४ बैशाख २०८१, मंगलवार

नेकपा दोलखाको सम्मेलनबाट सेक्रेटरी अर्जुन योगीसहित ३१ सदस्यीय जिल्ला समिति निर्वाचित

0

चरिकोट, दोलखा: नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन ‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन ! वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन !!’ भन्ने मूल नाराका साथमा भदौ २४ गते जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन समारोह पूर्व सयौं जनसमुदायहरुको -याली प्रदर्शन गरिएको थियो । पन्चेबाजा र झाँकीसहित भएको उक्त प्रदर्शन दोलखा जिल्लाको सदरमुकाम चरिकोटको चरिघ्याङ्गबाट शुरु भई सातदोबाटो चोक हुँदै सडक विभाग गेट पुगेर पुनः सातदोबाटो चोक हुँदै चरिघ्याङ्गसम्म पुगेको थियो ।

प्रमुख अथिति पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) बाट ६ वटा दीप प्रज्वलन गरी उद्घाटन भएको सम्मेलनको अध्यक्षता जिल्ला सेक्रेटरी अर्जुन योगीले गरेका थिए । कार्यक्रम संचालन जिल्ला सचिवालय सदस्य राजकुमार लामिछानेले र स्वागत मन्तव्य जिल्ला सचिवालय सदस्य राजन धनुकेले गरेका थिए ।
त्यस्तै अतिथिहरुमा पार्टीका विशेष समिति सदस्यहरु यादव दाहाल, संजीप नेपाली, अनेरास्ववियू (क्रान्तिकारी) का नेतृ प्रजिना दर्नाल र आदरणीय सहिद परिवारहरुको उपस्थिति थियो । जिल्लाका विभिन्न क्षेत्रबाट जनताको उत्साहजनक एवं भव्य सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि क. प्रेम दर्नाल (विकल्प) ले यो सम्मेलन दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था ढाल्नको निमित्त निर्णायक संघर्षको उद्घाटन भएको बताए । आफ्नो महत्वपुर्ण भनाईका क्रममा उनले मालेमावादी विचारको रक्षा, विकास र प्रयोग गर्दैआएको  र पार्टीको स्थापनाकालदेखि नै एकिकृत जनक्रान्तिलाई दृढतापूर्वक नेपाली धर्तीमा संचालन गरिरहेकोले अहिलेको जनविरोधी सत्ता विघटनको डिलमा पुगेको बताए । उनले भने, “अब जनताको शक्तिशाली आन्दोलनको आँधीबेरी यो सत्तालाई अन्त्य गर्नुपर्छ र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ ।”
देश र जनताको चम्किलो भाग्य र भविष्यको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरिने बताए । उनले नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवको नेतृत्वमा एकिकृत जनक्रान्तिबाट नै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने बताउदै वैज्ञानिक समाजवादी व्यवस्थामा जनताले प्राप्त गर्ने अधिकारहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए । आफ्नो मन्तव्यका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका बीचमा भएको तीनबुँदे सहमति पूर्ण रुपमा कार्यान्ययन गर्नुपर्ने, कथित पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने, झुट्ठा मुद्दाहरु तुरुन्त खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता तुरुन्त खारेज गर्नुपर्ने, चर्को महंगी र मूल्य वुद्धि तुरुन्त खारेज गनुपर्ने, दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थाको चरम् भ्रष्टचार, अनियमितता, बेरुजुको तुरुन्त छानबिन गरी भ्रष्टचारीहरुलाई कडा कार्वाही गर्नुपर्ने, राष्ट्रघाती, जनघाती, भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताए । यदि यो राज्यको सम्बन्धित निकायहरुबाट कार्वाही नभएमा आफ्नो पार्टीले नेतृत्व गर्ने संघर्षको तागतले सबैखाले अन्याय, अत्याचार, भ्रष्टचार, अनियमिततालाई खरानी बनाइदिने समेत उनले बताए । आफ्नो महत्वपूर्ण भनाईका क्रममा उनले अहिलेको विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, दोलखाको पार्टीले गर्नुपर्ने कामहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए भने दलाल पुँजीवादी व्यवस्था, दलाल संसदीय व्यवस्था, यसका दलाल संचालकहरु, यथास्थितिवाद, संसदवाद, दक्षिणपन्थी संसोधनवाद, जडसुत्रीय संशोधनवाद, फुटवादका विरुद्धमा निर्ममतापूर्वक संघर्ष गर्नका निमित्त आम न्यायप्रेमी देशभक्त दोलखाली जनसमुदायहरुलाई अपिल समेत गरेका थिए । उनले भने, “म दोलखाबासी जनतालाई संसदवादी पार्टी र नेताहरूको भ्रममा नपर्न र एकीकृत जनक्रान्तिमा लामबद्ध भएर वैज्ञानिक समाजवाद स्थापनाको निम्ति गोलबन्द हुन सबैलाई अपिल गर्दछु ।”

