१० मंसिर २०८१, सोमबार

नवौँ महाधिवेशन र केही नयाँ संश्लेषणहरु

2

नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा नेपाल कम्युनिष्ट पार्टीको ऐतिहाँसिक नवौं महाधिवेशन आफ्नै पौरखले बनाइएको पार्टीकै भवनको प्राङगणमा क्रान्तिकारी राता मान्छेहरुको सहभागीता र क्रान्तिका राता झण्डाहरु फहराउदै उदघाटन भयो । शायद नेपाली कम्युनिष्ट आन्दोलनकै इतिहासमा आफ्नै भवनमा महाधिवेशन गर्ने नेपाल कम्युनिष्ट पार्टी नै पहिलो हुनु पर्दछ । प्राङगणमा उदघाटन भएको कार्यक्रमको बन्दशत्र पनि आफ्नै भवनमा रहेको ठुलो हलमा पाँच सय र साइवर स्क्रिनबाट सानो हलमा दुई सय गरी दुबै हलमा प्रबिधिको प्रयोग गरी निर्विवाद सानदार र भब्यरुपमा सम्पन्न भएको छ । महासचिव क बिप्लवले आजको बिज्ञान र पृबिधिको उपयोग गर्दै रिमोटवाट ब्यानर खोल्दै, ड्रोनवाट एकिकृत जनक्रान्ति जिन्दावादको ब्यानर फहराउदै र पुष्पगुच्छा खसालेर साथै अतासवाजी गरी उदघाटन गरियो । करिव सात सय प्रतिनिधि – पर्यवेक्षक , स्वयम् सेवक कमरेडहरु र हजारौँ जनताको साथमा उद्घाटित महाधिवेशन भब्य सभ्य र ऐतिहासिकरुपमा सफल भएको छ । महाधिवेशनले नेपाली समाजको वर्ग चरित्र पुंजीवादको प्रभाव र क्रान्तिकारी समाधानको बिषयमा गंभिर बहस र छलफलबाट एउटा नयाँ निष्कर्ष निकालेको छ । समाजवादको बाटोमा नेपाली समाजलाई कसरी लिन सकिन्छ । नेपाली जनताले बेहोर्दै आएको संकटको समाधान बैज्ञानिक समाजवाद हो भने त्यो नेपाली जनताले कसरी प्राप्त गर्न सक्दछन । आज नेपाली जनताको चेतना र वर्ग चरित्र अनुरुपको संगठनात्मक संरचना कसरी निमार्ण गर्न सकिन्छ ? पार्टीको क्रान्तिकारीकरण र पार्टीलाई जनताको आफ्नो पार्टीको रुपमा कसरी स्थापित गर्न सकिन्छ वा अब हुने लडाईको स्वरुप कस्तो हुनेछ भन्ने गम्भीर रुपमा बहस भएको छ । विभिन्न बीस वटा समुहमा विभाजन गरी दस्तावेजमाथि टिम लिडरहरुको क्रान्तिकारी स्पिरिटसहितको सम्लेषण साथै पुरै नेपालको चित्र पेश भएको थियो र बन्दसत्र भित्र देखिएको क्रान्तिकारी प्रतिनिधि प्रर्यवेक्षकहरुको जोस, सुरक्षा ब्यवस्थापन लगाएतको टिम स्पिरिट , सामनाका कलाकार कमरेडहरुका जोसपूर्ण क्रान्तिकारी गितको माहोलले क्रान्तिको एउटा सुन्दर बिहानीको चित्रण गर्दथ्यो । ध्वजापताकासहित क्रान्तिकारीहरुको पौरखले सजिएको र निमार्ण गरिएको हलको सजावट पनि क्रान्तिको सुन्दर सपनामा मन्त्रमुग्ध भए झै लाग्दथ्यो । आफ्नै छाक काटेर उठाइएको पैसा र पौरखले बनेको हलमा भब्य सुन्दर र सानदार महाधिवेशन गर्न पाउदा हामी सबैमा आनन्दाभुती महसुस हुन्थ्यो । यदी क्रान्तिकारी दृष्टीकोणसहितको सही योजना छ भने श्रमिकहरुले मालिकका भवन मात्र बनाउदैनन आफ्नो वर्ग र समाजका नयाँ रचना पनि गर्न सक्दछन् भन्ने कुराको ज्वलन्त उदाहरण पार्टी कार्यालयको निमार्ण पनि हो । कम्युनिष्टहरु अरुबाट मागेर खाने तर आफ्नो केही पनि नगर्ने दलाल भ्रष्टहरुका पोल्टामा आफ्नो जिवनको भिख