नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति सल्यानकाे आठौं बैठक जिल्ला सदरमुकाम श्रीनगर बजारमा सम्पन्न भएको छ।
निर्वाचन आयाेगमा महासचिव विप्लव सीकाे नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दर्ता भए पछिकाे साे बैठक केन्द्रीय सदस्य तथा जिल्ला सचिव तेजबहादुर खड्का “अनिल सी”काे अध्यक्षतामा सम्पन्न भयो ।
बैठकमा पार्टीका पाेलिट व्युराे सदस्य तथा जिल्लाका वरिष्ठ वामपन्थी तथा कम्युनिस्ट समाजवादी नेता माेहलाल चन्द “आधार सी” मुख्य अतिथिको रुपमा उपस्थित थिए । बैठकमा केन्द्रीय सदस्य भीम भारती “भीमसेन सी” अतिथिको रुपमा उपस्थित थिए ।
बैठकमा जिल्लामा कार्यरत केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु समेत अतिथिको रुपमा उपस्थित थिए ।
दिनभर चलेको बैठकमा पार्टीका केन्द्रीय समिति र कर्णाली प्रदेश समितिका परिपत्र तथा नवाैं केन्द्रीय समितिकाे तेस्रो बिशेष बैठकले पारित गरेर पठाएको महासचिव विप्लव सीकाे “विशिष्ट परस्थितिकाे विशेष कार्यभार” नामक राजनीतिक प्रस्ताव वाचन गरिएकाे थियो ।
बैठकमा उपस्थित मुख्य अतिथि र अतिथिहरुले पार्टीको तत्कालीन राजनीतिक, वैचारिक कार्यदिशाबारे स्पष्ट पारेका थिए ।
बैठकमा सहभागी जिल्ला समितिका सचिवालय सदस्य, गाउँ तथा नगर समितिका इन्चार्ज र सचिवहरुले रिपोर्टिङ, आफ्ना धारणा तथा जिज्ञासाहरु प्रस्तुत गरेका थिए ।
जिल्लाकाे आठौं बैठकले संगठन, राजनीति, संघर्ष, आर्थिक तथा प्रकाशन, हिउँदे उत्पादन र आसन्न प्रतिनिधि सभाको निर्वाचन लगायतका प्रस्तावहरुमाथि छलफल गरेर निर्णय गरेको छ ।

