१३ बैशाख २०८१, बिहीबार

यी सातको हातमा आयो चिनियाँ शासनको बागडोर

0

काठमाण्डौं । अबको पाँच वर्ष चीनको शासन चलाउने सात नेताको नाम आइतबार सार्वजनिक भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति राष्ट्रपतिको क्याबिनेटसरह हो ।

पार्टीका उच्चतम नेताहरुमध्ये पनि सम्भ्रान्त मानिने उनीहरुलाई सो स्थानमा पुग्न गतिलो राजनीतिक कामकारबाही त आवश्यक पर्छ नै, आन्तरिक प्रतिस्पर्धामा निकै ठूलो चलाखी पनि चाहिन्छ ।

निश्चित कार्यकाल सकिएपछि स्थायी समितिमा व्यापक परिवर्तन हुनु अनौठो होइन, यसपटक पनि त्यस्तै भयो । सी चिनफिङले नै रोजेका यी नेताहरुमध्ये धेरैजसो नयाँ अनुहार हुन् । चाओ लेची र वाङ हुनिङ चाहिँ यसअघि पनि स्थायी समितिमा थिए ।

पोलिट्ब्युरोको एक सदस्य कटौती गरेर २४ झारिए पनि स्थायी समितिलाई परिवर्तन गरिएको छैन । प्रधानमन्त्री पदका दाबेदार मानिएका ५९ वर्षीय हु चुनहुवा पोलिट्ब्युरोमा अटाएका छैनन् । र, कम्युनिस्ट पार्टीको शीर्ष तहमा एक जना पनि महिला छैनन् ।

यी सबै नेता सीप्रति वफादार मानिन्छन् । सीले अभूतपूर्व रुपमा पार्टी महासचिवको तेस्रो कार्यकाल सुरु गरेका छन् । उनको नेतृत्वमा आगामी पाँच वर्ष चीनको शासन सञ्चालन गर्ने अन्य ६ नेता यसप्रकार छन्:

ली चियाङ

उमेर : ६३
हालको पद : सांघाइको पार्टी सचिव

ली सीको विश्वासपात्र मानिन्छन् । लीले सेस्याङ प्रान्तका साना काउन्टीहरुमा पनि काम गरेका थिए । सी सेस्याङ प्रान्तको पार्टी सचिव हुँदा ली उनका चिफ अफ स्टाफ थिए ।

गत फेब्रुअरीमा सांघाइमा ओमिक्रोन भेरियन्ट फैलिएपछि उनी र उनको टोली आलोचित बनेको थियो । त्यसले उनको राजनीतिक करिअरमा धक्का पुग्नसक्ने आशंका गरिएको थियो ।

तर, स्थायी समितिमा उनको नियुक्तिसँगै सो सन्देह हटेको छ । स्थायी समितिको वरीयतामा सीपछि रहेका उनी आउँदो मार्चमा प्रधानमन्त्री नियुक्त हुने आकलन छ ।

चाओ लेची

उमेर : ६५
हालको पद : केन्द्रीय अनुशासन आयोगको प्रमुख

चिनियाँ कम्युनिस्ट पार्टीमा चाओ उदाउँदो नेताका रुपमा चिनिँदै आएका छन् । उनी सीजस्तै सान्सी प्रान्तसँग जोडिएका व्यक्ति हुन् ।

छिङहाइ प्रान्तीय सरकारमा प्रवेश गरेपछि उनी तीव्र गतिमा माथि उक्लिन थाले। ४२ वर्षकै उमेरमा उनी प्रान्तीय गभर्नर बने। सो पदमा पुग्ने सबैभन्दा कान्छा व्यक्ति उनै हुन् ।

भ्रष्टाचारविरोधी अनुशासन आयोगमा बसेर उनले पार्टीको अनुशासन कायम राखे । गएका वर्षहरुमा घुस लिएका अनेकौँ उच्च नेताहरुलाई कारबाही गरे ।

तेस्रो वरीयतामा उक्लिएका उनी अब राष्ट्रिय जनकंग्रेस अर्थात्, संसदको अध्यक्ष हुनेछन् । 

