११ बैशाख २०८१, मंगलवार

संसदीय चुनाव विरुद्ध ललितपुरका ४ ठाउँमा कोणसभा

0

ललितपुर: मङ्सिर ४ गते हुन लागेको संसदिय चुनाव आम मतदाता र जनताको अपेक्षा पूरा गर्ने भन्दा पनि एमसीसी पास गर्नेहरुको स्वार्थ पूर्ति गर्ने र संकटग्रस्त सत्ताको आयु लम्ब्याउन प्राण भर्ने उद्देश्यले हुन लागेको भन्दै चुनाव खारेज/ बहिष्कारको पक्षमा रहेका तीन कम्युनिस्ट पार्टीले ललितपुर जिल्लाका विभिन्न ठाउँ गरी ४ ओटा कोणसभा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपा सम्मीलित तीन कम्युनिस्ट पार्टीहरुले चुनाव खारेजको औचित्यबारे प्रष्ट पर्ने उदेश्यले कोणसभा गरेका हुन् ।

विद्यमान संसदिय व्यवस्थाले देशमा शान्ति, स्थायित्व र समृद्धि दिन नसकिरहेको बेला यो व्यवस्थाको भण्डाफोर गर्न र वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा जनमत सिर्जना गर्न भन्दै ललितपुर स्थित तीन दलद्वारा गरिएका कोणसभा कार्यक्रम अन्तर्गत कार्तिक २७ गते लगनखेल,२८ गते लुभु २९ गते चापागाउँ र ३० गते बुङ्मतीमा कोणसभा गरिएको ललितपुर स्थित नेकपा सम्बद्ध एक नेताले जानकारी दिएका छन् ।

लगनखेलमा भएको सभालाई नेवा राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष रत्न महर्जन, वैज्ञानिक समाजवादीका टिका घिमिरे र नेकपा नेता लोकेन्द्रले सम्बोधन गरेका थिए भने अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य निगम भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
त्यस्तै लुभुमा सम्पन्न कार्यक्रमलाई रत्न महर्जनले सम्बोधन गरेका थिए भने मोहन शिवाकोटीले सञ्चालन गरेका थिए । यस्तै गरि चापागाउँ र बुङ्मतीमा भएका कार्यक्रमलाई रत्न महर्जन, महेश बज्राचार्य र निगम भन्डारीले सम्बोधन गरेका छन् ।

अहिलेको चुनावले नेपालको आर्थिक समस्या, रोजगारीको समस्या, महङ्गीको समस्या र वैदेशिक हस्ताक्षेपको समस्या हल नगर्ने बरु समस्या थपिने र बाह्य हस्ताक्षप बढाउन गठबन्धन दलहरु मतियार हुने भन्दै कार्यक्रमका वक्ताहरुले चुनावमा मतदान नगर्न अपिल गरेका छन् । तीन दलद्वारा आयोजित विरोध कार्यक्रमका क्रममा ललितपुरका विभिन्न ठाउमा पर्चा बितरण र घरदैलो कार्यक्रम समेत गरिएको हाम्रा सम्बादातालाई जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।