१५ बैशाख २०८१, शनिबार

चौंथो राष्ट्रिय सम्मेलनको महत्व र सन्देश

0

 

भूमिका
जनपत्रकार संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन २०७९ साल भाद्र ११ र १२ गते सम्पन्न भयो । यो सम्मेलनमा देशभरका प्रतिनिधि पर्यवेक्षकहरुको उल्लेखिय सहभागिता रहयो । सम्मेलनको उद्घाटन सत्र काठमाडौंको नागार्जुन पार्टी प्यालेसमा भयो भने बन्दसत्र काठमाडौको नयाँ बसपार्क स्थिति तमु सांस्कृतिक हलमा सम्पन्न भयो । बन्दसत्रले शेरवहादुर विश्वकर्माको अध्यक्षतामा चार जना सदस्य पछि थप्ने गरी ५१ सदस्सीय नयाँ केन्द्रीय कार्य समिति निर्वाचित गर्यो । केन्द्रीय समितिले देश र जनताको मुक्तिको पक्षमा कलम चलाउने र जस्तो सुकै परिस्थितिमा पनि सम्राज्यवाद र दलाल संसदीय पूँजीवादका विरुद्ध संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्यो । नयाँ उत्साह,उमङ्गका साथै नयाँ जिम्मेवारी बोधको भारी सम्मेलनले सवै केन्द्रीय सदस्यहरुलाई बोकाएको छ । यो भारी वोकेर अगाडि जान सक्ने वा नसक्ने त्यो त आफैमा भरपर्ने विषय छ । तर पनि यो सम्मेलनले दिएको जिम्मेवारी बोधको भारी पुरा गर्ने सवै केन्द्रीय सदस्यहरुले सपथ लिएकाले पनि विश्वास छ ,सवैले यो पुरा गर्नेछन् । यो ऐतिहासिक सम्मेलनको महत्व पनि यसैमा बढने छ । यसले क्रान्ति पुरा गर्ने दायित्व पनि दिएको छ । साम्राज्यवाद र दलाल संसदीय पूँजीवादका विरुद्ध कलमलाई आवश्यक परे बन्दुक बनाएर लड्न तयार हुनुपर्ने सन्देश समेत यो सम्मेलनले दिएको छ । सम्मेलनको खास महत्व र सन्देश बारे यहाँ छोटो रुपमा केही लेख्ने प्रयास गरेको छु ।

१) सम्मेलनको महत्व :

कुनै पनि बस्तु आफै महत्वपूर्ण हुदैन । त्यसको गुण वा अगुणले महत्व हुने वा नहुने भन्ने कुराको निर्धारण गर्दछ । राष्ट्रिय सम्मेलन पनि यसको गुण वा अवगुणले महत्व हुने वा नहुनेमा भरपर्छ । यो सम्मेलन अवगुण भन्दा गुण पक्ष धेरै वोकेर आएकाले पनि ऐतिहासिक र महत्वको रहयो भन्ने मेरो दाबी छ । हेटौडा र नगरकोट सम्मेलनले पैदा गरेका समस्याहरु भन्दा माथि उठेर सम्मेलन एकताको भाव दिदै सम्पन्न भयो । यो सफल र महत्वपूर्ण विषय हो । पुरानो विरासतलाई क्रमभंग गरेको छ । नयाँ परिस्थितिमा दुश्मन संग एक भएर लड्नुपर्ने अवस्था सृजना भएकाले पनि सम्मेलन एकता र क्रान्तिकारी उचाई समात्न सफल भएको छ । देशी विदेशी प्रतिक्रियावादी,साम्राज्यवादी तथा दलाल पूँजीपति वर्गहरुले क्रान्तिकारीको एकतामा टुटफुट र विभाजन गराउन चाहान्थे । उनीहरुले चाहे पत्रकार संगठन होस,चाहे त्यो पार्टी संगठन होस वा अन्य कुनै पनि जनबर्गीय संगठनहरुमा होस विभाजन ल्याउन चाहान्छन । विभाजनले क्रान्तिकारी शक्ति कमजोर भई आफ्नो स्वार्थ पूर्तिहोस भन्ने उनीहरुको सपना हुन्छ । यो सपना अहिलेको राष्ट्रिय सम्मेलनले चकनाचुर पारेको छ । यो मानेयमा यो राष्ट्रिय सम्मेलन सफल मात्र होइन, साम्राज्यवादी दलाल पूँजीपति वर्गको षड्यन्त्रका विरुद्ध विजय पनि हो । यसअर्थमा यो सम्मेलन धेरै महत्वको बन्न गएको छ । यो सम्मेलनको महत्वको वारे चर्चा गर्दा धेरै पक्ष छन तर पनि विशेष गरी तीनवटा पक्षमा यो सम्मेलनले महत्वपूर्ण योगदान गरेको छ । त्यसलाई यसरी हेर्न सकिन्छ ।