माग्ने जस्ता आरोप खेपिरहेको वेला आफ्नै भब्य भवन निमार्ण नेपाली क्रान्तिकारी आन्दोलनमा नयाँ सोच , चिन्तन र दृष्टीकोणको उपज हो भनेर बुझ्दा राम्रो हुन्छ । क्रान्तिकारी हुनु भनेको नयाँ सोच्नु ,नयाँ गर्नु पनि हो। कसैले लेखिदिएका अरुका उद्दरणमात्र भटयाउने तर समाजको लागी केही नगर्ने तर मिठो खाना खोज्ने कम्युनिष्ट या क्रान्तिकारी हुदैन । क्रान्तिकारी कम्युनिष्टहरुको महाधिवेशनले कम्युनिष्ट आन्दोलनमा देखिएका खरावीहरुविरुद्ध पनि नयाँ सम्लेषणसहित बिद्रोह र बिजय गर्ने आँट गरेको छ । यो आँट नै आसन्न क्रान्ति र महाधिवेशनको सुन्दर पक्ष हो ।
विचारधारात्मक पक्ष
आजसम्मका महाधिवेशन बैचारीक पक्ष भन्दा बढी प्राविधिक पक्षमा अल्झिएका र पद -प्रतिष्ठा संगठनात्मक काममा मात्र केन्द्रित रहेको देखिन्छ । तर नवौ महाधिवेशनको सुन्दर पक्ष भनेको यसले नेपाली कम्युनिस्ट आन्दोलन र बिश्व कम्यनिष्ट आन्दोलनमा देखिएका समस्याहरु ग्हिरो गरी केलाउने र त्यसको समाधान दिने कोसीस गरेको छ । बिश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहनुका कारण, बदलिएको बस्तु परिस्थीति अनुरुपको संगठनात्मक र दर्शनमा गर्न नसकिएका बिकासहरु आदर्श र सिदान्तमा सुन्दर देखिदा पनि ब्यवहारीक प्रयोगमा देखिएका जटिलताहरुलाई खोतल्ने कोशिस गरेको छ । दर्शनमा अनिश्चय रक्षा र रुपान्तरणको नयाँ आयाम संस्लेषण गरेर माक्सवादी दर्शनमा नयाँ विकास गर्ने कोशिस यो महाधिवेशनले गरेको छ । कुनै पनि चिज वा वस्तु अनिश्चय हुन्छ । एउटामात्र उदाहरण दिउँ – आज एकदम सपोटर साथी वा सहयोद्धा सामान्य कुरा नमिल्दा कुरुप ब्यवहार गर्दछ किन ? अनिश्चयको सिद्धान्तको प्रभाव आज सामाजिक जिवन वा वस्तुमा देखिन्छ । भौतिक विज्ञानलाई सामाज बिज्ञानमा बदल्ने कोशिस अनिश्चयको सिद्धान्तले गरेको छ । मान्छे आफैमा अनिश्चय छ, हामी पुजींवादी पनि हौ , कमरेड पनि हो ,दुश्मन पनि हो । मन मिल्दा , भावना मिल्दा कमरेड तर यदि मिलेन भने दुश्मन । त्यहाँ अनिश्चयको सिद्धान्त लागू हुन आउछ । यदी क्रान्ति गर्नु छ भने आफैले सिद्धान्ततहरु आाविस्कार गर्नु पर्दछ। जुन देशले सिद्धान्तकार र दार्शनिकहरु निमार्ण गर्न सक्दैन, त्यो देशले क्रान्ति पनि गर्न सक्दैन भन्ने सन्देश दिएको छ । जिवन ब्यवहारमा लडने मान्छेले मात्र सिद्धान्तहरुको आविस्कार गर्न सक्दछ। यदी आफुले लडेको लडाईको ज्ञानलाई सिद्धान्तमा बदल्न नसके पुंजीवादले खाइदिन्छ भन्ने कुरा हामी आफैले देखेका छौ वा हाम्रै जिवन ब्यवहारमा ब्यहोरेका छौ । क्रान्तिहरु लहडमा वा आवेगमा हुदैनन , क्रान्ति गर्न सचेत पहलकदमी र सही बिचारको अनिवार्यता रहन्छ , क्रान्तिको ढोका खोल्ने बिचारधारात्मक काम यो महाधिबेशनले गरेको छ । दर्शनमा अनिश्चयताको सिद्धान्त अर्थमा एकिकृत अर्थ निति आलोचना आत्मआलोचनामा तथ्यवाट रुपान्तरीत गर्ने बिधि बिचारमा गरिएका मुख्य बैचारीक सम्लेषणहरु हुन । यसलाई जिवन ब्यवहारमा