काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले चलाएको समाजवादी युवा जागरण अभियान टोली सिन्धुपाल्चोक पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रे पछि अभियान टोली सिन्धुपाल्चोक पुगेको हो ।
अभियान टोलीलाई खाँडिचौरका स्थानीयले भव्य स्वागत गरेका छन् । टोलीले दिउँसो काभ्रेको बनेपामा पर्चा वितरण गर्दै, जनतामा नेकपा माओवादीले अगाडि सारेको संघर्षको कार्यक्रमबारे जानकारी दिदै अभियान टोलीले कोणसभा गरेको थियो । पार्टी केन्द्रीय सदस्य चिरन्जीवि सीको नेतृत्वमा रहेको अभियान टोलीले जेनजी आन्दोलनपछि बनेको सरकार एकपक्षिय भएको, जेनजीका माग अनुसार सरकारले काम गर्न नसकेको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै जनतामा जानकारी गराइरहेको छ ।
अभियान टोलीले नयाँ सरकार गठन, एमसीसीलाई संविधान, कानुन मातहत वा खारेज हुनुपर्ने, कालोबजारी नियन्त्रण गर्न १ हजार र ५ सयका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली न्यायालय गठन गर्नुपर्ने भन्दै जनतालाई जागरुक बनाइरहेको छ ।
अभियान टोलीमा चिरनजीविसहित पोलिटब्युरो सदस्य असल सी, विद्यार्थीबाट नरेन्द्र सी, प्रकाश सी, तारा सी, मदन सी युवाबाट अनिल सी, कल्पना सी, पदम सी, विराजन सी मजदुरबाट टेक सी, महिलाबाट विनिता सी, मोर्चाबाट विकास सी र सुदर्शन सी रहेका छन् । त्यस्तै, पार्टी केन्द्रीय सदस्यहरुमा सम्झना सी, काजी सी, प्रकाश सी, प्रशिद्ध सी, आरोह सी तथा पत्रकार शोभराज सी अभियान टोलीमा रहेका छन् ।
पुस २० गतेदेखि काठमाडौंबाट सुरु भएको अभियान ३० गते रसुवा पुगेर समापन हुनेछ ।
