१७ बैशाख २०८१, सोमबार

साम्राज्यवादी र साम्यवादी शक्तिहरु बीचको टक्कर उत्कर्षमा छ : विषम

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगर `विषम´ले अहिले साम्राज्यवादी र साम्यवादी शक्तिहरु बीचको टक्कर उत्कर्षमा गइरहेको बताउनु भएको छ ।
शुक्रबार काठमाडौँमा राष्ट्रिय वामपन्थी मञ्चको प्रथम भेलाको उद्घाटन गर्दै नेता विषमले साम्राज्यवादले नेपालमा मात्र होइन विश्वका कम्युनिष्टहरु सिध्याउन खोजिरहेको खुलासा गर्नुभयो ।
उहाँले कम्युनिष्टहरुले पनि साम्राज्यवादीहरुको हस्तक्षेप र दमनलाई परास्त पार्दै सर्वहारा श्रमजीवी वर्गको सत्ता ल्याउन चाहेकाले दुई विचार, दुई वर्ग र दुई दृष्टिकोण बीचको टक्कर हुने गरेको ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो “अब साम्राज्यवादका विरुद्ध कम्युनिष्टहरु एक भएर कसरी कम्युनिष्ट सत्ता प्राप्त गर्ने ? चुरो कुरा यहि हो, जनताको पनि कम्युनिष्ट एक भईदिए हुन्थ्यो भन्ने चाहाना राख्छन् । त्यसकारण सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी शक्तिहरु एकताबद्ध हुन जरुरी छ ।”
उहाँले एमसीसी एसपीपी विरुद्धको आन्दोलन र त्यसप्रतिको आत्मसमर्पण गरी कार्यान्वयन गर्न खोज्ने संसदवादी शक्तिसँगको टक्कर नेपालको मात्र नभएर साम्राज्यवादसँगको टक्कर भएको दावी गर्नुभयो । साम्राज्यवादका दलाल भएर संसदवादीहरु सत्तामा आएकाले नेपालका संसदवादी मात्र नभई साम्राज्यवादी एजेण्ड हुन पुगेको आरोप लगाउनु भयो ।
सचिवालय सदस्य विषमले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेर देशलाई युद्धको भड्कालोतिर लिन खोजेको आरोप लगाउदै तीन बुँदे सहमति कार्यान्वयन नगरे त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिनु भयो ।
आफ्नो पार्टी राजनैतिक समाधान चाहिरहेको भन्दै नेता विषमले भन्नुभयो “हामी कानुनी उपचार नभई राजनीतिक सहमति कार्यान्वयन चाहन्छौँ, सरकार भने कानुनी उपचार चाहन्छ । यस्तो बेला सरकारले कि त सहमति कार्यान्वयन गर्छौँ भन्नु पर्यो कि त गर्दैनौँ भन्नु पर्यो ।” 

राष्ट्रिय वामपन्थी मञ्चका संयोजक दिर्घ प्रसाद पाण्डेले आफ्नो मञ्चकोबारे प्रकाश पार्दै नेपालमा जडसुत्रवाद र व्यवहारवादले कम्युनिष्टहरु लक्ष्यमा पुग्न नसकेको आरोप लगाउनु भयो । उहाँले नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउने शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्ति, विभिन्न पार्टीसँग आस्था राख्ने र देशको बेथितिबारे विरोध गर्ने शक्तिहरु बीचको एकता
जरुरी भएको बताउनु भयो ।
उहाँले वामपन्थी मञ्च सबै वाम बुद्धिजीवीहरुको साझा मञ्चको रुपमा विकास गर्न खोजीको प्रष्ट पार्नु भयो । संयोजक पाण्डेले कम्युनिष्टहरु राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्षमा एकताबद्ध हुनुको विकल्प नभएको प्रष्ट्याउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी समाजवादीका केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकालले एमसीसी एसपीपी र नागरिकता विद्येयक जस्ता राष्ट्रघाती सम्झौताहरु सरकारले गरेको आरोप लगाउनु भयो ।
ऋषि कटेल नेतृत्वको नेकपाका सचिवालय सदस्य अर्जुन कार्कीले वामपन्थी, कम्युनिष्ट सबै शक्तिलाई राष्ट्रिय वामपन्थी मञ्चले समेट्न सक्नु पर्ने सुझाव दिनु भयो ।

जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले भेला सफलताको शुभकामना दिर्दै नेपालमा संसदीय यथास्थितिवादी धारा र कम्युनिष्ट क्रान्तिकारी धारा बीचको लडाई भइरहेको प्रष्ट्याउनु भयो ।
उहाँले सरकारको खबरदारी गर्ने वा विरोध गर्ने शक्तिलाई वामपन्थी भन्ने गरिएपनि नेपालको सन्दर्भमा कम्युनिष्टहरु पनि वामपन्थीमा रहने गरेको बताउनु भयो ।
भेलाको स्वागत मन्तव्य डा. भगवान चन्द ज्ञवालीले दिदै वामपन्थीहरुको एकता अहिलेको आवश्यकता भएको जिकिर गर्नु भयो ।
राष्ट्रिय वामपन्थी मञ्चका संयोजक पाण्डेको अध्यक्षतामा उद्घाटन भएको भेलाको संचालन सुदर्शन मंगोलले गर्नु भएको थियो । भेलाको बन्द सत्रले नयाँ कार्यसमिति निर्वाचित गर्ने राष्ट्रिय वामपन्थी मञ्चले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।