सबै पार्टी भित्रका देशभक्त प्रगतिशील क्रान्तिकारी साथीहरुलाई आफ्नो पार्टी सदैव स्वागत गर्न तयार रहेको बताए । यो सम्मेलनको उद्घाटन समारोहमा भने संजीप नेपालीले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनको बन्द सत्र समारोहमा ४७४ जना प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहेको थियो । उक्त बन्द सत्र समारोहमा राजन धनुके, राजकुमार लामीछाने, बसुन थामी रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । उक्त अध्यक्ष मण्डलको तर्फबाट राजन धनुकेले बन्द सत्र समारोहको संचालन गरेका थिए । उक्त बन्द सत्रमा अर्जुन योगीले ‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन ! वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन !!’ भन्ने शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने उक्त प्रतिवेदन एकमतले पारित भएको थियो । तत्पश्चात बन्द सत्र समारोहमा प्रमुख अतिथि प्रेम दर्नाल (विकल्प) ले अर्जुन योगीको नेतृत्व (सेक्रेटरी) मा ३१ सदस्यीय दोलखा जिल्ला समितिको प्रस्ताव पेश गरेका थिए, उक्त प्रस्ताव एक मतले पारित भएको थियो ।
तत्पश्चात निर्वाचित समितिलाई यादव दाहालले बधाई मन्तव्य दिएका थिए । उक्त सम्मेलनको उद्घाटन समारोह र बन्द सत्रमा जनवादी कलाकारहरुले आधा दर्जन प्रस्तुति प्रदर्शन गरेका थिए । यसरी नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन सानदार र भव्य रुपमा सम्पन्न भयो ।

यसै क्रममा भर्खरै नवनिर्वाचित दोलखा जिल्लाका सेक्रेटरी अर्जुन योगीसँग कुराकानी गरेका थियौं जसको सम्पादित अंश:

१) तपाईंहरुले भर्खरै भव्यतापूर्वक ऐतिहासिक दोलखा जिल्लाको छैटौं जिल्ला सम्मेलन सम्पन्न गर्नुभयो र सम्मेलनले तपाईलाई गरिमामय जिल्ला सेक्रेटरीमा निर्वाचित गर्नुका साथै ३१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । यसको सन्देश के हो ?

