रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले रोल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै महासचिव विप्लव सीलाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
रोल्पालाई ऐतिहासिक राजनीतिक केन्द्रका रूपमा लिँदै पार्टीको वैचारिक तथा संगठनात्मक सशक्तिकरणका लागि विप्लव सीको उम्मेदवारी प्रभावकारी हुने पार्टीको अपेक्षा छ ।
पार्टी स्रोतका अनुसार जनताको अधिकार, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको संघर्षलाई संसदसम्म मजबुत रूपमा पुर्याउने उद्देश्यका साथ विप्लव सीलाई उम्मेदवार बनाइएको हो। लामो समयदेखि राजनीतिक संघर्षमा सक्रिय रहँदै आएका विप्लव सीले रोल्पामा बलियो जनसमर्थन प्राप्त गर्ने पार्टीको विश्वास रहेको छ।
एकल उम्मेदवार सिफारिससँगै रोल्पाको राजनीतिक वातावरण थप तातेको छ। आगामी निर्वाचनमा रोल्पा जिल्लामा चासो र प्रतिस्पर्धा बढ्ने देखिएको छ।