लागू गर्नु क्रान्तिकारीहरुको दायित्व हो । रुसलगायत पूर्बि युरोपका समाजवाद किन ढले, चीनमा आफ्नै मौलिकताको समाजवाद भन्ने स्थानमा किन पुग्नु परयो भन्दा आर्थिक नितिहरुमा बिकास गर्न नसक्दा वा जनताको सर्वस्चता अनुरुपको सामाजवादका नितिहरुमा बिकास गर्न नसक्नुको परिणाम नै हो । पुजिंवादले समाजवादका केही निति सिद्धान्तहरु सापटी लिएर बाँचिरहेको छ । तर कम्युनिष्टहरुले आफ्नै सिद्धान्तहरु ब्यवहारमा प्रयोग गर्न सकेनन् । यसवाट शिक्षा लिदै क्रान्तिको बिकास र रक्षाको निम्ति नयाँ सम्लेषणहरु आबश्यक थियो, जो महाधिवेशनले गम्भिरताका साथ गर्यो ।
बर्तमान नेपाली राजनितिक ब्यवस्था र बिश्व पुंजीवादले नेपाललगायत बिश्वभर श्रमिक जनतालाई कसरी शोषणको जाँतोमुनी राखेको छ पुंजीवादवाट श्रमिक जनतालाई कसरी मुक्त गर्न सम्भव छ वा पुंजीवाद केलाई आधार बनाएर टिकेको छ । आज सिङ्गो बिश्वको पुंजी केही सिमित ब्यक्तिमा गएर केन्द्रित बन्न पुगेको छ । सोही पुंजीले ब्यवस्था कस्तो राख्ने, कस्तो बनाउने भन्ने हक कायम गरेको छ । नेपालमा पनि केही निश्चित ब्यक्तिमा पुंजी संकेन्द्रीत बन्दै गएको छ । जनता टाट पल्टदै जाने, केही ब्यक्ति वा शक्ति धनि बन्दै जाने ब्यवस्थाप्रति जनताको मन्जुरी भएको कुरा साँचो होइन। तथापी पुंजीवाद अहिले नै ढली हाल्ने अवस्थामा पनि छैन, यसलाई गहिरो गरी केलाउनु हाम्रो दायित्व बन्यो । पुंजीवाद माक्र्स लेनिनले बिस्लेषण गरेको ठाउमा मात्र छैन भन्दै आठौ महाधिवेशनमा उत्तरसाम्राज्यवादको सम्लेषण गरिएको थियो । त्यो सही नै थियो । बदलिएको परिस्थितिमा साम्राज्यवादलाई भुमण्डलीकृत पुजींवादमा सम्लेषण गरिनु अझ वढि सही रहन्छ भन्ने निकर्ष महाधिवेशनको रहेको छ । मालेमाको बिकास गर्ने सवालमा यि बिषय कोसेढुङ्गा साबित हुने निश्चित छ ।
संगठनात्मक पक्ष
बिचारधारात्मक सम्लेषणसंगै संगठनात्मक काम पनि महत्वपूर्ण नै हो । बिचारलाई लागू गर्ने कुरा संगठन कस्तो बन्दछ भन्ने कुराले निर्धारण गर्दछ । बिचारले आफु अनुरुपको संगठनको माग गर्ने गर्दछ । बिचारहरुलाई ब्यवहारिक प्रयोगमा संगठनले लिने गर्दछ । त्यसकारण दोश्रो महत्वपूर्ण बिषय संगठनको निर्मार्ण गर्नु महाधिवेशनको बिषय थियो । माथी नै भनियो कि संगठनमा पनि ऐतिहासिक निर्विवादीत सर्बसम्मत चुनिने स्थिति बन्यो यो पनि सुन्दर पक्ष हो । उच्चतम जनवादको प्रयोग र क्रान्तिकारी दृष्टीकाणमा आधारीत संगठन निमार्ण गर्न सफल रहयो।
आजसम्म भएका महाधिवेशनहरुमा सबै भन्दा सुन्दर संगठनमा सायद नवौ महाधीबेशन नै सफल मानिन्छ । आजसम्मका महाधिवेशनहरुका अनुभव र अध्ययनले के देखाउछ भने संगठनको मामला नै मूल बहसको बिषय बन्ने तर बिचारधारात्मक बिषय केही नेताहरुको बिषय बन्ने वा सहायक बन्ने गरेको देखिन्छ । यो महाधिवेशनले यि सबै अनुभवहरुवाट शिक्षा लिदै नेता को बन्ने नबन्ने बिषय मूल बिषय होइन तथापी महत्वको बिषय भने हो। तर क्रान्तिको विषय नै