उत्तर– हो, हामीले हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन भदौ २४ गते दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा भव्यतापूर्वक सम्पन्न गर्यौ । उक्त सम्मेलनले मेरो नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । दोलखा जिल्लाबासी उत्पीडित जाति-जनजाति, वर्ग, क्षेत्र, लिङ्ग, दलित, महिला सबैको प्रतिनिधित्व भएको छ । सबै जनताको हित प्रतिनिधित्व गर्ने क्रान्तिकारी पार्टी बनेको छ । यसको सन्देशको कुरा गर्नुहुन्छ भने निश्चय नै भावी दिनहरुका दोलखा जिल्ला समितिले पहिलो सन्देश नेपालको दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र यसका दलाल संचालकहरुले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका क्षेत्रमा दलाल भ्रष्ट नेताहरुले गरेका राजनैतिक तथा आर्थिक अपराधहरूको विरुद्धमा दृढतापूर्वक संघर्षको नेतृत्व गर्दै दोलखाली श्रमिक जनतालाई विजयी गराउन सकिन्छ भन्ने स्पष्ट सन्देश रहेको छ । दोस्रो, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौताको अन्त्य गरेर राष्ट्रिय स्वाधीनताको रक्षा र पूर्ण जन अधिकार प्राप्तिका निम्ति दोलखा जिल्लाको तर्फबाट उच्च संघर्षको नेतृत्व प्रदान गर्न जिल्ला पार्टी र नेतृत्व सक्षम छ भन्ने रहेको छ । तेस्रो, नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका बीचमा भएको तीनबुँदे सहमति पूर्ण रुपमा कार्यान्ययन गर्नका खातिर जिल्लाबाट गर्नुपर्ने उच्च संघर्षमा जिल्ला पार्टी सदैव सक्षम छ भन्ने रहेको छ । चौथो, नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. विप्लव, प्रवक्ता क. प्रकाण्डलगायतका नेता, कार्यकर्ताहरुमाथि जारी गरेको कथित पक्राउ पुर्जी, पार्टीका नेता, कार्यकर्ताहरुमाथि लगाइएको झुट्ठा मुद्दाहरु विरुद्धमा दोलखाको भुमिबाट संघर्ष गरी दलाल शासकहरुलाई धुलो चटाएर पक्राउ पुर्जी र झुट्ठा मुद्दाहरु खारेज गर्न दोलखा जिल्ला पार्टी हरदम अघि बढिरहेको छ भन्ने रहेको छ । पाचौं, दलालहरुले झुट्टा मुद्दाहरु लगाएर बन्दी बनाइएका कमरेडहरुको स–सम्मान रिहाइको लागि दोलखा जिल्ला पार्टी जस्तोसुकै मुल्य चुकाउन पनि तयार छ भन्ने सन्देश दिएको छ । छैटौं, चर्को महंगी र मूल्य वृद्धिका विरुद्धमा, भ्रष्टचार, अनियमितताका विरुद्धमा, दलाल शासकहरुको अन्याय, अत्याचार, शोषण, दमनका विरुद्धमा एकीकृत जनक्रान्ति संचालन गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न दोलखा जिल्ला पार्टी दोलखाले दोलखाबासी जनताको आशा, भरोसा र विश्वासको केन्द्र बनेको प्रमाणित भएको छ ।

२) दोलखा जिल्लामा भएका अन्य राजनीतिक पार्टीहरुको विश्लेषण कसरी गर्नुहुन्छ र यहाँहरुको संघर्षको निशाना कहाँ हो ?

उत्तर–  राष्ट्रिय राजनीतिक परिस्थिति र राष्ट्रिय रुपमा भएका राजनीतिक पार्टीहरुको सन्दर्भमा पार्टी केन्द्र्रीय समितिको विश्लेषण जस्तो रहेको छ, दोलखाको सन्दर्भबाट भन्नुपर्दा हामी ठीक त्यही मूल्याङ्कनका आधारमा कार्यान्वयन गर्दै अघि बढिरहेका छौं । 

यहाँको सन्दर्भको कुरा गर्दा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाद्वारा पालित पोषित सबै संसदवादी पार्टीहरू एमाले-कांग्रेस-माओवादी-मधेसवादी सबै दल भित्र रहेका राष्ट्रघाती-जनघाती दलालहरुका विरुद्ध नै संघर्ष केन्द्रित हुनेछ । राष्ट्रघाती एमसीसी/एसपीपी सम्झौताको लाईनमा नवऔपनिवेशिकरणको प्रक्रियामार्फत नेपालको स्वाधीनतालाई नै समाप्त पार्ने खेलमा लागेका दलाल पार्टीहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी पार्टी र सरकारका विरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बेला भएको छ । अब सच्चा कम्युनिष्ट क्रान्तिकारी एवं वैज्ञानिक समाजवादीहरू एकातिर र अर्कोतिर जनघाती/राष्ट्रघाती दलाल पूँजीवादीहरु अर्कोतिर हुने ध्रुवीकरणका आधारमा संघर्षको मोर्चालाई अघि बढाउने छौं । यसको अर्थ दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थाको विकल्पको खोजीमा भएका प्रगतिशील शक्तिहरुसँग सहकार्य हुन्छ । 