वाङ हुनिङ

उमेर : ६७
वर्तमान पद : कम्युनिस्ट पार्टी सचिवालयको प्रथम सचिव

वाङ पहिले प्राध्यापक तथा विद्वान थिए। वरिष्ठ नेताहरुको नजरमा परेपछि उनी तीव्र गतिमा माथिल्लो पदमा पुगे । त्यसपछि उनको सिफारिस तत्कालीन राष्ट्रपति चियाङ चेमिनकहाँ पुग्यो । जसले उनलाई आफ्नो सल्लाहकारमा बढुवा गरे ।

उनी पार्टीको राजनीतिक सिद्धान्तकारका रुपमा परिचित छन् । त्यसैले पछिल्ला तीन नेताहरुले अघि सारेका सिद्धान्तहरुको जस उनैलाई जाने गरेको छ । जसमा चियाङ चेमिनको तीन प्रतिनिधित्व, हु चिन्ताओको विकासको वैज्ञानिक दृष्टिकोण र सी चिनफिङ विचारधारा छन् । 

चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसियटिभ पनि उनकै देन भएको विश्वास गरिन्छ ।

पार्टीका सबै समूहसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ। उनी अब चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको अध्यक्ष हुनेछन्। जसले चीनका अन्य पार्टी तथा पार्टीबाहिरका गतिविधिहरुको संयोजन समेत गर्नेगर्छ ।

काइ ची

उमेर : ६६
हालको पद : बेइजिङको मेयर

सीका निकटस्थ काइले उनको मातहतमा फुचियान र सेस्याङ प्रान्तमा काम गरेका थिए। उनले सीप्रति पूर्ण वफादारिताको आह्वान समेत गरेका थिए ।

गत हिउँदमा महामारीका बीच बेइजिङ हिउँदे ओलम्पिकको सफल आयोजनाको जस उनलाई गएको थियो ।

२०१७ मा राजधानीको जनसंख्या घटाउने उनको योजना विवादास्पद बनेको थियो। जसले कम आय भएका मानिसहरुलाई त्यहाँबाट विस्थापित गरेको थियो । 

अब उनी पार्टी सचिवालयको प्रथम सचिव अर्थात् पार्टी सञ्चालनका लागि जिम्मेवार हुनेछन् ।

तिङ सुइसियाङ

उमेर : ६०
हालको पद : राष्ट्रपति कार्यालयका निर्देशक

पेसाले इन्जिनियर तिङले आफ्नो राजनीतिक करिअर सांघाइस्थित एक सरकारी रिसर्च सेन्टरबाट सुरु गरेका थिए ।

चीनमा प्रान्तीय सरकार तथा पार्टी सचिवको जिम्मेवारीलाई शक्तिको सिँढीमा माथि चढ्न आवश्यक मान्ने गरिन्छ । यी दुवै अनुभव तिङलाई छैन । तैपनि २००७ मा उनी सीका सचिव बने। २०१४ देखि उनी राष्ट्रपति कार्यालयका प्रमुख रहँदै आएका छन् । 

सी चिनफिङ विचारधाराको वकालत गर्ने उनी सीका सबैभन्दा विश्वसनीय पात्रमध्ये एक हुन्। चीनभित्र र बाहिर सीका थुप्रै यात्रामा उनी साथ जान्छन् । पछिल्ला वर्षहरुमा सीसँग सबैभन्दा ज्यादा समय बिताउने नेता उनी नै मानिन्छन् ।

ली सी

उमेर : ६६
हालको पद : क्वाङतोङ प्रान्तको पार्टी सचिव

सी चिनफिङको परिवारसँग निकट सम्बन्ध भएका ली २०१७ मा लियाओनिङ प्रान्तको आर्थिक तथ्यांकसम्बन्धी संकट समाधानकर्ताका रुपमा परिचित छन् ।

राजनीतिक रुपले महत्वपूर्ण मानिने यनान प्रान्तको पार्टी सचिव रहिसकेका छन् उनी । जुन ठाउँलाई माओले दोस्रो विश्वयुद्धताका पार्टीको मुख्यालयका रुपमा प्रयोग गरेका थिए। र, सीले पनि सात वर्ष सोही ठाउँमा कठिन श्रम गरेर बिताएका थिए ।

क्वाङतोङ प्रान्तमा लीले प्रविधि उद्योग र आर्थिक सुधारलाई अघि बढाएका थिए ।

ली सी भ्रष्टाचारविरोधी सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनका प्रमुख हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।