क) अन्तर्राष्ट्रिय महत्व : विश्वमा सन १९९० को दशक यता जसरी शोभियत संघको विघठन पछि अमेरिकी साम्राज्यवाद एकल महाशक्तिको रुपमा उदय भयो । उसले विश्वको सर्वशक्तिमान राष्ट्र आफू मात्र भएको दाबी गर्दै साना तथा कमजोर राष्ट्र माथि राजनीतिक,सामाजिक,सांस्कृति,आर्थिक र सैन्य हिसावले प्रत्यक्ष हस्तक्षेप गर्दै आयो । साना गरीब राष्ट्र माथि आणविक हतियार रहेको भन्दै संचार माध्यम बाट गरिएको झुट्टो प्रचारवाजीको आरोप लगाएर आक्रमण गर्यो । सर्वसाधारण हजारौ जनताको कत्लेआम पनि गर्यो । यसमा इराक,अफगानिस्तान,सिरिया लगायतका राष्ट्रहरुका जनताहरु परे । अमेरिकी साम्राज्यवादले आर्थिक तथा हतियार प्रविधिको रुपमा सवै देश भन्दा शक्तिशाली छु भन्ने दावी गर्दै गर्दा आज विश्वमा समान शक्ति सन्तुलन देखा परेको छ । एकातिर साम्राज्यवादी नीति वोक्ने राष्ट्रहरु पनि साम्राज्यवाद मै विकास हुदैछन । साम्राज्यवाद –साम्राज्यवाद बीचको अन्तरविरोध पनि वढीरहेको छ । जसले गर्दा क्रान्तिकारी र साम्राज्यवाद विरोधी धुव्र पनि शक्तिशाली वन्दै गएको अवस्था छ । आज अमेरिकाको एकल साम्राज्यवाद विश्वमै उल्टिदै गएको छ । अमेरिकाको विरुद्ध प्रतिरोध गर्न सक्ने धेरै देशहरु विकसित भईसकेका छन । जसले गर्दा विश्व एक धुव्रमा होइन शक्ति सन्तुलन र बहुधुव्रमा गएको छ ।
अमेरिकीका विरुद्धको पछिल्लो महाशक्तिको रुपमा उदय हुदै गरेका चीन,रुस,उत्तरकोरिया लगायतका राष्ट्रहरु अमेरिकी विरुद्धको धुव्रमा छन । जसले गर्दा विश्व अव एकधुव्रीय अवस्थामा छैन र यो बहुधुव्रवमा छ भन्ने कुरा प्रष्ट छ । त्यसलाई रुस युक्रेन युद्ध देखि पछिल्लो अमेरिकाको ताईवान माथिको गिद्धे नजर र त्यस विरुद्धको चीनको प्रतिरोधले पनि बहुधुव्रको पुष्टि गरेको छ । अमेरिकी साम्राज्यवादको एकाधिकार विश्व व्यापार र सैन्य गतिविधिको विश्वका गरीव राष्ट्रहरुले समेत चौतर्पिm विरोध गरेका छन । केही देशहरु साम्राज्यवादी मोर्चामा लागेका भएपनि विश्वका बहुसंख्यक देशहरु साम्राज्यवाद विरोधी मोर्चामा छन । यस्तै विश्वका क्रान्तिकारी कम्युनिष्ट शक्ति पनि साम्राज्यवाद विरोधी मोर्चामा छन । साम्राज्यवाद दिन प्रतिदिन संकटको भूमरीमा फस्दै गएको छ । यस्तो वेला कहिले साम्राज्यवादले सूचना र संचारको साथ लिएर उत्पीडित राष्ट्र विरुद्ध हमला गर्छ भने कहिले हतियारको साथ लिएर हमला गर्छ । जे जस्तो अवस्था आएपनि सचेत रहनु पर्छ । साम्राज्यवादको सूचना संचार क्षेत्रको एकाधिकार विरुद्ध पनि सर्वत्र विरोध हुने गरेको छ । जनताको सूचना सञ्चारका विरुद्ध गोयवल्स शेल्लीमा लागेको साम्राज्यवादले यो क्षेत्रवाट पनि असफलता व्यहोर्नु परेको छ ।

