
कास्की: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कास्कीले विभिन्न क्रियाकलाप गर्दै नवौँ पार्टी पुनर्गठन दिवस मनाएको छ । एकीकृत जनक्रान्तिमार्फत दलाल पुजिवादी उत्पादन सम्बन्धको अन्त्य गर्न र नेपालको अबको राजनीतिक आर्थिक व्यवस्था वैज्ञानिक समाजवाद हुनु पर्ने निष्कर्ष निकाल्दै नौँ वर्ष अघि किरण नेतृत्वमा रहेको तत्कालीन नेकपा माओवादीबाट अलग भएको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाइएको हो ।
बिहिबार पोखरा उपमहानगरपालिका वडा नम्बर १७ स्थित पिपलडाली सामाजिक भवनमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका कोषाध्यक्ष उमेश सी ले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै भने,’अहिलेसम्म हामी पछि पर्नुका अनेक कारण मध्य हामी कमजोर, निर्बल र असक्षम छौँ भनेर भ्रम पाल्यौँ तर हामी अब दलित होइन श्रमिक हौँ, यो समाजलाई आवश्यक पर्ने हरेक वस्तु र सेवाहरुका रचनाकार हौँ, हामीसङ्ग अथाह शक्ति र सृजना छ’ भन्दै एक आपसमा पार्टी पुनर्गठनको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।
एक मिनेटको मौनधारणसहित प्रारम्भ भएको कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपाल गण्डक संयोजक कुमार, नेकपा लेखनाथ सेक्रेटरी कर्ण सी र पत्रकार निरुता विश्वकर्माको समेत उपस्थित रहेको थियो भने कानुन संकायबाट सुमित विश्वकर्माले समेत हालै सम्पन्न निर्वाचनको क्रममा लिएको खारेजको नीति सहि रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।
यो पुनर्गठन दिवस पार्टीको मात्रै दिवस होइन, हामी सबै परिवर्तन प्रेमी जनताको दिवस हो भन्दै नेकपा पोखरा उपमहानगर सेक्रेटरी सोममाया सी ले अध्यक्षता गरेको शुभकामना कार्यक्रमलाई सुकुम्बासी तथा भुमिहिन संघ पोखराका संयोजक कमल सी ले सञ्चालन गरेका थिए।