१३ बैशाख २०८१, बिहीबार

दाङमा आसन्न निर्वाचन खारेजको अपिल गर्दै पर्चा वितरण

0
श्रवण कुमार यादव
दाङ घोराही, २४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी दाङले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव खारेजी अभियानलाई सशक्त ढंगले अगाडि बढाएको छ । पार्टी घोराही नगर कमिटीले आज बिहीबार घोराहीमा सो चुनाव खारेजको अपील गर्दै आम जनसमुदायहरुमा पर्चा वितरण गरेको हो ।
 
 
पार्टीले यो संसदीय व्यवस्था जनताको हितमा नभई पूँजीवादीहरुको कमाइ खाने भाडो भएकाले उक्त चुनावलाई पूर्ण रुपमा खारेज गर्नुपर्ने अपीलसहित अभियानको क्रममा घोराहीमा ब्यापक रुपमा पर्चा वितरण गरेको जनाएको छ । पार्टीले चुनाव खारेज अभियानको क्रममा जिल्लाभरका मुख्य शहर तथा गाउँगाउँमा भित्ते लेखन पनि गरेको नेकपा घोराही नगर कमिटीले जानकारी दिएको छ ।
 
नेकपा घोराहीले जनसमुदायहरुमा चुनाव खारेजीको अपीलसहतिको घरदैलो भेटघाटका क्रममा धेरैले अहिलेको संसदीय व्यवस्थाप्रति नै असहमति जनाउदै निर्वाचनमा भाग नलिने जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीको नेतृत्वमा पर्चा वितरण कार्यक्रम भएको थियो । 
 
यस्तो छ, नेपाल कम्युनिस्ट पार्टीको नवौ केन्द्रीय समितिद्वारा जारी अपीलको पूर्णपाठ :
 
 दलाल पूँजीवादी सत्ताको चुनाव खारेज गरौं । एकीकृत जनक्रान्तिमा अगाडि बढौं । आदरणीय जनसमुदाय यही मंसिर ४ गते हुने भनेको संघ र प्रदेशको चुनावलाई खारेज गरौं । किनकि आवश्यकता व्यक्ति चुन्ने नभएर व्यवस्था चुन्ने या बदल्नु पर्नेछ । व्यक्ति चुन्दाचुन्दा, व्यक्ति फेर्दा फेर्दा आजित हामी नागरिकहरुले बुझ्नै पर्छ कि व्यवस्था नै खराब र जनविरोधी भइसकेपछि नेता र व्यक्ति फेरेर कुनै अर्थ छैन । व्यक्ति फेरेर व्यवस्था फेरिदैन । व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु पर्ने र चुन्नु पर्ने राज्य सत्ता हो, व्यक्ति मात्र होइन ।
 
जनतामाथि जबरजस्त दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था लादियो । यो व्यवस्था भ हुँदैन, चल्दैन, यो जनताको होइन, सफल हुदैन, देश र जनताले दुःख पाउँछन् भन्दाभन्दै अमेरिका, भारत, युरोपीयन युनियनको आदेशमा नेपालका दलालहरुले थोपरे । जुन व्यवस्था फेर्नका लागि हजारौंको रगत बग्यो, हजारौ घाइते अपाङ्ग छन्, ४० जनाभन्दा बढी युवाहरु जेलमै सडाइएका छन् । सयौं-हजारौं झुट्टा मुद्दाहरु हजारौं नेता कार्यकर्ताका नाममा छदैछन् । आखिर हामीले भनेकै जस्तो भयो । यो दलाल पूँजीवादी सत्ता थोपरेदेखि न देशमा शान्ति छ, न जनताले कुनै सुखसुविधा पाएका छन्, न अध्ययन-लेखन, रोजगारी, खाने वस्ने वातावरण छ, न न्याय र सुशासन छ । जताततै वेथिति, अराजकता, लुटपाट, भ्रष्टाचार, दलाली, तस्करी छाएको छ । हुँदाहुँदा हाम्रो पार्टीसँग सहमति गरेको ३ बुदे सहमति पनि लागु नगरेर उल्लङ्घन गरिरहेको छ । अमेरिकी साम्राज्यवादले एमसीसी पास गराएर नेपाललाई नवउपनिवेशमा पुर्याएकोछ । उसको दवदवा छ, यहाँका संसद्वादी दलालहरु उनीहरूको पाउँमा पुजा गरिरहेका छन् । जनतामा असन्तुष्टि, वचैनी, आक्रोस र विद्रोह चलिरहेको छ । केवल ५ प्रतिशत शोषक, दलाल र लुटेराहरूले मात्र यो व्यवस्थामा मोजमस्ती उडाइरहेका छन् र उत्सव मनाइरहेका छन् ।
 
