२४ पुष २०८२, बिहीबार

रवि–बालेन नयाँ हुन् भनेर भ्रममा नपरौं, उनीहरु टेस्टेड मान्छे हुन् : विपिन सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले रवि लामिछाने र बालेन शाहले आफूहरुलाई नयाँ भनेर जनतामा भ्रम छरेको आरोप लगाएका छन् । मंगलबार नेकपा माओवादीको समाजवादी युवा जागरण अभियान टोलीलाई ललितपुरमा स्वागत गर्दै विपिनले रवि, बालेन नयाँ नभएको बताएका हुन् ।

रविले दुई–दुई पटक गृहमन्त्री भएर केही गर्न नसकेको बताउँदै बालेनले पनि काठमाडौंको मेयर भएर जनताको पक्षमा केही नगरेको बताए । उनले रवि, बालेनले आफूहरु नयाँ भनेर जनतामा भ्रम छरिरहेको बताउँदै उनीहरुको भ्रममा पर्न नहुने जिकिर गरे । नेपालमा नयाँ विचार, नयाँ राजनीति र नयाँ नेतृत्व नेकपा माओेवादीसँग रहेको बताउँदै अरु सबैले भ्रम छरिरहेको बताए ।

‘नयाँ भनेको के हो ? नयाँ विचारमा हुनुपर्छ, नयाँ राजनीतिमा हुनुपर्छ । नवउदारवादी अर्थतन्त्र स्वीकार गर्ने कसरी नयाँ भयो ? नयाँ नेतृत्वमा पनि हुनुपर्छ ।’, उनले भने, ‘रवि बालेनसँग के छ ? उनीहरुको को हुन् भन्ने कुरा अझै रहस्यमै छ । उनीहरुसँग चटक बाहेक देश बनाउने एजेण्डा छैन ।’

कार्यक्रममा अखिल (समाजवादी)का अध्यक्ष नरेन्द्र सीले नेपालको संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको बताउँदै नेपालमा समाजवादी आर्थिक कार्यक्रम लागु गर्नुपर्ने बताए । सभालाई सम्बोधन गर्दै जेनजी युवा अटल सीले नेपालको जेनजी आन्दोलन हाइज्याक भएको बताए । उनले जेनजीको अभिभावक दावि गर्ने प्रचण्ड भारतीय खुपिया एजेन्सीसँग गोप्य वार्ता गर्दै षड्यन्त्रको तानाबाना बुनिरहेको बताए । उनले आफूलाई दुःख पर्दा जनताकोमा जाने प्रचण्ड भारतको शरणमा परेको भन्दै विरोध गरेका थिए ।

ललितपुरको लगनखेलमा पुगेको अभियान टोलीले बजारभरी पर्चा वितरण गरेको थियो । पर्चा वितरण पश्चात कोणसभा आयोजना गरिएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।