१५ चैत्र २०८०, बिहीबार

विरोध-प्रतिरोध र निराशाका बिच मतदान हुँदै

0

काठमाडौँ: सामान्यतया संसदिय लोकतन्त्रमा हरेक पाँच पाँच वर्षमा चुनाव हुनुलाई यो प्रणालीका पक्षधरहरु लोकतन्त्र भन्छन् । मतदाताहरुले भोट खसल्छन् र तिनै मतदाताहरुबाट निर्वाचितहरुले उनीहरुमाथि शासन गर्छन् । निर्वाचित भएर गैसकेपछि मतदाताहरुले गरेको अपेक्षा र दिएको म्याण्डेट जे सुकै भएपनि वा निर्वाचित प्रतिनिधिले जनमतको जतिसुकै बर्खिलापमा काम गरे पनि उसलाई हटाउन वा पुनर्विचार गर्न पाइदैन ।यसप्रकारको मान्यतामा आधारित व्यवस्था अन्तर्गत आज देशभरी चुनाव हुँदैछ । चुनावको पूर्व सन्ध्यामा देशका विभिन्न मतदान केन्द्रहरुमा बम बिस्फोट भएका समाचारहरु सार्वजनिक भैरहेका छन् । केहि ठाँउमा उम्मेदवारहरुका घरमा बहिष्कारको ब्यानर टाङ्नेदेखि एमसिसि पक्षधर उम्मेदवारहरुका गाडि माथी तोडफोड र आगजनी भएका समाचार आएका छन् ।
नुवाकोटमा रहेको एमसिएको कार्यालय माथी तोडफोड भएको भिडियो सार्वजनिक भएको छ ।
चितवनको एक मतदान केन्द्रमा मतपेटिका समेत स्थानीयले खोसेर लिएको बुझिएको छ । रौतहटमा मतदान केन्द्रभित्र गोलि चलेको र केहि समय मतदान प्रक्रिया स्थगित भएको बुझिएको छ ।
देशका कैलाली, बझाङ, कालिकोट, नुवाकोट, मकवानपुर, ललितपुर, काठमाडौँ, उदयपुर लगाएतका जिल्लाहरुमा मतदान स्थल नजिकै बम विस्फोट र शङ्कास्पद वस्तुहरु फेला पारेको बताइएको छ ।
एकातिर पुरानै पार्टी, नेता र नसुधि्रएको पुरानै प्रवृति बिच चुनाव हुँदैछ भने अर्कोतिर जनताले दलिय शासनको लामो कालखण्डमा बेहोरेको सकस समेत भुलेका छैनन् । भोट कसलाई दिने भन्ने कुरामा न कुनै उत्साह छ न त नयाँपन नै छ।
चुनाव जस्तो मुलुकको महत्त्वपूर्ण निर्णय प्रक्रियामा जनताको व्यापक र उत्साहजनक सहभागिता हुनुपर्नेमा लाखौँ प्रदेशिएका मतदाताहरु यसपालीको चुनावमा भोट खसाल्न आएका छैनन् । चुनावको अघिल्लो दिनमा समेत हजारौं युवाहरु अन्तरास्ट्रिय बिमानस्थलमा लाम लागिरहेका थिए । त्यस मध्यका कतिपयले त यो भन्दा अगाडि पनि बारम्बार मतदान तिनै पार्टी र व्यक्तिलाई गरेको तर उनीहरुले नै देशलाई यसरी बर्बाद पारे भन्दै चुनाव र राज्यप्रति निराशा व्यक्त गरेको पाइयो ।
देशमा गरिबी, अभाव, महङ्गी, बेरोजगारी, वैदेशिक ऋणभार र अनेक जनजीवनका समस्याहरु यथावत छन् । ठिक यहि बेला अमेरिकि स्वार्थमा नेपालले एमसिसि पास गरेर मुलुकको भविस्य डरलाग्दो दिशातिर फर्काइ दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, क्रान्तिकारी माओवादी लगाएत कैयौं पार्टी र अभियन्ताहरु यो चुनावको औचित्य छैन भन्दै बहिष्कारमा छन् । बहिष्कारका लागि देशका विभिन्न स्थानमा प्रचारप्रसार भएको छ ।
नेपालले एमसिसि पारित गरिसके पछि चीन विरुद्ध गतिविधि गर्न अमेरिकाले नेपालमा घुडा धसेर लाग्न खोजि रहेको छ । एमसिसि अनुसार गतिविधि गर्न उसलाइ नेपालमा भरपर्दो राजनीतिक वातावरण र सहकार्य गर्न स्थिर दलिय जनाधार आवश्यक परेको छ ।त्यसप्रकारको आवश्यकता पूरा गर्नका लागि नै दुई विपरीत ध्रुवमा रहेका पार्टी र नेताहरुलाई एउटै गठबन्धनमा तानिएको एकथरी विश्लेषकहरुको अनुमान छ । स्वयम् प्रचण्ड र देउवाले आफ्नो गठबन्धन आगामी १५ देखि २० बर्षसम्म जाने भनेर ठोकुवा गर्नुको मुख्य आधार नै एमसिसि हो भन्न सकिन्छ ।
चुनावमा यति नै भोट खस्नु पर्छ भन्ने सर्वस्विकार्य मापदण्ड नभए पनि जति बढि मतदाता, त्यति नै जनताको उत्साह भएको मान्ने हो भने पनि गएको चुनाव भन्दा निकै कम नागरिकले मतदान गने अनुमान स्वत: गर्न सकिन्छ । यसरी अहिलेको राजनीति र प्रणालीले पैदा गरेका निराशा र समस्याको विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्ने प्रवृति पनि बढ्दै गएको देखिन्छ । यो भनेको पनि विद्यमान पार्टी राजनीति र प्रणालीको उपयोगीता असान्दर्भिक भएको अर्थ लाग्ने विषय हो । यसरी हेर्दा अहिलेको चुनाव विरुद्ध रहेका शक्तिहरुको प्रयास र जनताको सचेतता पुर्वक निर्णयको आधारमा ३ देखि ५ प्रतिशत मतदाताहरुले मात्रै भोट नहाल्ने हो भने पनि अहिलेको सत्ता राजनीतिको कोल्टो फेराईका लागि पर्याप्त ताकत सञ्चित भएको मान्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।