हाम्रो राष्ट्रिय सम्मेलनमा पेश भएको प्रतिवेदनमा पनि भनिएको छ “९० को दशकपछि शोभियत संघको विघटन र पूर्वी युरोपमा भएको प्रतिक्रान्ति पछि जसरी एकधुव्रीय मान्यता दिईदै आएको थियो, त्यो लोकतन्त्रको प्रारुप अव जहाँतही संकटमा परिसकेको छ । लोकतन्त्र, मानवअधिकार र विकास अवधारणाबारे पश्चिम शैलीको प्रारुपमा गम्भिर समस्याहरु देखिन थालेका छन् । अब त्यो संकटले विश्वको अर्थराजनीतिक शक्तिको केन्द्र युरोप र अमेरिकाबाट एशिया तिर स्थानान्तरण हुने अनुमान गरिदै आएको छ । यदि विश्व शक्ति सन्तुलनको केन्द्र त्यसरी नै स्थानान्तरण हुँदै जाने हो भन्ने अमेरिकी नव धनाड्य वर्गको शक्तिमा क्षयीकरण हुँदै नयाँ र प्रगतिशील विश्व व्यवस्थाको अपरिहार्यता निश्चित जस्तै हुनेछ ।”

यसो भनिरहदा साम्राज्यवाद पुरै कमजोर भईसक्यो र यसले केही पनि गर्न सक्दैन भन्न खोजेको होइन । माओले भन्नु भएको थियो “रणनैतिक रुपमा साम्राज्यवाद कागजी वाघ हो तर कार्यनैतिक रुपमा यो कहिले साँच्ची कै पनि वाघ हुन सक्छ” त्यसो भएर यस विरुद्ध लड्न क्रान्तिकारी कम्युनिष्टहरुको एकता चाहिन्छ । क्रान्तिकारी जनपक्षीय पत्रकारहरुको एकता चाहिन्छ । जनपत्रकारहरुको एकता अनिर्वाय चाहिन्छ । यो एकता हुने बल चौथो राष्ट्रिय सम्मेलनले दिएको छ । साम्राज्यवादी हरेक खाले षड्यन्त्रहरु विरुद्ध लडन सक्ने तागत पैदा भएको छ । साम्राज्यवादी अफवाह विरुद्ध क्रान्तिकरी हमला केन्द्रीत गर्ने तागक सम्मेलनले दिएको छ । विश्वका क्रान्तिकारी सवै शक्तिशरु एकतावद्ध भएर साम्राज्यवादका विरुद्ध लड्नु पर्छ भन्ने भाव पैदा गरेको छ । त्यसैले पनि यो सम्मेलनको अन्तर्राष्ट्रिय महत्व बढन गएको छ ।