हाम्रो संघर्षको निशानको कुरा गर्नुहुन्छ भने यिनै राजनैतिक दलालहरुलाई चर्को संघर्षद्वारा खरानी बनाउनु नै हाम्रो प्रमुख काम रहेको छ । यसको लागि हामी बलिदानको अनिवार्य कोटा चुक्ता गर्न पनि सदैव तयार छौं । दोस्रो, विचारधारात्मक हिसाबले दोलखामा हावी भएको घोर दक्षिणपन्थी संशोधनवाद, घोर दक्षिणपन्थी आत्मासमर्पणवाद, यान्त्रिक जडसुत्रीय संशोधनवादका विरुद्धमा हामी तीव्र रुपमा प्रहार गर्नेछौं । तेस्रो, अपर तामाकोशी जलविद्युत आयोजनामा भएको चरम् भ्रष्टचारका विरुद्धमा, विभिन्न जलविद्युत आयोजनाहरुले स्थानीय जनताहरुले पाउने अधिकारहरु नदिएको विरुद्धमा, दलाल सत्ताको स्थानीय निकायहरुमा, सरकारी, गैह्रसरकारी कार्यालयहरुमा भएका चरम भ्रष्टचार, अनियमितता, बेरुजुका विरुद्धमा, काठ तस्कर, बन्यजन्तु तस्कर, जडीबुटीहरु तस्करका विरुद्धमा, अवैधानिक रुपमा संचालन भएका क्रसरहरुका विरुद्धमा, अवैधानिक रुपमा संचालित नसिङ्ग कलेजका विरुद्धमा, नीजि शैक्षिक संस्थाहरुले असुलेको चर्को शुल्कका विरुद्धमा,  नीजि अस्पतालहरुले मापदण्ड नपूर्याएको र चर्को शुल्क असुलेको विरुद्धमा, श्रमजीवी जनताको जीवन, व्यवहार ध्वसं पारेका मिटर ब्याजीहरुका विरुद्धमा, जिल्लामा रहेका सहकारी संस्थाहरुमा भएको चर्को भ्रष्टचार, अनियमितताका विरुद्धमा, औषधी टेण्डरमा भएको अत्यन्तै गैह्रजिम्मेवार पूर्ण तरिकाका विरुद्धमा, समयमा काम नसकी जनताको जीवनमा गम्भीर समस्याहरु पार्ने ठेकेदार,कालोबजारीयाका विरुद्धमा हामी भीषण संघर्षको नेतृत्व गर्नेछौं र देशव्यापी रुपमा विजयको नयाँ सन्देश प्रवाह गर्नेछौं ।

३) दोलखाबासी जनताको मुक्ति आन्दोलनलाई यहाँहरुले कसरी अगाडि बढाउनु हुन्छ ?

उत्तर– दोलखाबासी जनताको मुक्ति आन्दोलनको कुरा गर्नुहुन्छ भने हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई उच्च ढङ्गले दोलखाली भुमिमा कार्यान्वयन गर्दा मात्रै  यहाँको जनताको मुक्ति आन्दोलनको सार्थकता रहन्छ । तसर्थ हामी हाम्रो पार्टीको दृष्टिकोण, कार्यदिशा र नेतृत्वको निर्देशनअनुसार यहाँको आन्दोलनलाई अगाडि बढाउने छौं । जतनाको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारका सवालमा निरन्तर कडा रुपमा संघर्ष अगाडि बढाउने छौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।