
नेपाल कम्युनिस्ट पार्टी ललितपुरको नवाैँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले सेक्रेटरी ललित सहित ४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
सम्मेलन अतिथिहरु पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज माइला लामा, पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज आस्था, केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हितमान, युवा संगठन नेपालको केन्द्रीय अध्यक्ष पाटन, अखिल (कान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश शाही लगायत विभिन्न जवस माेर्चाका नेताहरुको उपस्थितिमा भएको थियो ।
सम्मेलनलाई सम्बाेधन गर्दै नेकपाका प्रवक्ता खडग् बहादुर विश्वकर्मा (प्रकाण्ड) ले आफ्नो पार्टीले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले पार्टीलाई हराउन नसक्ने बताउनु भएको छ ।
नेकपा ललितपुर जिल्लाको नवौं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रवक्ता प्रकाण्डले जनता भन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको बताउनु भयो ।
उहाँले एकीकृत जनक्रान्तिको सिद्धान्तबाट नेपालमा समाजवादी क्रान्ति पूरा हुने दाबी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न नसक्ने ठोकुवा गर्नु भयो ।
उहाँले संसारमा पूँजीवादी र साम्राज्यवादीहरुले जनताको क्रान्तिलाई कहि पनि रोक्न नसेकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि आफ्नो पार्टीले लिएको जनताको मुक्तिको लाइन र क्रान्तिलाई रोक्न नसक्ने उद्घोष गर्नु भयो ।
उहाँले भन्नु भयो, “बरु पार्टीले लिएको लाइनलाई नेता कार्यकर्ताले बुझ्न सक्नु पर्छ, जनतासँगको सम्बन्ध प्रगाढ गर्नु पर्छ, पार्टीको लाइनलाई ठिक ढंगले क्रान्तिकरीहरुले समात्नु सक्नु पर्छ ।”
प्रवक्ता प्रकाण्डले पार्टीले लिने लाइनलाई बुझ्न नसक्नुले पार्टीमा कहिलेकाँही भ्रम पैदा हुने गरेको र कञ्चन सुदर्शनहरुसम्म आउँदा उनीहरु पनि त्यसको सिकार भएको बताउनु भयो ।
उहाँले पार्टी क्रान्तिकारी विचार र लाईनमा प्रतिबद्ध छ र तपाई नेताकार्यकर्ताहरु पनि पार्टीको क्रान्तिकारी विचार र लाइनमा प्रतिबद्ध हुनुहोस्, भन्नु भयो । प्रवक्ता प्रकाण्डले नवौं महाधिवेशनमा पार्टी जान लागेको भन्दै यो महाधिवेशनले विश्व क्रान्तिको लागि केही नयाँ विश्लेषण र संश्लेषण गर्ने बताउनु भयो ।
उहाँले नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको आरोप लगाउनु भयो ।
प्रवक्ता प्रकाण्डले तीन बुँदे विपरित नेकपा महासचिव सहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि राजनैतिक स्थितिमा फेरबदल आएको दावी गर्दै नेपालको दलाल पूँजीपति सत्ताको एउटा गिराेहले सहमति भाड्न खोजेको आरोप लगाउनु भयो ।