ख) राष्ट्रिय महत्व : यो राष्ट्रिय सम्मेलन राष्ट्रिय रुपमा पनि अति महत्वको हुन गएको छ । नेपालका राष्ट्रघाती,जनघाती र साम्राज्यवादका दलाल एजेण्डहरुका विरुद्ध विचारको हतियार उठाएको छ । यो हतियारले उनीहरुको एक दिन अवश्य पनि खरानी गर्ने निश्चित छ । त्यसो भएर पनि ती दलालहरु क्रान्तिकरी शक्ति विरुद्ध निरन्तर लागेका छन । जनपत्रकार संगठन नेपाल भनेको विचार सहित क्रान्तिकारी इतिहास वोकेको संगठन हो । यो संगठन संग मालेमावादी विचार छ । जनताको परिवर्तनको विचार छ । राष्ट्रघात र जनघात गर्नेहरु विरुद्धको विचार छ । एमसीसी एसपीपी लगायतका राष्ट्रघाती सन्धी सम्झौता गर्नेहरु विरुद्धको विचार छ । जसले साम्राज्यवादी दलालहरुको सातो गएको छ । जनपत्रकारहरु विरुद्ध संसदीय दलाल पूँजीवादी सरकार हिजो पनि थियो अहिले पनि छ । दलाल संसदीय पूँजीवादी सरकारले गरेका हरेक अपराधीक गतिविधि विरुद्ध जनपत्रकार संगठन उभिएको छ । जनपत्रकार संगठनले जनताको लुटगर्ने,महंगी वढाउने,हत्या वलात्कारका घटनाहरु प्रति व्यवास्ता गर्ने दलाल सरकार विरुद्ध निरन्तर कलम चलाउने गर्छ । विशेष गरी पूँजीवाद र साम्यवाद बीचको लडाई हो । यो विश्वमा छ, नेपालमा पनि त्यो जारी छ । नेपालमा दलाल पूँजीवाद उदय भएको छ । समाजवाद तिर जाने सपना लिएर आएका कम्युनिष्टहरु पनि दलाल पूँजीवादमा रमाएका छन । महान जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड वावुरामहरु संसदीय दलालपूँजीवादमा रमाएका छन । एमाले पनि कम्युनिष्टको नाममा त्यहि व्यवस्थामा रमाएको छ । जसले गर्दा जनताले चाहेको परिवर्तन हुन सकेको छैन । व्यवस्थामा परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन हुन सकेको छैन । यस्तो वेला पत्रकारिता पनि विभाजित छ । वर्गीय पक्षधरमा चलिरहेको छ । एकातिर दलाल पूँजीवादी राज्यसत्तालाई संरक्षण गर्ने पक्षमा कलम चलेको छ भने अर्कोतिर संसदीय दलाल पूँजीवाद विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको पक्षमा कलम चलेको छ । हामीले चलाउने कमल वैज्ञानिक समाजवादको पक्षमा हो । यो धुव्रमा क्रान्तिकारी,परिवर्तशील,देशभक्त शक्तिशरु लागेका छन । दलाल सत्ता वचाउने धुव्रमा जनघाती,राष्ट्रघाती,साम्राज्यवादीका दलालहरु र संसदीय व्यवस्थाका मतियारहरु लागेका छन । यो सवैको आगाडि ताजै छ ।

यहाँ ध्यन दिनु पर्ने पक्ष के छ भने केही दलालहरु कम्युनिष्ट भन्ने शक्तिहरु फेरी पनि जनतालाई ढाँटिरहेका छन । जस्तै माओवादी केन्द्र,एमाले ,एकीकृत समाजवादी जस्ता कम्युनिष्ट भन्ने राजनैतिक दलहरु वैज्ञानिक समाजवादमा जाने कुरा गर्छन । तर त्यो दिशामा जान खुट्टा कमाईरहेका छन । यहि दलाल संसदीय व्यवस्थालाई मलजल गरिरहेका छन । देशमा वेरोजगारीको समस्या वढदो छ । आत्मनिर्भर अर्थतन्त्रको कुनै योजना छैन । विदेशीको चाकरी गरेर कुर्सीमा वस्नु वाहेक अरु चिन्ता छैन । दलाल संसदीय व्यवस्था भन्दा अगाडि जान चाहिरहेका छैन । कांग्रेस जस्तो विपरित दर्शन भएको शक्ति संग घाँटी जोडेर माओवादी केन्द्र,एकीकृत समाजवादी भन्ने पार्टीहरु दलाल संसदीय व्यवस्था जोगाउने अभियानमा छन । यस्तो चरित्रको भण्डाफोर गर्नु र जनतालाई सहि सुचना दिनु जनपत्रकारको दायित्व हो ।
राष्ट्रिय सम्मेलनको प्रतिवेदनले भनेको छ “देशको स्थितिबारे जुन नकारात्मक चित्र हामीले देखिरहेका छौ । यसको मुख्य कारण भनेको बाह्य रुपमा दलाल पूँजीवादी उत्पादन सम्बन्ध र आन्तरिक रुपमा सामन्तवादका भग्नावशेषहरु नै हुन । यसरी एकातिर साम्राज्यवादको एजेण्टको रुपमा दलाल पूँजीवादको उत्पीडनले मुलूकको राष्ट्रिय औद्योगीकरण र प्रगतिशील उत्पादन सम्वन्धको विकास हुन पाएको छैन भने अर्कातिर सामन्तवादको राजनैतिक प्रतिनिधि राजतन्त्र हटेपनि सामाजिक सांस्कृतिक र भूमी सम्बन्धी लगायत आर्थिक क्षेत्रमा पनि सामन्तवादका बिशेषताहरु पूर्णतः समाप्त नभएकोले राष्ट्रिय पूँजी निर्माण हुन नसक्दा रोजगारी सिर्जना हुन सकेको छैन । रोजगारीका लागि विश्व श्रमबजारमा चाहर्दै हिड्नु हाम्रो विवशता हुन पुगेको छ ।” यो अवस्था दलाल संसदीय व्यवस्थाले गरेको हो भन्ने कुरा प्रष्ट भइसक्यो । यो व्यवस्था नबदले सम्म जनताको मुक्ति सम्भव देखिदैन । यस अर्थ चौथो राष्ट्रिय सम्मेलनले त्यो दायित्व जनपत्रकार संगठनलाई दिएको छ । यी यावत विकृति विसंगीत विरुद्ध जनताको पत्रकारले आफ्नो बर्गीय पक्षधरतालाई केन्द्रमा राखेर कलम चलाउन जरुरी छ । यसको महत्व बढेर गएको छ ।

