१ फाल्गुन २०८२, शुक्रबार

जनयुद्धका बाचा भुल्न सकेनौं, त्यही भएर हामी संघर्षमा छौं : माइला सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी), काठमाडौं जिल्ला समितिले ३१ औं जनयुद्ध दिवस नयाँ तरिकाले मनाएको छ । नेकपा माओवादी काठमाडौंले पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माइला लामाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्दै नयाँ तरिकाले जनयुद्ध दिवस मनाएको हो ।

‘३१ औं जनयुद्ध दिवसको अवसरमा आयोजित पत्रकारसँग उम्मेदवार निर्वाचन विशेष भेटघाट’ कार्यक्रमको आयोजना गर्दै माओवादीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारको परिचय गराउँदै चुनाव चिन्ह गुलाफको फूल उपहार दिइएको थियो । कार्यक्रममा उपस्थित बरिष्ठ अधिवक्ता एकराज भण्डारीले प्रत्यक्षतर्फका १० र समानुपातिकतर्फबाट २ जना उम्मेदवारलाई चुनाव चिन्ह गुलाफ प्रदान गरेका थिए ।

साथै, कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा बेपत्ता योद्धा विपिन भण्डारी बुवा एकराज भण्डारीले उपस्थित सबैलाई अविर लगाइदिएर शुभकामन आदानप्रदान गरेका थिए । सम्मान तथा चुनाव चिन्ह प्रदानपछि सम्बोधन गर्दै माइला लामाले नेकपा माओवादीले जनयुद्धमा गरेका बाचाहरु भुल्न नसकेको बताए । जनयुद्धका बाचाहरु भुल्न नसकेकै कारण आफूहरु संघर्षमै रहेको बताउँदै निर्वाचनमा आफू लगायत माओवादी उम्मेदवार जिताउन अनुरोध गरेका थिए ।

‘हामी संघर्षमै छौं । अहिले हामीले संघर्षको नयाँ मोर्चा खोलेर निर्वाचनलाई प्रयोग गर्ने नीति बनाएका छौं । सोही नीति अनुसार हामीले यो पटकको निर्वाचनमा भाग लिएका छौं ।’, उनले भने, ‘यो निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार विजय गराएर समाजवादी आन्दोलनको नयाँ मोर्चामा सहयोग गर्न हाम्रो अनुरोध छ ।’

उनले आफ्नो निर्वाचन क्षेत्रमा मानव तस्कर, भ्रष्ट र दलालहरुको उम्मेदवारी परेको स्मरण गर्दै उनले आफू उनीहरुसँगकै संघर्षमा होमिदा जनयुद्ध पछि पनि पटक–पटक जेलजीवन विताउनु परेको बताए । नेपालमा पछिल्लो पटक केही चटकेका कारण देश विदेशीको गुलाम बनेको बताउँदै यसबाट मुक्त गर्न नेकपा माओवादी उम्मेदवारले जित्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारीले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाको बलिदान खेर जान दिन नहुने बताए । नेपालमा जनयुद्ध नभएको भए सामान्तवादको अन्त्य नहुने बताउँदै जनयुद्धकै कारण राजतन्त्र ढलेको स्मरण गरे । सहिद तथा वेपत्ता योद्धाको योगदानको अपमान हुनेगरी १० बर्षे जनयुद्धमाथि प्रहार भएकोमा दुःख व्यक्त गर्दै उनले नेकपा माओवादीले यसका विरुद्धमा निरन्तर संघर्ष गरिरहनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।