८ बैशाख २०८१, शनिबार

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन अक्टोबर १६ देखि

0

वेइजिङ,  सिन्ह्वा । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले मङ्गलबार चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २० औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन अक्टोबर १६ मा बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।

बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अक्टोबर ९ मा बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ । सम्पूर्ण पार्टी र सिङ्गो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २० औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्वपूर्ण हुने बताइएको छ ।

महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको लक्ष्यमा माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने जनाइएको छ ।

त्यसैगरी महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्नको लागि परिचालन गर्ने पनि बताइएको छ ।

पञ्चक्षेत्रीय एकीकृत योजना र चारपक्षीय एकीकृत योजनालाई अगाडि बढाउनको लागि पार्टी सदस्यहरू र देशभरका सबै जातजातिका मानिसहरूलाई परिचालन गरिने पनि बताइएको छ । साथै सबैको साझा समृद्धिलाई अगाडि बढाउने, पार्टी निर्माणको नयाँ परियोजनालाई अगाडि बढाउने र मानवताको साझा भविष्यसहितको समुदायको निर्माणलाई प्रवद्र्धन गर्ने गरी समन्वयात्मक ढङ्गले विस्तारित बृहत् रणनीति निर्माण गरिने पनि जनाइएको छ ।

चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउनका लागि सबै पार्टीका सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न परिचालन गरिने बताइएको छ । महाधिवेशनले अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिको गहन समीक्षा गर्दै नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापकरूपमा बुझ्ने गरी निर्णय लिनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।