१५ चैत्र २०८०, बिहीबार

नेपालमा वैज्ञानिक समाजवाद नआएसम्म संसदीय व्यवस्थाको कुशासन चलिरहन्छ: शितल

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलबहादुर ओली ‘शितल’ले नेपालमा वैज्ञानिक समाजवाद नआएसम्म संसदीय व्यवस्थाको कुशासन चलिरहने बताएका छन् ।

नेकपा सल्यानको छैठौं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भएको बताए । उनले भने, ‘अहिले संसदीय व्यवस्थामा जनताको विश्वास छैन । विस्तारै संसदीय व्यवस्थाको मत पनि घट्दैछ । अहिले निर्वाचनमा गएर भोट हाल्न जनताको रुचि पनि छैन ।’

नेपालका संसदवादी पार्टीहरुले देश र जनतालाई आघात पुर्याएर काम गरिरहेकाे समेत उनको भनाई थियो । विदेशीहरुलाई पोस्ने खालको नीति नियम बनाएर नेपाल र नेपाली जनतामा संसदवादीहरुले घात गरेको उनले बताए ।

उनले भने, ‘जनताप्रति संसदवादीहरुको कुनै माया र अभिलाषा छैन । विदेशीहरुलाई पोस्ने काम उनीहरुको मुख्य काम हो । यिनीहरुकै कारण नेपालमा विदेशीको ठाडो हस्तक्षेप छ ।’

संसदवादीहरुले सिधै वैधानिक भ्रष्टाचार गरिरहेको नेता शितलको आरोप छ । जनताको सेवा गर्नेहरुले तलब खाने नहुँने तर्क गर्दै उनले जनताको करले अहिलेका जनप्रतिनिधिहरुलाई पाल्न ठिक्क भएको बताए ।

आफ्नो पार्टी अहिले संख्यात्मक रुपमा कम जस्तो देखिए पनि गुणात्मक रुपमा बढिरहेको उनले बताए । अब वैज्ञानिक समाजवादमा पुग्नको लागि एकीकृत जनक्रान्तिलाई आत्मसात गर्दै आफुहरु अगाडि बढ्ने उनले बताए ।

जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय सदस्य शितलको प्रमुख आतिथ्यता रहेको थियोे । सम्मेलनमा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेल, विभिन्न जनवर्गीय मोर्चाका नेताहरु लगायतको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।