ग) संगठनात्मक महत्व : चौथो राष्ट्रिय सम्मेलन संगठनात्मक रुपमा निकै महत्वपूर्ण वन्न पुगेको छ । पूर्व मेची देखि पश्चिम महाकाली सम्म संगठनमा सवै क्षेत्र, जाति ,लिङ्ग, उत्पीडत वर्गका प्रतिनिधिहरुको सहभागिता रहेको छ । संगठनमा हुनुपर्ने समावेशीता झल्किएको छ । यो समावेशीता केवल देखाउनको लागि मात्र नभई क्रान्तिकारी विचार र योगदानमा झल्किएको हो । कतिपय साना तिना झिनो मात्राका गुनासो र सुझावहरु रहेपनि मुलभूत रुपमा संगठनको नयाँ समिति क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने शक्ति नै छ । कलमको माध्यम वाट होस वा विचारको माध्यम वाट होस दुश्मनका विरुद्ध धावा वोल्न सक्ने र आवश्यकतामा जनताको पक्षमा कलम चलाउदा चलाउदै अर्को कृष्ण सेन हुन परेपनि तयार हुने टिम उदाएको छ । संगठनमा देखिने अराजकता र विगतको असोभनिय विरासत भंग गरेको छ । यो धेरै महत्वपूर्ण विषय हो । विचार दुष्टिकोण र संगठनको आवश्यकताका आधारमा जिम्मेवारी निश्चित गरिएको छ । बरु चुनौतीको विषय के हो ? भने सम्मेलनले दिएको जिम्मेवारी पुरा गर्नु हरेक सदस्यको कर्तव्य हो । व्यक्तिको जीवनमा सफल हुने वा असफल हुने कुरा स्वयम व्यक्तिमा नै निर्भर हुनेछ । राष्ट्रिय सम्मेलनले पत्रकार हितकोष खडा गर्ने देखि तमाम निर्णयहरु पास गरेको छ । यि निर्णयहरु कार्यान्वय गर्न सके जनपत्रकारहरुको लागि अति महत्वपूर्ण काम हुने आसा गर्न सकिन्छ ।

२) राष्ट्रिय सम्मेलनको सन्देश :

क्रान्तिकारी एकताको भावमा सम्मेलन सम्पन्न हुनु आफैमा नविन कार्य हो । विभिन्न षड्यन्त्र,बाधा व्यवधानका बीच साम्राज्यवादी दलालहरुका विरुद्ध एकतावद्ध भएर कलम चलाउने संकल्प गर्दै सम्मेलन सफल हुनु ऐतिहासिक कार्य हो । यो सफल मात्र होइन आउने दिनमा नयाँ शिक्षा दिने छ । यो सम्मेलनले दिएका केही मुख्य सन्देशहरु यस्ता छन ।

