तारका साथै सुकुम्बासी मुद्दामा डटेर साथ दिन पनि सबैलाई अनुरोध गरेका छन् ।
शनिबार बसेको जिल्ला समितिको बैठक अन्य सांगठनिक तथा राजनीतिक निर्णय पनि गरेको छ । बैठक जिल्ला सेक्रेटरी पेमा सीको अध्यक्षतामा बसेको हो ।