यो व्यवस्था नै जनताको नभएर लुटेरा, भ्रष्ट, दलालहरूको भएपछि चुनावमा जसलाई चुने पनि भ्रष्ट, लुटेरा, दलाल मध्ये नै पर्ने हो । कदाचित कोही इमान्दार परेछ भने पनि ऊ हार्न विवस छ या जिते पनि दलालहरुको साछी बस्न बाध्य छ र हुनेछ । यसर्थ हामीले जोलाई भोट हाले पनि यो पाँच बर्ष लुट्ने जिम्मा कसलाई दिने भनेर सहमति दिनु मात्रै हो । त्यसो हो भने कुनै एक लुटेरालाई लुट्ने अधिकार आफ्नै हातले किन दिने ? नदिउँ ।
 
हामीले हाकाहाकी भन्न हिचकिचाउनु पर्ने छैनकि देश वेहाल, कंगाल, नवऔपनिवेश बनाउने दलाल पूँजीवादी सत्ताको जरोकिलो नउखेलेसम्म र यसको स्थानमा श्रमिक जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देशले स्वाधीनता, स्वतन्त्रता, मुक्ति र शान्ति पाउने छैन । त्यसैले चुनावमा भोट दिएर होइन खारेज गरेर नयाँ निकासको आवश्यकताको सन्देश दिन जरुरी छ ।
 
हामी जनतालाई अर्को तथ्य पनि बताउन चाहन्छौ कि राज्यसत्ता र व्यवस्था चुनावबाट मात्र बदल्न संभव छैन । किनकि चुनावमा जनताको मत होइन पैसा, पूँजी, बन्दूक, षडयन्त्र, विदेशी मालिकहरु प्रयोग हुन्छन् । यदि जनताको राज्यसत्ता स्थापना गर्ने हो भने क्रान्ति अर्थात एकीकृत जनक्रान्ति आवश्यक छ । पुरानो सत्ता जबरजस्त लाद्ने बलका विरुद्ध जनताको बल, जनतालाई दवाउने प्रतिक्रान्तिका विरुद्ध क्रान्ति, दलाल र साम्राज्यवादीहरूको एकता विरुद्ध सारा प्रगतिशील, देशभक्त, कम्युनिष्ट शक्तिहरुको एकता आवश्यक छ । त्यसका लागि चुनावमा होइन एकीकृत जनक्रान्तिमा लामबद्ध हुन तयार बनौ । श्रमिक जनताले बुझ्दै गएको र बुझ्नै पर्छ वैज्ञानिक समाजवाद मात्र जनताको व्यवस्था हो । दशकौ देखिको जनचाहना पनि वैज्ञानिक समाजवाद नै हो । आज हरेक श्रमिक जनतालाई सोध्नुस् वैज्ञानिक समाजवाद हेर्ने र अनुभव गर्ने उच्च लालसा छ । हामी सवै त्यसैका लागि अगाडि बढौं । चुनावको भ्रममा नपरौं ।
 
आदरणीय आमा बुवा, दाजुभाइ दिदीबैनी,
अन्तमा हामी तपाईहरु जो इतिहासको निर्माण गर्ने शक्ति हो, पुरानोलाई भत्काउने र नयाँको सृजना गर्ने तागत तपाईंहरुलाई विनम्र अनुरोध गर्दछौं कि एकचोटी हाम्रा स्वाभिमानी, निडर, साहसी, श्रमशील, आत्मनिर्भर पूर्वजहरुलाई संझेर, सारा श्रमिक जनताका चाहना र नयाँ पुस्ताको भविष्यलाई हेरेर विदेशीहरूको इसारामा लादिएको, उनीहरूकै सेवामा चल्ने, लाचार दलालहरूको सत्ता संसदीय व्यवस्थालाई फाल्नतिर अगाडि बढौं कुनै लोभ, लालच, डर त्रासमा नपरेर दलाल पूँजीवादको गर्भमा हुर्किदै गरेको र जुनसुकै वेला विस्फोट हुनसक्ने एकीकृत जनक्रान्तिको संभावनालाई पकड्न तयार बन्दै जाउँ । पहिले व्यवस्था फेर्नेतिर लागौ अनि चुनौला व्यक्ति, निर्वाचित गरौला असल व्यवस्थाका असल पात्र र नेताहरु । धन्यवाद !
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।