क) एकताको सन्देश: एकता नै बल हो । बल नै एकता हो । यो सम्मेलन एकता बाट बलमा परिणात भएको छ । क्रान्तिकारी स्प्रिड अनुसार नयाँ नेतृत्व निर्वाचित हुन पुगेको छ । यो नै सम्मेलनको पहिलो र महत्वपूर्ण सकरात्मक सन्देश हो । यसले आगामी दिनमा संगठनको काममा गति पैदा गर्नेछ भन्ने विश्वास लिएको छ ।

ख) स्वतन्त्र र निश्पक्षता ः संसारमा कोही पनि स्वतन्त्र छैन । हरेक वस्तु एक अर्कोको सहयोगमा टिक्ने गरेको छ । समाज विज्ञान पनि एक अर्काको सहयोगमा आगाडि वढ्ने गर्दछ । पूँजीपति वर्गले आफ्नो अनुकूलतामा सत्ता चलाउने गर्छ । श्रमजीवी वर्ग माथि शासन लाद्ने गर्छ । श्रमजीवी वर्ग पनि आफ्नो वर्गको पक्षमा वकालत गर्ने पार्टी र शक्ति संग सहकार्य गर्ने गर्दछ । मुख्य गरी क्रान्तिकारी देशभक्त शक्तिहरुले श्रमजीवीको कुरा उठाउने गरेकाले श्रमजीवी वर्ग त्यो शक्ति संग वढी झुकाव राख्ने गर्दछ । सत्ता वचाउन पूँजीपति वर्गले आफ्नो वरिपरी मिडियाहरु किनेर राखेको हुन्छ । आज पनि मिडियाहरु वेचिएका छन । श्रमजीवी वर्गले आफ्नो सत्ता स्थापना गर्न श्रमजीवीको पक्षमा वकालत गर्ने मिडिया अनिवार्य चाहान्छ । त्यसैले हामी श्रमजीवी वर्गको पक्षमा वर्गीय पक्षधरता लिने भएकाले हामी श्रमजीवीको पक्षमा लेख्ने र वोल्ने गर्नुपर्छ । संसारमा कोही मिडिया र पत्रकारहरु स्वतन्त्र र निश्पक्ष छैनन् । उनीहरु यात पूँजीपति वर्गको पक्षमा उभिनु पर्छ या श्रमजीवी वर्गको पक्षमा उभिनै पर्छ । तर आज आफ्नो वर्गीय पक्षधरता लुकाएर पत्रकारिता गर्नेहरु स्वार्थी र दलाल हुन । उनीहरु जता स्वार्थ पाईयो उतै जाने गर्दछन । देश र जनता प्रति उनीहरुको कुनै पनि जिम्मेवारी वोध हुदैन । यो कुरामा दलाल पत्रकारिता गर्नेहरुलाई सम्मेलनले खवरदारी पनि गरेको छ । क्रान्तिकारी जनपत्रकारहरुले भने यस्तो पत्रकातिा वाट सचेत भएर जनताको पक्षमा पत्रकारिता गर्न सम्मेलनले सन्देश दिएको छ ।

ग) व्यवसायी र मिशन ः पत्रकारिता कहिलै पनि व्यवसायी हुदैन । कोही कसैले व्यवसायी रुपमा पैसा कमाउने हिसावले चलाएको भएपनि त्यो पनि पैसा कमाउने मिशन अन्तरगत पर्दछ । आज हरेक मिडिया र पत्रकारको मिशन हुन्छ । त्यो वाट कोही पनि अछुत हुदैन । वरु कुरा यत्तिमात्र हो कि उसको मिशन देश परिवर्तन तिर हो वा पैसा कमाउने तिर हो ? यो कुरा वुझनु पर्दत । हामी देश परिवर्तन जनताको व्यवस्थामा परिवर्तनको मिशन पत्रकारिता गरिरहेका छौ । त्यो गनैपर्छ । व्यवसायी पत्रकारिताको भ्रम फैलाउनेहरु बाट हामी सचेत हुनु पर्छ । उनीहरुको पनि मिशन हो भनेर वुझनु पर्दछ । आ–आफनो पेशा र व्यवसायमा मिशन जोडिएकै हुन्छ । क्रान्तिकारी जनपत्रकारहरुको मिशन त अझै ठुलो छ । दलाल संसदीय व्यवस्था परिवर्तन गरि नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने मिशन छ । अनि मात्र जनता स्वतन्त्र र न्यायोचित रुपले वाँच्न पाउने व्यवस्थामा पुग्न सक्छ । नत्र शोषण ,दमन र उत्पीडनको सिकार संधै भइरहने छन् । यसमा कोही पनि स्वतन्त्र हुनेछैन । यो सन्देश सम्मेलनले प्रवाह गरेको छ ।

