भक्तपुर – आइतबारदेखि सुरु भएको समाजवादी जागरण अभियान भक्तपुर आइपुगेको छ । चिरनजीवि सी नेतृत्वमा रहेको बागमती प्रदेशस्तरिय अभियान टोली भत्तपुर आइपुगेको हो ।
नेकपा माओवादी पार्टी केन्द्रको योजनामा आइतबारदेखि समाजवादी जागरण अभियान देशका तीन ठाउँबाट सुरु भएको थियो । प्रेम सीको नेतृत्वमा पश्चिमबाट, प्रकाश सीको नेतृत्वमा पूर्वबाट र चिरनजीवि सीको नेतृत्वमा काठमाडौंबाट अभियान सुरु भएको थियो । काठमाडौंको अभियान टोलीलाई भक्तपुर जिल्ला इन्चार्ज कृष्णहरी सीले आफ्नो पुस्तक ‘बर्गसंघर्षको विश्वविद्यालयमा तीन बर्ष’ हस्तान्तरण गर्दै स्वागत गरेका थिए ।
भक्तपुर पुगेको टोलीलाई स्वागत गर्दै जिल्ला इन्चार्ज कृष्णहरीले समाजवाद नल्याएसम्म नेपाली श्रमिक जनताले मुक्ति नपाउने बताए । कोणसभालाई सम्बोधन गर्दै उनले नेपालमा अमेरिकाले जेलनेस्की जन्माउने प्रयास गरिरहेको बताउँदै उनीहरुलाई समाजवादी आन्दोलनविरुद्ध प्रयोग गर्न खोजिरहेको दावि गरे । नेकपा माओवादीले जेलनेस्की जन्माउने प्रयासलाई निमिट्यान्न पार्न खोजेको जिकिर गर्दै उनले त्यसका लागि अभियान चलाउनु गरेको बताए ।
कोणसभामा पार्टी केन्द्रीय सदस्य सम्झना सीले अभियानको औचित्य पुष्टि गर्दै सुशीला कार्की नेतृत्वको सरकारलाई बर्खास्त गर्नुपर्ने बताइन् । जेनजी आन्दोलनपछि देशमा तरङ्गीत अवस्थामा अगाडि बढिरहेको बताउँदै राष्ट्रको स्वाभिमान बचाउन, देशलाई निकास दिन नेकपा माओवादी जागरण अभियान थालको बताइन् । उनले सर्वपक्षीय अन्तरिम सरकारका लागि दवाव दिन , संविधानलाई पुर्नलेखन गरेर जनताका अधिकार सुनिश्चित गर्ने सन्देश दिन, राज्यको पुर्नसंरचना, अग्राधिकारसहितको समाजवादी संघीयता गठन गर्नु पर्छ भन्ने सन्देश दिन, जेनजीको माग अनुरूप भ्रष्टाचारीको छानबिन गर्न उच्च स्तरीय आयोग गठन गरिनु पर्छ भन्ने दवाव दिन, भ्रष्टाचारीको मुद्दा हेर्ने उच्चस्तरीय न्यायलय गठन गरिनु पर्छ भन्ने दबाब दिन, कालोधन समाप्त पार्न ५ सय र १ हजारका नोट खारेज गरेर नयाँ दरका नोट छाप्नु पर्छ भन्ने दबाव दिन, शिक्षालाई गुणस्तरीय र निःशूल्क बनाउनु पर्छ भन्ने दबाव दिन, एमसीसी संझौतालाई देशको संविधान, कानून मातहत ल्याउनु पर्छ या खारेज गर्नु पर्छ भन्ने दवाव दिन, २३ गतेको गोलीकाण्ड र २४ गतेको विध्वंसको निश्पक्ष छानबिन गरी कार्वाही गर्नु पर्छ भन्ने दबाब दिन अभियान सुरु गरिएको बताइन् ।
अभियानका सदस्य प्रकाश सीले अमेरिकी कट्पुतली सरकारले जेनजी आन्दोलनका माग पुरा नगरेको बताउँदै त्यसका लागि नेकपाले संघर्ष गरिरहेको दावि गरे । भष्ट्राचारविरुद्ध भएको जेनजी आन्दोलनलाई बालेन शाह जस्ता लुसिफरले कब्जा गरेको बताउँदै उनीहरुकै कारण देशमा अमेरिकाको हस्तक्षेप बढेको जनाए । अमेरिकी हस्तक्षेप बन्द गर्न, जेनजीका माग पुरा गर्न र समाजवादी क्रान्ति सम्पन्न गर्न नेकपा माओवादीलाई आगामी निर्वाचनमा विजयी गराउनसमेत उनले अपिल गरेका थिए । अभियान टोली मंगलबार ललितपुर पुग्ने छ ।