पहिलो महत्वपूर्ण बिषय हो भन्ने कुराको सन्देश दिएको छ । महाधिवेशनले नेता होइन कम्युनिस्ट बन्ने बिषयलाई दह्रोसंग पकडेको छ । नेपाली कम्युनिस्ट आन्दोलन र बिश्व कम्युनिस्ट आन्दोलनमा पनि पुरातनवादी रुढिवादी संगठनात्मक संरचनाहरु रहेको परिवेशमा त्यसलाई भत्काउने कोशिस पनि गरेको छ । पदलाई सत्ता ठान्ने सबै माथी चढन खोज्ने बुढो रहुन्जेल वा आफु नमरुन्जेल पद नछोडने परम्परालाई थोरै भए पनि भत्काउने कोशिस गरेको छ । माखो नमार्ने तर क्रान्तिका गफ मात्र हाक्ने परम्परालाई पनि थोरै तोडन खोजेको देखिन्छ । क्रान्ति गर्ने पार्टीमा युवाहरुको सहभागीता र क्षमताको केन्द्रिकरण अनिवार्य छ भन्ने कुरा स्वीकार गर्दै माओले भनेको तीन बरावर एक भन्ने सिद्धान्तलाई लागू गर्दै गएको छ । संगठनात्मक संरचना पनि नयाँ स्वरुपले बिकास गर्न खोजिएको छ । तथापी क्रान्ति गर्ने पार्टीमा युवाहरुको बर्चस्व हुन जरुरी रहन्छ त्यो कुरा सम्भव भएको छ । नेताहरु जिल्ला क्षेत्र र संगठनवाट चुनिने जनवादी बिधिको बिकास नयाँ भएको छ । मालेमाको प्रयोग र बिकास संगठनमा नयाँ रुपमा भएको छ ।
चुनौति र आक्रमण
प्रतिक्रियावादी शक्ति सकभर महाधिवेशन सफल नहोस वा क्रान्तिकारी शक्तिलाई बीचमै निमोठन पाइयोस भन्ने चाहान्थ्यो । जव महाधिबेशनको मिति घोषणा गरियो लगतै पक्राउ पुर्जीलगायत बिषय अगाडि ल्याएर घेरावन्दी गर्न खोजियो । तथापी पार्टीको सचेत पहलकदमीले प्रतिक्रियावादी घेरावन्दीलाई तोडदै महाधिवेशन सफल हुने स्थिति आयो । जव महाधिवेशनको उदघाटन भयो प्रतिक्रियावादीहरुले क्रान्तिभित्रका भगौडा अवसरवादीहरुलाई प्रयोग गरी आक्रमण गर्ने कोसिस गरे । प्रतिक्रियावादीको काखमा बसेर क्रान्तिकारी शक्ति र नेतृत्वमाथी हमला बोल्नेहरुको बारेमा लेखि रहन जरुरी थिएन । तर क्रान्ति बिरोधि चिच्याहट यति धेरै हुन खोज्यो कि जसको वारेमा हामी क्रान्तिकारीहरु मौन बसिरहदा झन बिजय भएको जसरी खुशी मनाउलान भन्ने खतरा देखियो । पार्टीको सम्पति खाएर भागेकाहरुको हिसावकिताव लेख लेखेर मात्र पुग्ने छैन नै । यस्तै विषयवस्तुमा आधारित भएर यस आलेखबाट मात्र यस्तो प्रबृतिको पर्दाफास गर्न पनि सम्भव छैन । जव क्रान्तिकारीहरुको बिजयको सुनिश्चिता क्षितिजमा देखिन्छ क्रान्तिभित्रवाट पैदा भएका गैरक्रान्तिकारी शक्ति प्रतिक्रियावादीहरुको पोल्टामा पुग्ने गर्दछन । आज कन्चन – शुर्दशन मण्डली प्रतिक्रियावादी शक्तिको काखीमा बसेर क्रान्तिकारी शक्तिमाथि भएभरको शक्ति प्रयोग गरेर हमला बोलीरहेको छ । जस्तो कि क्रान्तिकारीहरुको समाप्ती नै उनिहरुको जीवन हो । हाम्रो पार्टी र नेताहरुको मृत्युमा उहाँहरुको बिजयको सुनिश्चितता लेखिएको छ , उनीहरुको क्रान्ति र समाजवाद हाम्रो पार्टीलाई समाप्त गर्नु हो । आर्थिक अपचलन गरेर भागेकाहरुको यो चिच्याहट देख्दा क्रान्तिकारीहरुको मन खौलिएर आएको छ । पार्टीले अवचलन गरेको सम्पती बुझाउन सुझाउदा आफ्नो सम्पति रक्षाको