घ) जनताको मिडिया व्यवस्थापन वारे ः जनताको राज्य व्यवस्था स्थापना गर्न जनताको आफ्नै मिडिया व्यवस्थापन अनिवार्य हुन आउछ । जनताको आफ्नै मिडिया भएन भने साम्राज्यवादी दलालहरुको भ्रमवाट जनतालाई मुक्त गर्न सकिदैन । त्यसो भएर पनि जनताको मिडिया हाउस र जनताको पत्रकार अनिवार्य हुन आउछ । अहिले जति पनि मिडियाहरु नेपालमा छन धेरै जसो मिडियाहरु दलाल संसदीय पूँजीवादी व्यवस्थाको पक्ष पोषण गर्ने छन । कोही प्रगतिशील विचार राख्ने मिडियाहरु छन । कोही क्रान्तिकारी विचार राख्ने मिडियाहरु छन । क्रान्तिकारी विचार राख्ने मिडियाहरुको नेतृत्व हामीले गर्दछौ । क्रान्तिकारी विचार प्रवाह गर्ने सवै अनलाईन,रेडियो,पत्रपत्रिकाहरुलाई क्रान्तिकारी पार्टीले व्यवस्थित गर्नु पर्छ । संस्थागत र व्यक्तिगत रुपमा चलिरहेका सवै मिडियाहरुको व्यवस्थापन उचित नीति नियम वनाएर व्यवस्थापन गर्नु नै कुशलता हुनेछ । त्यो सन्देश समेत राष्ट्रिय सम्मेलनले हामी सवैलाई दिएको छ । आगामी दिनमा क्रान्तिकारीहरुले त्यसरी अगाडि वढनु नै पर्छ ।

निश्कर्ष : समग्रममा भन्दा हामी जनताको पत्रकार हो । जनताको पक्षमा पत्रकारिता गर्छौ । अरु पत्रकार भन्दा पनि फरक छौ । अरु पत्रकारहरु जनताको पक्षमा वलिदान गर्न तयार भएर पत्रकारिता क्षेत्रमा लागेका छैनन । कसैले दलाली गरेका छन । कसैले राष्ट्रघाती एमसीसी,एनसीएल जस्ताको विज्ञापन दिएर पेटपालिरहेका छन । त्यस्तो पत्रकारिता दलाल र जनविरोधी पत्रकारिता हो । जसले राष्ट्र र जनता विरुद्ध गतिविधि गरिरहेको छ उसैको प्रचार गर्ने भनेपछि त्यो कस्तो पत्रकारिता हो ? यो लाटोले नि वुझन सक्छ । हामी बर्गीय लडाईमा छौ । वर्गीय लडाईमा रहदा कहिले श्रमजीवी वर्गले जित्छ भने कहिले पुँजीपति वर्गले जित्ने गर्छ । आज संसारमा पूँजीवादी व्यवस्था छ । पूँजीवाद संकटमा पनि छ । यसको विकल्प विश्वमा खोजी भइरहेको छ । पूँजीवादको विकल्प समाजवाद र साम्यवाद भन्दा अर्को छैन । हामीले समाजवाद तिर संसारलाई लिने पत्रकारिता गरिरहेका छौ । कोहीले पूँजीवादलाई जोगाउन पत्रकारिता गरिरहेका छन । यत्तिमात्र फरक हो । यो कुरालाई हाम्रो राष्ट्रिय सम्मेलनले राम्रो संग छलफल गरेको छ । केही साझा निश्कर्ष निकालेको छ । त्यो अनुसार अगाडि वढ्ने संकल्प गरौ । जनता र क्रान्तिकारी जनपत्रकारहरुको नै जीत हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।