निम्ति कभर बनाएर भागेका र क्रान्तिको कभरमा आफ्नो जिविकोपार्जन गर्न खोज्नेहरु बरु त्यही लिएर गएको सम्पती आनन्दले खाएर बसे पनि त्यति धेरै अस्वभाविक हुदैन्थयो होला । यदी हाम्रो सत्ता सन्चालन हुन्थ्यो भने जेलमा आजीवन कारावासको जिन्दगि जिउनेहरुको चिच्याहट देख्दा युवाहरुको रगत उम्लिएर आउछ । तर प्रतिक्रियावादी सत्तासंग लडनु छ, किरा फटयाङरासंग के गर्नु भनेर मात्र शान्त भएको भनेर बुझनु पर्दछ , कमजोर भएर हैन । नेपाली क्रान्ति र क्रान्तिकारीहरुको महाधिवेशनलाई नै प्रभाबित गर्न फुटवादी अवसरवादीहरुलाई प्रतिक्रियावादी सत्ताले असामान्यरुपमा प्रयोग गर्यो जो अस्वभाविक तर छर्लग देखिने खालको नौटङकी थियो । क्रान्तिलाई असफल पार्न साम्राज्यवादीहरुको पहलमा पार्टी फोरेका कन्चन – शुदर्शन मण्डली मरीमेटी सिङ्गै महाधिवेशन र नेतृत्वका बिरुद्ध लाग्नु त्यति अस्वभाविक नै त होइन तर जो हर्कत गरिरहेका छन , कुनै दिन त्यसको हिसावकिताव नेपाली क्रान्तिकारी पंक्तिले जरुर खोज्ने छ र उनिहरुले सावा – ब्याजसहितको हिसाव बुझाउने दिन आउने छ ।

अन्त्यमा : क्रान्ति एक जटिल तर अनिवार्य प्रक्रिया हो। सबै मान्छेहरु क्रान्तिको रथ हाँक्न सक्दैनन । क्रान्तिको जटील कार्यभार उठाउन महाधिवेशन तयार रहेको छ । एकिकृत जनक्रान्ति भनेको आजको बिश्व परिस्थिती र नेपाली समाजको मौलीक बिशेषताको उपज हो , यसमा भुमण्लीकृत पुंजीवादमा नेपाली बिशेषताहरुवाट सम्लेषण गरिएको कुरा छ । नयाँ सिद्धान्तको आविस्कार गर्ने कोसिस गरेको नवौ महाधिवेशन सारमा सफल र ऐतिहाँसिक रह्यो भने प्रतिक्रियावादी, फुटवादी अवसरवादी घेरावन्दीलाई चकनाचुर पार्दै क्रान्तिको बिजयको यात्रा तय गरेको छ र बिजय भएको छ । रुढिवाद , जडसुत्रवादवाट ग्रसित सोच र चिन्तनहरुलाई परास्त गर्दै मालेमाको सैद्धान्तिक आलोकहरुलाई पकडदै त्यसको बिकास हुन्छ भन्ने कुराको नविन सन्देस दिएको छ । समाजवाद निमार्ण कसरी हुन्छ र आजको दुनियामा कस्ता नितिहरु बनाउदा समाजवादको रक्षा र बिकास गर्न सकिन्छ भन्ने कुराको गहिरो समिक्षासहित सिद्धान्तमा केही नयाँ संश्लेषण गर्ने कोशिस गरेको छ । समाजवादको रक्षा निरन्तर क्रान्ति र निरन्तर रुपान्तरणवाट मात्र संभव छ, निरन्तर क्रान्तिको अर्थ खरावीहरुमाथिको संघर्ष हो भने रुपान्तरणको अर्थ बिकास हो । नयाँ तर ऐतिहासिक निर्णयहरु गर्दै महाधिवेशनले क्रान्तिको नयाँ ढोका खोल्ने बिश्वास दिलाएको छ भने बिचार राजनिति र संगठनमा देखिएका समस्याहरुको सामाधान दिने कोशिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 प्रतिक्रिया “नवौँ महाधिवेशन र केही नयाँ संश्लेषणहरु

  1. जे भयो अति राम्रो भयो । महाधिवेशनले तय गरेका उपलब्धिहरु अझै बिश्लेषणात्मक,ठोस र बुँदागत रुपमा आएको भए सुनमा सुगन्ध हुने थियो कि?

    1. धन्यवाद ! हजुरको सुझाव अनुशरण गर्ने नै छौ ।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।